कसले कसलाई वा के कुरा कति र किन सम्झन्छ ? यो प्रश्न आफैमा विशेष छ। त्यति मात्र नभई रोचक, घोचक र कतिपय सन्दर्भमा पोषक पनि छ। सम्झनाका शृङ्खला सबैका लागि आफू अनुकूल असीम बनेर रहेको हुन्छ नै।
समयक्रममा कति सुनिन्छ ,कति देखिन्छ ,कति भोगिन्छ र कति पढिन्छ , ती सबै कुरा यथारूपमा सबैको सम्झनामा स्थिर रहन त पक्कै सक्दैन। मनोविज्ञानको मान्यताले पनि नवीन कुरा स्मरणका लागि स्थान दिन कतिपय पुरातन र प्रभावहीन प्रसङ्ग क्रमशः विस्मरण हुन आवश्यक ठान्दछ। प्रसङ्ग र प्रभाव अनुसार विविधतामय रूपमा विषयहरू व्यक्तिको सम्झनामा समेटिन सक्छन्।
एउटै प्रसङ्गलाई पनि हरेक व्यक्तिले आफ्नैआफ्नै किसिमले सम्झन वा बिर्सन सक्छ। व्यक्तिको बोधक्षमता, ग्रहणशीलता, सोच, संस्कार, दृष्टिकोण आदि अनुसार विषयसन्दर्भहरु कमबेसी महत्त्वका देखिन सक्छन्। यसैका आधारमा पात्रमा पर्ने प्रभावगत पृथकताले एउटै कुराले पनि सबैमा एकनास स्मरणमा स्थान पाउँन नसकेको हुनसक्छ।
प्रत्येक जीवन्त व्यक्तिले आफ्नो दैनिकीको अति व्यस्तता र अति गतिशीलताबाट फुर्सद पाएका पलहरुमा आफ्ना विगतका बिम्बहरुलाई कुनै न कुनै रुपमा सम्झना गरिरहेकै हुन्छ। पूर्व प्रसङ्ग र प्रभाव, आर्जित ज्ञान र वैयक्तिक भोगाइ, जीवनयात्रा र अनेक आरोह–अवरोहहरु नै सम्झनाका पर्दामा झल्याकझुलुक देखिने दृश्यहरु बन्छन्।
असीम स्मृतिबिम्बहरुले मस्तिष्कीय भण्डारकक्ष खचाखच भरिराखेको हुन्छ। यही सम्झनाको स्रोतबाट समयसमयमा सम्झनाहरु फुत्त–फुत्त निस्कन्छन्। बेलाबेलामा व्यक्तिले विगतका बिम्बहरुलाई बुझ्नतर्फ चासो दिँदै जान्छ। त्यस समय सम्झनाको असीमित सुरुङतिरको यात्रा आरम्भ हुन्छ। सम्झनाले बिनासीमारेखा यात्रा गर्छ।
व्यक्तिव्यक्तिमा पनि व्यक्तिगत वैविध्य वा बौद्घिक अवस्था विशेषको अन्तर देखिन्छ। यसले पनि सम्झनाका अनेकानेक आकारप्रकार र आयाम बन्छन्। समयको प्रवाहसँगै स्मरण–विस्मरण क्रम चल्दै जान्छ। व्यक्तिलाई पार्ने प्रसङ्गगत प्रभावका अतिरिक्त पटकपटकका पुनर्ताजगी प्रयासहरुले पनि सम्झनालाई निरन्तरतामा लम्ब्याउन सहयोग पु¥याएको हुन्छ।
सबैले सबै कुरा सध्रैँका लागि सम्झन त सक्दैनन्। समयको गतिशीलता र निरन्तरको परिवर्तनशीलता, जीवनको बहुआयामिक विस्तारक्रमजस्ता पक्षहरु सम्झने र बिर्सने कुरासित जोडिएर आउँछन्। भौतिक संसारका सबै कुराहरुलाई परिवर्तनशीलताको प्रक्रियाले प्रत्येक प्रहरमा प्रभावित तुल्याइरहेको हुन्छ। समयको एउटा बिन्दुमा नवीन ठानिएको उपलब्धि अर्को कालखण्डमा पुग्दा पुरातन बनिसकेको हुन्छ। समयले नै एउटा सानो दुधे बालकलाई कहिले लक्काजवान त कहिले वयोवृद्घका रुपमा रुपान्तरण गरिदिन्छ। परिवर्तनशील समयसँगै हातेमालो गर्दै अघि बढेको हुन्छ मान्छे। त्यसरी अघि बढ्दा परिस्थितिका पत्रपत्रहरुसँगै एउटा मानिससँग सम्झनाका अनेक आयामहरु जोडिएर रहेका हुन्छन्।
मानिस पुराना कुराको सम्झनाले नोस्टाल्जिक बन्छ। समयसमयमा सम्झनाको सुरुङतिर फर्किएर यात्रा गर्न खोज्छु म पनि। जीवनको प्रभाततिर पुगेर सुरु हुन्छ स्मरणयात्रा। पाँच वर्षको उमेरतिर उकालो लाग्दै गर्दा देखेको भयानक भेलबाढीका केही दृश्यहरु दिमागभरि सल्बलाउँछन्। मलाई त्यति बेलाका ती दृश्यहरुले कम्ती प्रभावित तुल्याएका थिएनन्। झण्डै तीन दिनजति निरन्तर परेको झरीका कारण गाउँ नजिकको खोलाले त्रूmर रुप प्रदर्शन गरेको थियो। अरु बेला सजिलै तर्न सकिने त्यो खोला त्यति बेला भयको बिम्ब बनेको थियो। खोलाको डरले टाढाटाढा सुरक्षित स्थान खोज्दै हिँडेका मान्छेका लहर अहिले पनि सजीव भएर आँखा अघिल्तिर आउँछन्। हामीले खाने–खेल्ने गरेको गाउँनजिक सार्वजनिक स्थानका अम्बाका रुखहरु र ऐँसेलुको झ्याङ समेत बोकेर त्यो खोला बग्दै गरेको देखेको थिएँ। त्यस्तो धमिलो न धमिलो विशाल जलराशि खोलामा बगेको त्यसअघि कहिल्यै देखेको थिइनँ। टाढाटाढाका रुखहरु पनि बगाएर ल्याउदै थियो। कुनैकुनै त घरजत्रै ठूलाठूला ढुङ्गाहरु पनि पल्टाउँदै असामान्य आवाजका साथ खोला बगेको थियो। मान्छेहरु खोला बौलायो भन्थे। त्यति बेला त्यसरी विस्मयकारी रुप धारण गरेको त्यो खोला त्यत्तिकै शान्त भएन। त्यसले त आँखै अघिल्तिर कतिका फाँटिला खेतहरु समेत बगाउँन थालेको थियो। धान फल्ने उर्वर खेतका फाँटहरु ठूलाठूला ढुङ्गाहरुले ढाकिँदै थिएँ। कहिले दाँया त कहिले बाँयातर्फ मडारिदै गर्दा भेलबाढीले त्रासदी मञ्चन गरेझैँ लाग्थ्यो। ती दृश्यहरुले मेरो बालमानसिकतामा बिर्सनै नसक्ने गरी भय र आश्चर्य एकै साथ मिसाइदियो। ममात्र होइन त्यति बेला त्यहाँका सबै मान्छेहरु भयभीत देखिन्थे। त्यति बेलाको प्रसङ्ग र परिवेश अहिले पनि मेरो सम्झनामा चलचित्रका दृश्यहरुभैmँ गतिशील बनेर देखा पर्छन्।
मलाई बाल्यावस्थामा भयाकुल बनाएर प्रभाव पारेको उक्त भेलबाढीको घटनाभन्दा पनि अगाडिका कुराहरु सम्झने प्रयत्न गर्दा एउटै कुरा मात्र थोरै सम्झन्छु ,अरु केही सम्झन्नँ। अर्धमूर्त दृश्यभैmँ झल्याकझुलुक हुने त्यो मेरो जीवनको पहिलो सम्झना हो–मेरी बहिनीको जन्म। म चार वर्षकोे थिएँ त्यति बेला। मेरी मुमाको अन्तिम सन्तानका रुपमा बहिनी जन्मिएकी थिइन्। एउटी नवजात शिशुको आकृति याद आउँछ मलाई। बहिनीको त्यही आकृति नै मैले सम्झेको पहिलो दृश्य हो। बहिनी जन्मेको समयभन्दा अघिका कुराहरु म केही पनि सम्झन सक्दिनँ। केबल शून्यतामा सीमित छ त्यसअघिको मेरो सम्झनाको संसार।
जीवनका प्रारम्भिक चरणका केही यस्ता प्रतिनिधिमूलक प्रसङ्गहरु थिए, जो निकै नै सजीव भएर सम्झनामा आउँछन्। मैले सातौँ कक्षासम्म मात्र गाउँमा पढ्न पाएँ। त्यस अवधिमा आफ्ना समकक्षी केटाकेटीहरुसँग गाउँमा खुब खेलेँ। त्यति बेलाका हामी केटाकेटीहरु सङ्लो पानी बग्ने सानासाना खोलाका दहहरुमा निस्फिक्री पौडी खेल्थ्यौँ। आफ्ना रुचि, भावना र उमेर मिल्ने बालक साथीहरुसँग खेलिहिँड्दाको त्यस समयको रमाइलो बिर्सनै सकिँदैन रहेछ। हामीले सानामा पौडी खेलेका गाउँका झिर्ती खोला र मलेखु खोला अझैँ पनि उसै गरी मेरो सम्झनामा कलकल बगिरहेका छन्। गाउँनजिकका सानासाना जङ्गलका रुख र बुट्यानहरु सम्झदा उत्तिकै प्रिय लाग्छन्। स्कुल जान नपरेको समय कति पटक त्यहाँ साथीसँगै बयर, एैँसेलु र अमला खोजेर खान्थ्यौँ हामी। ती स्वादहरु अभैm जिब्रोमा छन्। प्रकृतिलाई त्यसरी काँखैमा बसेर स्पर्श गर्दाका अनुभूति अवर्णनीय हुने रहेछ। प्रकृतिबाट पाइने त्यस्तो आनन्द र ज्ञान अन्त कतैबाट पाउँन सकिएला र ?
माध्यमिक र उच्च शिक्षा अध्ययनका लागि गाउँ छाडेर सहरबजारतिर पुगेँ। मेरो पढाइको सहज निरन्तरताको लागि म हुर्केको ताल्ती गाउँभन्दा केही टाढा रहेको मलेखु बजारमा घर नै बनाइदिनु भएको थियो बुबाले। त्यहाँ पनि तीन वर्ष मात्र बसेँ र लागेँ राजधानी काठमाडौँतिरै। त्यस यता प्रकृतिसँगको मीठो सामीप्य घट्दै गए पनि ती यादहरु सम्झनाको सङ्ग्रहालयमा सुरक्षित छन्। उच्च शिक्षा अध्ययनको आरम्भसँगे स्वअध्ययन र सिर्जनात्मक लेखनतिरको आकर्षित हुनु मेरो लागि एउटा सुखद संयोग थियो। औपचारिक अध्ययनको सीमितताभित्र मात्रै किनकिन अट्न सकेन मेरो जिज्ञासु मन। भेटेसम्मका बाहिरी पुस्तकहरु पढ्न छुटाइनँ। त्यसले मलाई जीवनको बहुआयामिकतालाई बुझ्न उत्सुकता बढायो। केही गम्भीरता र परिपक्वता, केही सिर्जनशीलता र सकारात्मकता म आफ्नो जीवनमा चाहन्थेँ त्यति बेला पनि। उच्च शिक्षाका आरम्भिक दिनदेखि नै जानीनजानी कोर्न थालेँ कविता, रच्न थालेँ गीत र लेख्न थालेँ निबन्ध। आफैलाई चिन्न खोज्नु र आफ्नो धरातल बुझ्न चाहनु मेरो रुचि बन्यो।
औपचारिक अध्ययनको एउटा घुम्ती कटेपछि सिर्जनात्मक यात्राका अतिरिक्त छोटो समय सक्रिय पत्रकारितामा र एक दशक बढी प्राध्यापनमा बिताएँ। यस अवधिका आरोह–अवरोहहरु सम्झनाको संसारमा धेरथोर भण्डारण भएकै छन्। ती सामान्यतः केही तीता, केही मीठा छन्। सशस्त्र विद्रोहको उत्कर्ष याममा समाचारदाताका रुपमा धादिङका विकट चेपाङ बस्तीहरु चहारेँ। त्यति बेलाको अवस्था निकै अप्ठ्यारो थियो। प्रतिकूलतामा बिताएका ती पलहरु शिक्षाप्रद रहे। प्रतिकूलतामा पाइने ज्ञान अनुकूलतामा प्राप्य नहुँदो रहेछ। त्यतिबेला मृत्युका केही लघु आभासहरुलाई नजिकबाट साक्षात्कार गर्ने अवसर नपाएको भए जीवनबोध यति धेरै हुने थिएन होला। सम्झदा केही सिकेझैँ लाग्छ, बाँच्ने साहस अझै बढेभैmँ लाग्छ। मात्र दुई वर्ष जतिको सक्रिय पत्रकारिता कर्मबाट मेरो पेशागत मोड प्राध्यापनतिर मोडियो। प्राध्यापनमा दशक बढी बिताएँ। कक्षाकोठाभित्र पसेर पनि केही सिकियो र सिकाइयो। क्याम्पसमा कार्यरत रहेका बखत राजनीतिक विसङ्गतिको कुरुप छायाँको प्रवेश नजिकैबाट देखेँ। राजनीतिक आवरणका शकुनि छायाँहरुले प्राज्ञिक पवित्रतालाई धमिल्याएका दृश्य र भोगाइहरु सम्झनामा बर्गेल्ती छन्।
समय नित्यनिरन्तर गतिशील छ। परिवर्तनशीलता उसको स्वभाव हो। समय सधैँ र सबैका लागि एकनास र स्थिर रहन सक्दैन। समय कंश मात्र नभएर कृष्ण पनि हो, रात मात्र नभएर दिन पनि हो र व्यथा मात्र नभएर उपचार पनि हो। धैर्य गर्न सक्नुपर्छ , सकारात्मक सोच राख्नुपर्छ ,सिर्जनशील जीवन बाँच्न सक्नुपर्छ र सबैभन्दा मूल्यवान् कुरा आफू ‘आफू’ हुनुको औचित्य स्थापित गर्न सक्नु पर्ने रहेछ। सम्झनाका सारहरुले सधैँ यसरी नै सचेत तुल्याउँदै र शिक्षा दिँदै आएका छन्।
जीवनभोगाइका विविधतामय भङ्गालाहरु बगेका हुन्छन्। तीसँगै व्यक्तिका सम्झनाका स्वरुपहरु पनि अनेक आयाम र आकार बोकेर बाँच्ने गर्छन्। मानिस बहुआयामिकतामा बाँच्ने, फैलने र गतिशील बन्ने प्राणी हुो। यसैले उसका सम्झनाका स्वरुपहरुमा पनि पृथकपृथक रङ र रसहरु घोलिएका हुन्छन्।
जीवनकालको लम्बाइसँगै सम्झनाका अनगिन्ती तरेलीहरु बन्दै जाने रहेछन्। तिनले मानिसलाई कहिले उज्यालोको अर्थ सिकाउँदा रहेछन् त कहिले अँध्यारोका अपवादहरुलाई पनि चिनाउँदा रहेछन्। नकारात्मकताको हानि र सकारात्मकताको प्राप्तिको तुलनात्मक आत्मसमीक्षा सम्झनाले गराउँदो रहेछ। यसबाट जीवनलाई पथप्रदर्शन गर्ने ऊर्जा थपिँदै जाँदो रहेछ। सम्झनाका स्रोत दुःखका र सुखका दुबै खाले हुन सक्छन् । जे होस् सबै सम्झनासँग भोगाइबाट प्राप्त जीवन्त ज्ञान हुने रहेछ। बाँकी जीवनको सम्भावना खोज्ने ज्योति पनि त्यही कतै बलिराखेको हुने रहेछ।