कथा: चार्ली द ग्रेट


एकाएक मोबाईलमा रिङगटोन बजेपछी मोटरवेबाट चार्लीले गाडी साईड रोड तिर मोड्यो र तिस मिनेटको फ्री पार्किङगमा लगेर पार्क गर्यो। गाडी रोक्ने बेलासम्म मोबाईलको रिङग सकिईसकेको थियो त्यसैले आफैले अघी फोन आएको नंवरमा फोन गर्यो । उताबाट बोलेको मैले राम्रोसंग बुझिन तर यताबाट बोलेको बेला बेलामा – “यु सुड नट डु लाईक दिस” भनेको सुनिन्थ्यो।

करीब १० मिनेट कुरागरेपछी चार्लीले फोन राख्यो र केही नबोली गाडी स्टार्ट गर्यो र फेरी मोटरवे तर्फ नै गाडी मोड्यो। फोनमा कुरासकेपछी उ केही उदास देखीन्थ्यो। म उसकै साईडको सिटमा बसेर उसले केही भन्छ कि भनेर उसको अनुहारमा हेरे। तर उ चुपचाप गाडी हॉंक्न मै तल्लिन रह्यो। सानो र महत्वहिन कुरामा पनि घंन्टौ बोलेर दिक्क पार्ने चार्ली यतिबेला नबोलेको देखेर मलाई नै अप्ठेरो लाग्यो र आफै सोंधें- “के भो चार्ली तं त निकै उदास छस त।”

उसले एकचोटी म तर्फ हेर्यो अनि रेडीयोको भोल्युम थोरै कम गर्दै भन्यो- “हेर न कृष्ण, मेरो श्रीमती क्या स्टुपिड छ भने दुई महिना अघी बाह्रहजार डलरमा किनेको गाडी अहिले ग्यारेजमा लगेर चारहजारमा बेचिदिईछ।टेन्सन भईराछ।”

उसको कुरा सुनेपछी मलाई अनुमान लगाउन गाह्रो भएन की अघी उसको श्रीमतीको फोन रहेछ। भन्न नचाहेको जसरी उ बोलीरहेको थियो। उसले भनेजस्तै निकै चिन्तित पनि देखिन्थ्यो।

चार्ली अर्थात मेरो म्यानेजर। म उसको सहायक। उ एकदमै बोलक्कड छ। घरमा भएका साना तिना महत्वहिन कुरा पनि उ निकै उत्साहित हुंदै हामीलाई सुनाउंछ।तर आजको कुरा भने भिन्न छ। उसको कुराको गोदाम नै खाली भएजस्तो बोल्नै खोजीरहेको छैन।

“यो त अनबिलिभेवल भयो नी ? गराजले पनि कति सस्तोमा गाडी लिएको त ?” मैले भनें।

“हैन गराजले त जस्ट अफर मात्र गरेको नि। मेरो श्रीमतीले ओके भनेर गाडी छोडेर पैसा लिएर हिडीछ।”

“अनि त्यस्तो पनि गर्नुहुन्छ त ? अनि त्यसो गर्नु अघी तंलाई सोधिन त एक बचन ?” म झन आश्चर्यमा पर्दै गएँ।

“अहं सोंधिन कहॉं सोध्नु ? भर्खर त मलाई फोन गरेर भनेकी।”

चार्लीले लामो सास तान्यो र भन्यो “के भन्थी भने- काममा निस्कने बेला बाटोमा गाडी बिग्रेछ। रिकभरीलाई बोलाएको उसले पनि बनाउन सकेनछ र  गराज सम्म पुऱ्याईदिएछ। गराजमा बनाउने मिस्त्रीले बनाउन मात्र पॉंचहजार डलर लाग्छ नत्र बिक्री गर्ने भए चारहजार दिन्छु भनेछ। पॉंचहजार तिरेर बनाउनु भन्दा त बरु अर्को गाडी किन्छु भनेर चारहजार मै गाडी बेचिदिईछ। कस्तो बदमास छ भने मेरी बुढी, फेरी अर्को गाडी किन्नका लागी भोली मैले छुट्टी लिनु भनेकी छ। अब भन्ने बित्तिकै कसरी भोली छुट्टी लिन सकिन्छ र ?”

यति भनेर उ फेरी चुप लाग्यो। सधै बोलेर र चाहिने नचाहिने कुरा सोधेर हैरान पार्ने र आफैले कुनै बहाना बनाएर छुटकारा पाउनुपर्ने चार्ली आज भने मैले अघी भने जस्तै एकदम शान्त थियो। धन्न त्यति सम्म कुरा गर्यो जस्तो लाग्यो। त्यही भएर पनि आज भने म आफैले उसलाई सोधिरहनु पर्ने भयो। चार्लिको बेथा मैले बुझिहालें, उसको श्रीमतीको यस्ता ब्यवहार उसले पहिले पनि अफिसमा धेरथोर सुनाउने गरेकै हो। हामीले हॉंसेर उडाईदिन्थ्यौं। तर आजको घटना भने सुन्दा पनि पिडा हुने खालको थियो। उसलाई सान्त्वना दिने शब्दहरु खोज्न थालें। अनि भनें- “तर यस्तो निर्णय गर्नु अघी  त तंलाई सोध्नु पर्ने हैन र ?”

मैले सोधेपछी मात्र चार्ली बोल्न थाल्यो-“तेही त कमसेकम मलाई भनेको भए मैले गराजसंग केही बार्गेनिङ्ग गर्थे। त्यो फेरी मेरै साथीको गराज रैछ। तर के गर्ने अब त निकै ढिलो भैसक्यो”

यति भनेर चार्लीले गाडीको लेन चेन्ज गरेर राईट लेनमा ल्यायो। गाडी अब पहिला भन्दा छिटो कुद्न थाल्यो। हावा र गाडीको आवाजले हाम्रो आवाजलाई किच्न थाल्यो। एकै छिनमा हामी गन्तब्यमा आईपुग्यौ। त्यसपछी यो बारेमा थप कुरा हुन पाएन।

भोलीपल्ट चार्ली अलिक ढिलो आफिस आयो। किन ढिलो आयो भन्ने कुरा मलाई बाहेक अरुलाई थाहा थिएन। उ आफैले दुईकप चिया बनाएर मेरो टेवलमा राख्यो र भन्यो- ” पिई त, तैले मनपराउने खालको बनाको छु मैले”

उसको कुराको ख्याल नगरी सोधें- “अनि किनिदिईस त गाडी बुढीलाई ?

“गाडी किनिदिएं नि के गर्नु ? तर त्यस बापत बुढीले एउटा सरप्राईज गिफ्ट पनि दिने भई नी” हिजो भन्दा अलिक बढी खुसी थियो चार्ली आज।

“के ? ”

“हामी अब क्रिसमसको होलिडेमा ईजिप्ट जाने ७ दिनका लागी।”

“ए राम्रो कुरा हो। तर तिमेरु ले कसरी छान्यौ त त्यो ठाउं।”

“हैन मेरो बुडीको साथीहरु त्यहॉं गएका रैछन तेसैले उनिहरुले नै रिकमन्ड गरेको हुनाले मेरो बुडीले हिजै सॉंझ अनलाईनमा ट्राभल प्याकेज बुक गरी”

चार्लीको कुरा सुन्दा यस्तो लाग्थ्यो उ त्यस परिवारको स्वास्नीमान्छे हो र उसकी श्रीमती लोग्ने मान्छे। घर किन्ने होस वा गाडी या होलिडे या जुनसुकै कुरा उसकी श्रीमती मात्र निर्णय गर्थी। उसलाई एकबचन पनि सोध्थिन। मात्र चार्लीले उसको कुरामा लाहाछाप मात्र लगाउँथ्यो।

क्रिसमसको छुट्टीको बेला पुर्व योजना मुताविक होलीडे मनाउन चार्लीको परिवार एकहप्ताका लागी ईजिप्ट गए। ईजिप्टबाट फर्किंदा चार्लीले केही चकलेट ल्याएको रहेछ। हामी स्टाफहरुलाई दियो। त्यस दिन उसले ईजिप्टमा घुमेका कुराहरुलाई निकै बेर लगाएर सुनायो। अफिसमा खास काम केही गर्न पनि पाईएन।

त्यसको भोलीपल्ट चार्ली अफिस आउदा प्रशन्न थियो। बोलक्कड चार्लीले मैले केही भन्नु अघी नै भन्यो- “म आज खुसी देखीन्छु हैन ?”

“हो, के बुढी संग झगडा पर्यो कि के हो ?” मैले मजाक गर्दै भनें । चार्ली ले मेरो कुरा सुन्दै सुनेन। अाफ्नै सुरले बोल्दै गयो-“हामी अर्को बर्ष पनि ईजिप्ट नै जाने भयौं नी।सेम प्लेस बट ईन चिपर प्राईस”

“किन फेरी ईजिप्ट नै ?” मैले भने “अर्को कुनै छानेको भएहुन्थ्यो नी। त्यहॉं त एकपटक गईहाल्यौ त”

“हैन मेरो बुढीले त्यहॉं निकै मन पराई, छोरीहरुले पनि निकै ईन्जोए गरे। त्यसैले। मेरो बुढीले हिजै अनलाईन बाट अर्को बर्षको लागी पनि प्याकेज बुक गरीसकी”

चार्लीको कुरा सुनेर मलाई दिक्दार लाग्यो। चार्ली आफु पनि ह्ययान्सम छ। जागीर पनि राम्रो छ। अफिसमा १५ जना स्टाफ र कामलाई पनि राम्रो संग म्यानेज गरेको छ तर पनि यस्ती सन्काहा र दुख दिने श्रीमतीलाई थपक्क नछोडेर किन किन एक्लै बस्दैन ? या अर्को बिहे गर्दैन ? फेरी उनिहरुको संस्कारमा एउटी छोडेर अर्की संग बस्नु कुनै नौलो कुरा पनि हैन।’

यस्ता कुरा बारम्बार मेरो मनमा आउथे। हाम्रो अफिसमा अरु पनि गोरा स्टाफ थिए। उनिहरु पनि कसै न कसैसंग रिलेसनमा थिए। करीब चार बर्षको कामको दौरानमा धेरै जसो स्टाफहरुले श्रीमती या गर्लफ्रेन्ड छोडीसकेका र  कतिले त नयॉं पनि बनाईसकेका थिए। तर चार्ली भने अपवाद थियो।

चार्ली दिउँसोको खाना बजारमा गएर किनेर ल्याउँथ्यो। तर म भने सधै घरबाट प्याक लन्च लिएर जॉंन्थे। कहिले कॉंही उसलाई पनि चखॉंउंथे। उ निकै मिठो मानेर खान्थ्यो। मैले यो सबै श्रीमतीले बनाएको भनेको सुन्दा उ छक्क पर्थ्यो। भन्थ्यो “अहो तिमीहरुको संस्कार त कति राम्रो मेरो बुढी पनि तिमेरुको जस्तो भए त घरमा पकाएको मिठो मिठो खान पाउँथे नी।

चार्ली कहिलेकॉंही बिहान अफिसमा आउंदा उसको घॉंटी या गालामा कोतरेको आलो खतहरु पनि हुन्थ्यो। हामी हरु आपसमा खासखुस गर्थ्यौ। साथीहरु भन्थे-“यो चार्ली हुतुहीरा छ। यस्तो पागल स्वास्नीलाई नछोडेर किन संगै बसेको होला। उ घॉंटामा हेर न पक्कै पनि हिजो उसलाई श्रीमतीले कुट्को हुनु पर्छ।”

हामीले त्यस्तो अनुमान गर्छौ भन्ने पहिल्यै थाहा पाएर होला होला चार्ली हामीले सोध्नु अघी नै लजाउँदै  भन्थ्यो- “छोरीले आज बिहान रिसाएर कोपरेकी।”तर हामीलाई उसको कुरामा रत्तीभर विश्वास हुन्थेन।

एकदिन चार्ली र म फेरी त्यसरी नै कामको सिलसिलामा गाडीमा बाहिर निस्कियौं उ र म काम संगै आफ्ना पारीवारीक कुराहरु पनि गर्थ्यौं। त्यस दिन भने मैले चार्लीलाई उसको श्रीमतीको ब्यवहार बारे सोध्ने बिचार गरें। उ पनि एकोहोरो श्रीमतीकै  बारेमा बोलीरहेको थियो। भन्दै थियो- “हिजो मेरी बुढीले उसको जागीर बाट रिजाईन गरी नी।”

“हो र ? अन्त पाईहोला नी ”

“हैन पाएकी त छैन। तर अब नयॉं ठाउँमा एप्लाई गर्दैछ। अली टाढा थियो तेसैले छोडेकी हो। अब घर नजिकै खोज्दैछ। केही दिनमा पाउछे होला।”

मैले सोधें-“जागीर छोड्नु अघि तिमेरुको सल्लाह त पक्कै भएन होला।”

उ मुसुक्क हॉंस्यो र भन्यो – “तैले कसरी ठ्याक्कै मिलाईस त ? मलाई त हिजो बेलुका घर गएपछी मात्र थाहा भयो।”

मैले यहि मौकामा उसको श्रीमतीबारे सोधे- “चार्ली तँ आफ्नो वाईफ संग खुसी छस ?”

मेरो अप्रत्यासीत प्रश्नले ले उ अलिकती झस्कियो। तर तुरुन्तै भन्यो- “छैन”

“त्यसो भए तँ आफु यस्तो क्यापेवल छस। किन जावो श्रीमतीले जे भन्यो त्यही मान्छस ? खुरुक्क डिभोर्स दे र अर्की बिहे गर। के तेरो बुढी मान्दीन र?”

उसले पहिले गाडीको लेन चेन्ज गर्यो अनि फेरी गेयर पनि चेन्ज गर्यो। गाडी अलि स्लो भयो। अनि भन्यो- “थाहा छैन किन हो कुन्नी मेरो बुढी मलाई फिटीक्कै मन पराउदिन। तँ धेरै बोलक्कड छस। बोलेर धेरै कुरा बिगार्छेस र जस्ले  मलाई सधैं असर गरेको छ भन्दै उसले म संग डिभोर्स मागेको पनि निकै भईसक्यो। तर मैले नै दिन मानेको छैन।”

“किन ?”

“यसको लामो कहानी छ। म तँलाई भन्छु।अहिले सुन्छस ?”

“सुन्छु” सायद पहिलो पटक म उसको लामो कुरा सुन्न तयार भएको थिएँ। नत्र अरुबेला त उसले कुरा निकाल्ने बित्तिकै म अनेक बहाना बनाएर पन्छिहाल्थें।

चार्लिले गाडी मोटरवे बाट स्लिप रोड हुंदै साईड रोडमा ल्यायो। उसको कुरा सुन्न म तयार भएपछी केही क्षणलाई हाम्रो गन्तब्य पनि परिवर्तन भयो। अनि उसले गाडी पार्किङ्ग गरेर पानी पियो र बोल्न शुरु गर्यो।

“हेर कृष्ण, मेरो बाल्यकाल निकै पिडादायी थियो। मेरो बाबा आमाको निकै झगडा हुन्थ्यो। जव म चार बर्षको थिएँ। मेरो आमाले बाबालाई डिभोर्स दिईन। तेतिबेला आमाको अर्कै मान्छे संग अफेयर थियो। आमाले तुरुन्तै उ संग बिहे गरिन।

प्रचलित कानुन अनुसार मेरो उमेरका कारण म आमा संगै बस्नुपर्ने थियो। मलाई मेरो नयॉं बाबाले माया गर्थेन। मेरो नयॉं बा ले मलाई ठुलो र मैले गर्नै नसक्ने काम पनि लगाँउथ्यो। स्कुल पनि राम्रो संग पठाउंथेन। घरको सबै काम लगाउँथ्यो। म रुंदै काम गर्थें। मैले कहिलेकॉंही कम्प्लेन गर्दा आमालाई भनिस भने मारीदिन्छु भन्थ्यो। तेसैले म आमालाई पनि भन्न सक्थिन। आमा बाहिर बाहिर निकै हिड्थिन। नयॉं बा ले मलाई बारम्बार पिटीरहन्थे। खान पनि राम्रो संग दिदैनथे। कतिपटक घरको काम राम्रो संग नगरेको भनेर कोठामा थुनिदिएका थिए। मैले कति दिन भोकभोकै रात गुजारेको छु।

म १० बर्षको हुंदा आमाले पनि छोडेर हिंडीन। मलाई आमा कहॉं गईन थाहा पनि भएन। मेरो आफ्नो बाबाको बारेमा त मलाई झन थाहा नै छैन। कहॉं छन के गर्दैछन। सोध्ने कुरा पनि भएन कसैलाई। नयॉं बाले मलाई निकै शोषण गरे मैले राम्रो संग पढन पनि पाईन। मलाई कहिले १८ बर्ष  हूंला र घरबाट निस्कुंला भन्ने सोच मात्र भईरह्यो। अहिले म ३३ बर्षको भएँ। मैले र १८ बर्ष पुग्ने बित्तिकै घर छोडेर हिंडे। अहिले त मेरो आफ्नो बा, सौतेलो बा र आफ्नै आमा संग पनि सम्पर्क नै छैन। जे भने पनि यिनै श्रीमती र दुई छोरीहरु छन।

‘अहो यस्तो बिकसित देशमा बसेर पनि यति ठूलो पिडा मुटुमा उनेर बॉंचेको रहेछ चार्ली’ मलाई उसको कथा सुनेर झन्डै आँसु आएको थियो।

उ अझै मेरो प्रश्नको जवाफ सम्म आईपुगेको थिएन। मैले उ तर्फ हेरें जवाफको आसामा। निकै भावुक देखीन्थ्यो चार्ली।

उसले भन्यो- “हेर कृष्ण, हुन त मैले मेरो श्रीमतीलाई चाहे भने आजै छोड्न सक्छु। उसलाई छोड्दा मलाई आनन्द पनि हुन्छ होला। तर …मेरा दुईटी छोरीको भविष्य के हुन्छ ? यदि मैले श्रीमतीलाई छोडें भने के मेरा साना छोरीहरुको अवस्था पनि मेरो बाल्यकाल जस्तै नहोला भन्न सकिन्छ र ? जुन गल्ती मेरो बाबु आमाले गरे, त्यहि गल्ती मैले पनि दोहोर्याउनु मेरा लागी उचित होला र ?”

यति भनिसकेर चार्ली चुप लाग्यो। उसको कुरा सुनेपछी म अति नै भावबिह्वल भएँ।मैले एकैचोटी उसलाई एउटा असाधारण र महान मान्छेको दर्जामा लगेर राखें।मलाई उसको अनुहार पढने मनले पुलुक्क उसतिर हेरें तर चार्लीका आँखामा दौडीरहेको ऑंसु देख्न नसकेर ऑंखा अन्तै मोडें ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.