युगको परिवर्तनसंगै मान्छेका आविष्कार र खोजहरु
आज साक्षात्कार भएका संभावनाहरु
कल्पना गरौँ त्यो आदिम युगको
भोग्य थिएन आजका सम्भाव्य आविष्कार र खोजहरु
वा यसो पनि भन्न सकिन्छ
खोजको यो यात्रामा
थपिएका मानव निर्मित जटिलताहरु त्रसित र भयङ्कर बनिरहेछ छ
तेरो–मेरो, सहअस्तित्व र बराबरीको नाममा
वाद, शिद्धान्त र आविस्कार भन्दै मान्छे–मान्छे माथि थोपरिएको छ
जानेको छु, परिवर्तनशील जगत र नासवान जिन्दगीको शास्वत सत्य
तर मेरो आँखा सामुन्ने देखिएका र भेटिएका मान्छेहरुको भिडमा
तिनै आविष्कारको कोलाहलले एक्लो एक्लो बन्दैछ मान्छे ।
अनायस, एउटा क्षण
मेरो नजरले नियाल्छ साँझको चन्द्रमा सुटुक्क
कल्पन्छु, एउटा चेतना सुटुक्क मेरो मनभित्र पस्छ
हो, यो धर्तीमा म एक्लो एक्लो थिएँ
मसंग, मेरो भन्ने, मात्र मेरो शरीर थियो
गिजोल्ने र खेल्ने अर्को शरीर पनि थियो
तर आकाश नियालेको त्यो क्षण देखि
म प्रेमिल बनेको छु, मेरो भन्ने शरीर भित्रकै मन र मस्तिष्कमा
अर्थात् उडेको छु गगनको त्यो स्वर्णिम चेतनामा ।
यसोत
प्रेमिल हृदयको स्वागतद्वार हुँदै मस्तिष्कले माथि माथि उदाउँदा
लाग्छ भाव गंगाको त्यो खुल्ला
आकासमा असंख्य मान्छेले एउटै सपना देख्छ
र कल्पिन्छ फेरी, एउटा प्रेमी
ज्ञान र ज्ञांत विना पनि स्वर्णिम प्रेमसागरमा
हो म पनि कल्पिन्छु दृष्टि थरिथरिका, आकृति थरिथरिका
स्वप्नलोकको त्यो यात्रामा माथि माथि उडिरहन्थे म
सायद त्यो म र मेरो जस्तै मन हुनेहरुको अन्तिम विकल्पको वास हो
जहाँ सारा प्राणि सहित मान्छे र प्रेमको सप्तरंगी जिन्दगीको स्वर्णिम आसन छ ।
अनुभूति न हो कतिबेला आकासगंगा पुगेछु
हेक्का छ, मेरो पैतालो मात्र सुस्त हिंडेको हो तर म उडेउडे जस्तो
भाषा नबुझेर के भयो र
तिनीहरुको बोलीमा सम्मोहन छ र स्वीकारिएको सहअस्तित्व छ
सुनिरहूँ जस्तो लाग्ने
कर्णप्रिय संगीत जस्तो माधुर्यता
झस्कन्छु, मौन छु र मेरो अनुभूतिले मोहित छु
स्वच्छ हावाको बेगमा दौडिरहेका पुतलीहरु इन्द्रधनुष जस्तै
स्वतन्त्र छ मान्छे तर सौम्य र शान्त जहाँ आवाजले बोल्नै नपर्ने
भाव गंगाको त्यो तरेली
सम्भोग त त्यहाँ पनि थियो
तर केहि फरक
मधुमास त स्वर्णिम समाधी जस्तो
आनन्द मात्र अति आनन्द
आतुरताको कुनै संकेत छैन ।
झल्याँस्स ब्युँझिएं, आँखा खुल्यो
सामुन्ने उही धर्ति, उस्तै कोलाहल र मान्छेको कलह
तर यसपटक मेरो दृढ मनले भन्यो
हो त्यो दिन आउनेछ, त्यो क्षण आउनेछ
सारा प्राणि र जगतले आकास गंगाको त्यो गाउँमा
एउटा साझा गीत गुन गुनाउने छ
देवलाई साक्षी राखेर मात्र एउटा गीत गाउनेछ,
बाँचौ प्रेमिल जिन्दगी सप्तरंगी इन्द्रधनुषमा ।