आउँथीन फुपू तिज मान्नलाई
बोकी गर्हौं झोला!
चिप्ला बाटा पार गरी
तर्दै ठाडा खोला!!
कोसेलीमा घिऊ घिरम्ला
बिगौंती नि हुन्थ्यो!
चोला खल्ती दाम्ले मिठाईं
दिँदा मन छुन्थ्यो!!
पाकरी पात बजाई सँगै
जान्थेउँ काट्न घाँस!
घर नजिक अाईपुग्दामा
दरको आउँथ्यो बास!!
तिहुन बोडि झिनुवा भात
ढुङ्ग्राको त्यो दही!
झालको मादल कांक्रोसँगै
खाईन्थ्यो दर सहि!!
रातमा जुट्थे वरपरका
चेलीबेटी सबै!
घरका दु:ख तिज गीतमा
ओकल्दथे खुबै!!
रिल घुमाई बज्ने क्यासेट
बेदना गीत गाउँथे!
हम्क्याईलोका ति भाकाले
मुटु सेरी ल्याउँथे!!
दिन एक खान्थे पहर दर
नाचगान दिन चार!
गुन्यु ढाका लाउँथे फूल
ढुङ्ग्रीको त्यो हार!!
बढे पढें शहर झरें
फुपु जन्जाल माउ!
अहिले उनी तिजमा आउन्नन
बिगत बने घाउ!!
***
दिदी मेरी अम्रिका छन
बहिनी अस्ट्रेलीया!
आजकलको तिज मनाईमा
लाग्या देख्छु खीया!!
एक दिन दुई दिन होईन अहिले
चल्छ महिनौ दिन!
देखावटी तडकभडक
तिजमा भित्र्यो किन??
नाक कान घाँटी लाई भएनी
गहना नक्कली!
ग्ल्यामरस ति रिमिक्स गीतमा
नाच्छन घरीघरी!!
घर नजिकका पार्टी प्यालेस
क्याटरिङ् ब्यस्त!
सिफन साडी सजीई नारी
दर खान छन मस्त!!
रंगरसमा सोमरसले नि
ठाउँ पाउँदै आछ!
तिज पनि आजकल सेल्फी,
सेल्फिसमय् भाछ!!
पुरुषले नि तिज गीत गाई
नाच्छन चेली खालमा!
'काले दाई' र 'ठमेल बजार'
जस्ता गीति तालमा!!
'उपभोगवाद' चाडपर्वमा
छताछुल्ल भाछ!
फेसबुकका भित्तालाई नि
रंगीलो तिज लाछ!!
यो साल बढी पहिरो बाढी
आयो चाडको मुखमा!
संयम भै तिज मनाउँ चेली
धेरै जन छन दु:खमा!!
***
घुमीफिरी तिज आएको
माहोलले बतायो!
स्वदेश बिदेश मेरा चेली
यादले सतायो!!
माफ माग्दछु बिकृतीलाई
हानेको हुँ खास!
तिजमा माईत आउ है चेली
गरी बस्छु आश!!