राम्रा कविता सुनेर दसैंको स्वागत गर्ने अबसर मिल्यो यसपाला। अलिमियाँ लोकवाङ्मय प्रतिष्ठानले असोज ५ गते साँस्कृतिक राजधानी पोखरामा सुदूरपश्चिमेली कवि हेमन्त विवशको एकल कविता वाचनको मेसो मिलाएको थियो।
छन्द कविता र गीत लेखनबाट काव्यक्षेत्रमा होमिएका विवश पछिल्लो समय गद्य लेखनमा सक्रिय छन्। घटस्थापनाको दिन बिहान पोखराको पार्दीस्थित नेपाल पर्यटन बोर्डमा खचाखच दर्शकको लहरमा अगाडि बसेर कविता सुन्न पाइयो।
विवशले एकल वाचन सुरु गर्नु अघि पोखरेली माटो र स्रष्टालाई सम्मान गर्दै झलकमान गन्धर्वको गीत गाए। उनको कविता वाचन अवधिभर क्षणभरका लागि पनि ध्यान अन्यत्र मोडिएन, कसैले खासखुस गरेको सुनिएन।
आयोजकका तर्फबाट प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले पोखराको साँस्कृतिक कोसेली सारंगी उपहार दिनेवित्तिकै विवशले भावुक हुँदै झलकमानको सम्झना गरेका हुन्। कविता वाचनको सिलसिला चाहिँ ‘आमा’ श्रीर्षक कविताबाट शुभारम्भ गरेका थिए। उनका अधिकाँश कवितामा दुःख, पीडा, अभावका साथै सुदूरपश्चिमको संस्कृति, चाडपर्व, डेउडा, सीमानाका पीडा, देशमै भएर पनि देश हराउनुको पीडा छचल्किएको हुन्छ।
एक हातका औंला कम्मरको पटुकामा अडयाउँदैअर्को हातको हत्केला आँखिभौं माथि तेर्साउँदैपापी डाँडाले नछेकुन्जेलसम्ममसँगै हिँडेका गोरेटाातिर दृष्टि बिछ्याउँदैभन्थिन रे आमामृत्युपछिको पिण्डदान खै के अर्थ राख्छ र ?यी पङ्तिले आमाप्रतिको सम्मानलाई उजागर गरेको छ। हली र हली २ कवितामा भूमिहिन वर्ग जो मालिकको हरेक काम गर्छ तर पनि उसको त्यहाँ कुनै अस्तित्व छैन। मालिकको घरको गोरस खाँदा देउता रिसाउँछन् भन्ने सन्दर्भ उनका कवितामा सुन्दा आँखा रसाए।
हरियो खुर्सानीसँग पिसेको नुन
अनि
रूखका बोक्राझैं कोदाका रोटी
तताउँदै चपाइरहेछन् एकान्तमा
जुन त्यो दिनको बक्सिस हो साहुबाट पाएको
हेर्न पनि हुन्न उसले साहुको घरको गोरस
रिसाँउछन् साहूका देवताः बिग्रिन्छ भैंसी किनकि
ऊ पानी नचल्ने जातको मान्छे
ऊ हली।
कति मार्मिक छन् शब्द ! सरल र सालीन व्यक्तित्वका धनी विवशका कविता अझ सरल छन्। सुदुरपश्चिमेली भाषाको प्रयोग कवितामा मात्रै नभएर वाचन शैलीमा पनि पाइन्छ। पर्यटन बोर्डको हलमा पर्यटनकर्मी, साहित्यकार, पत्रकारका साथै विविध पेसामा आबद्ध व्यक्तित्वको बाक्लो उपस्थिति रहेको एकल वाचनमा कविका कविता वाचन, वरिष्ठ गायकका मर्मस्पर्शी गीत र कविका व्यक्तिगत भोगाई र अनुभूतिले सम्बैलाई भावविव्हल बनायो।
बिहानैदेखि झमझम पानी परेता पनि सुदूरका कविलाई सुन्न र सुदूरको विषयमा बुझ्न चाहनेको बाक्लो उपश्थिति थियो। कविले जब लयबद्ध पाराले वाचन गर्दै गए तब हलमा एक किसिमको सन्नाटा छाएको थियोे।
जदौ गोसाइँ !
चिन्नु भो ?
तपाईं मेरो पुर्खाको गौरव
म उहीँ हली हुँ मालिक
पेटमा पटुका बाँधेर
हलोसँगै पिँडुला र पाखुराको मासु जोत्ने
म उहि हली हुँ गोसाइँ।
यस कविताका माध्यमबाट विवशले मध्यपश्चिम र सुदूरपश्चिममा व्याप्त हली प्रथा र हलीको कष्टकर जीवन भोगाइलाई व्यक्त गरेका छन्। साहित्यमा रुचि राख्ने भएकाले म विभिन्न साहित्यिक कार्यक्रममा सामेल हुने गर्दछु तर जुन सरल शब्दका गहन भाबहरु मैले कवि हेमन्तका कविता सुन्दा र पढ्दा पाएँ त्यस्तो भाब अन्यमा बिरलै भेटेकी छु। सुदुरपश्चिमका वनजंगल, हिमाल, पहाड, सम्पदा, खोलानाला, मिथक, साँधसिमानालाई सामान्य व्यक्तिका आँखाले हेर्दा सामान्य लाग्ने विषयवस्तुलाई मिठासपूर्ण तरिकाले प्रस्तुत गर्न सक्ने खुबी भएका सरल कवि रहेछन् उनी।।
लुकाएर आफ्नै जिन्दगीका
कयौं असन्तुलित छालहरु
संधैजसो निरीह बनेर हेरिरह्यो तिमीलाई
नयाँ भोटो लगाएर दायाँबायाँ हेरिरहेको बालक झैं
उसका जीवनका किनारासमेत भिजाएर
तिमी उर्लिरह्यौ आफ्नै उमङ्गमा (सेतीका छालहरु)
विभिन्न विम्व र प्रतिकका प्रयोगबाट आफू जन्मे÷खेलेको भूगोल र साँध सिमानाको स्पष्ट चित्रण पाइन्छ उनका कवितामा। कविताको अर्को महत्वपूर्ण पक्ष भनेको उनी परम्पराले निर्माण गरेका धरोहरमाथि गौरवपूर्ण उत्सव मनाउँछन् भने त्यसै परम्पराले दिएका कुरीतिमाथि बज्र उठाउँछन्।
छाउपडी, जातीयताको खाडल, उचनिच, धनी–गरिबको अन्तर जस्ता विषयलाई पनि शसक्त रुपमा उठाएका छन् उनले। विम्व र प्रतिक प्रयोग जसरी उनले आफ्ना कवितामा गरेका छन् त्यसरी नै वाचन शैलीमा पनि भिन्नै मिठास भेटियो। जति सुने पनि अत्यास नलाग्ने, हतार नहुने मिठासपूर्ण माधुर्यता भेटियो वाचन शैलीमा।
विवशका कविता सुनेपछि प्रसिद्ध कवि एवं गजलकार प्रकट पगेनी शिव दाजूले भन्नु भएको थियो, ‘कविता वाचन अबधिभर मैले हेमन्त विवशलाई चिनिन् केवल उनका शब्दहरु प्राकृतिक, सांस्कृतिक विम्वहरु, वेतिथि, विसङ्गतिमाथिको प्रहार सुनिरहे र त्यसैमा हराएँ।’ यसले पनि उनको लेखन र वाचन क्षमतालाई प्रष्ट पार्दछ।
उनका कवितामा भावनाका तरङ्ग र मानवताको पक्षका गहकिला तर्क छन्। उनी सुदूरपश्चिम चिनाउने ऐना पनि हुन्। कवि मात्रै नभएर राम्रा गीतकार एवं गायक पनि भएकाले उनले बीचबीचमा सांगितिक माहोल सिर्जना गरेर हामीलाई मन्त्रमुग्ध बनाए। अभावले ग्रसित परिवार कसरी परदेसिनु पर्छ भन्ने कुरालाई उनले लयबद्ध वाचन गर्दा भिन्नै माहोल सिर्जना भएको थियो।
विवशले कविताका माध्यमबाट डोटीका किल्ला, रिपुमल्लको शासनकाल, सैपाल हिमाल, डेउडा, देउकी, कमलरी प्रथा आदि दर्शक÷श्रोतालाई आँफैले देखे भोगे झैं त्यहि पु¥याउन सफल भए।
छन्द कविता र गीत लेखनका माध्यमबाट काव्य क्षेत्रमा विगत दुई दशकदेखि सक्रिय विवश कवितामा मानवीय पीडाको गहिराईभित्र आस्था अड्याउने ठाउँको खोजी गर्छन।
कविता वाचनमा कहिले डेउडा त कहिले झयाउरे गीत गाएर उनले हाम्रो मन जिते। कार्यक्रममा उनलाई गजल सन्ध्या पोखराका अध्यक्ष अमृत सुवेदी र पूर्व अध्यक्ष विर्सना बस्नेतले एक एक कविता वाचनमा सघाएका थिए।
एउटा मिठो संयोग देखियो कार्यक्रममा। आयोजक प्रतिष्ठानका अध्यक्ष मुसलमान समुदायका, प्रमूख अतिथि शिक्षाविद् जोर्ज जोन क्रिश्चियन समुदायका र कविता वाचक कवि हिन्दु। घटस्थापनाको दिन विविधताभित्रको एकता देख्न पाइयो मञ्चमा।
विवशका कविता कानमा गुञ्जिरहेका छन्। उनको भबिश्य सुखद देखिन्छ। समग्रमा सुदूरपश्चिमेली कवि हेमन्तका कविताको सुगन्धले पोखरेली साहित्यिक माटो अझै सुगन्धित भएको अनुभव गरेकि छु। शुभकामना विवशलाई !
यो पनि हेर्नुहोस्