भेन्टिलेटर जिन्दगी


म ड्युटीमा पुग्दा डाक्टर विपिन विरामीका आफन्तलाई व्रिफिङ गर्दै थिए, सुनेर छक्क परेँ ।ं २१४ नं को विरामीका वारेमा कुरा हुँदै थियो, जो मल्टिअर्गान फेलिएर अवस्थाबाट गुज्रिदै थिए । फोक्सोले काम नगरे पछि भेन्टिलेटरमा राखिएको थियो । किड्नी फेलिएरमा गएकोले डायलसिस पनि गरिदै थियो । लिभरले काम गर्न नसक्दा कडा औषधिहरु रोकिसकिएको थियो ।

तर विरामीका आफन्तलाई यी सवै कुरा भनिएको थिएन, भेन्टिलेटरमा राख्ने सहमति मात्र लिइएको थियो । हुन त म त्यो निजी अस्पतालमा सिनियर नर्स मात्र हुँ । विरामीको रोगको अवस्था र मृत्युवारे बोल्ने मेरो अधिकार थिएन । नर्सिङ केयर र निर्देशन पालना नै मेरो ड्युटी थियो । तरपनि मैले बुझेअनुसार तीन दिन अघि नै त्यो विरामीको स्थिति ‘मेडिकल्ली डेथ डिक्लियर’ गर्ने अवस्थामा थियो । त्यही दिन पनि मैले डा विपिन र अर्का कन्सल्ट्याट फिजिसियन डा सि एमका बीच यस विषयमा केही बहस भएको सुनेकी थिएँ ।

त्यो दिन म ड्युटी सकेर निस्कने तैयारीमा थिएँ । उनीहरुबीच अलि तनावपूर्ण डिस्कसन भएको सुनेपछि विरामीको ब्लाङकेट मिलाउँदै केहीक्षण अलमल गरेकि थिएँ । डाक्टर सि एमले, ‘डिक्लियर गर्ने हो कि’ डा.सा’व भन्नासाथ अस्पतालका अध्यक्ष समेत रहेका डा विपिनले रिसाउँदै, ‘तपार्इँ हतार नगर्नुस्, आई विल डिसाइड इट’ भनेका थिए । यसको प्रतिवाद गर्दै डा सि एमएले ‘यसो गर्नु इथिकल्ली ठीक हुन्छ र ?’ भन्नासाथ डा विपिनले ‘टिम लिडरलाई को–अपरेट नगर्ने ?’ भन्दै आक्रोस देखाए पछि उनी नवोली बाहिरिएका थिए ।

२१४ नं वेडमा रहेका ती विरामीलाई आइसियु विभागमा आएदेखि नर्सिङ केयर मैले गरिरहेकि थिएँ । त्यसैले पनि मलाई डाक्टरबीच भएको विवादको चुरो बुभ्mन बेर लागेन । फोक्सो सम्बन्धी दीर्घ रोगले च्यापेपछि उनलाई पहिला इमर्जेन्सीमा ल्याइएको थियो । उनी वर्षौँ देखि सो रोगले सताइएका थिए । ६७ वर्षका उनको ठेगाना बालाजु लेखिएको थियो । उनी पटकपटक त्यस अस्पतालमा आइसकेका थिए र प्रायः मैले नै नर्सिङ केयर गरेकि थिएँ । यसपटक उनी अलि बढी नै सिकिस्त भएकाले भेन्टिलेटरमा राखिएको थियो । आपूmले केयर गरेकोे विरामी नवोले पनि, नहाँसे पनि भावनात्मक सम्बन्ध गहिरिदै जानु स्वभाविक थियो । त्यसैले पनि तीन दिन अघि अस्पतालबाट बाहिरिदा कोही आफन्तै गुमाउन लागे जस्तै मेरो मन अलि खल्लो र उदास बनेको थियो । त्यसपछि म आप्mनै कामले विदामा वसेँ ।

तीन दिन पछि म ड्युटीमा जाँदै थिएँ । अस्पताल क्षेत्रमा प्रवेश गर्दा मेरो मनमा लागिरहेको थियो, २१४ नं वेडमा अरु नै कोही विरामी आइसकेको होला । किन भने मेरो मनले त्यसै दिन उक्त विरामीसँग भावनात्मक विदा लिइसकेको थियो । तर आज ड्युटीमा पुग्दा त्यही विरामीका आफन्तहरुले डाक्टरलाई घेरेको देख्दा मन अनयासै हडबडियो । कुरा सुन्दै अघि बढेँ, मेरा हातले ढोका ठेल्दै थिए, तर संघारमै पाइला टक्क रोकिए । आफन्तहरु सवै चनाखो बनेर डाक्टर वरिपरि झुम्मिएर सुन्दै थिए ।

डाक्टर विपिन भन्दै थिए, ‘हिजो साँझसम्म केही इम्प्रुभमेन्ट देखिएको थियो, राती अचानाक लिभरले काम गर्न छोड्यो । हामी कोशिस गर्दैछौँ, आश मारेका छैनौँ ।’ मेरा दुवै कान ठाडा हुने मात्र होइन, आँखा पनि गोलो गोलो बनेर तन्किदै थिए । डाक्टरले अन्त्यमा भने, ‘धैर्य गर्नुस् हाम्रो कोशिस जारी छ ।’

बचाउन सक्ने सम्भावना त बाँकि नै थिएन, के मा कोशीस गर्या हो ? उनको कुराले साच्चि नै मेरो मथिङ्गल हल्लिएको थियो । म निकै छक्क र असहज स्थितिमा थिएँ ।

डाक्टरको कुरा सुनेर आफन्तहरुले मुखामुख गरे । डाक्टर हिंडेसँगै उनीहरु आ आप्mनो ठाउँमा वसे । कसैको अनुहार उज्यालो थिएन । उनीहरुको निरासा पनि फरक फरक कारणले भएजस्तो लाग्थ्यो ।

सायद छोराछोरीको मनमा अव धेरै बाँच्नु हुन्न भन्ने निस्कर्ष आउँदै थियो । यसैकारण उनीहरुको अनुहारमा दुःखको अनुभूती स्पष्ट झल्किरहेको थियो । उनीहरु केही नवोली निहुरिएर बसिरहेका थिए । तर अरु दाजुभाइ तथा गुठियारहरुको निरासाको कारण अलि फरक जस्तो लाग्थ्यो । व्यस्त समयमा पटकपटक अस्पताल आउनुपर्दा उनीहरुलाई सायद दिक्क लागिसकेको थियो । यस अघि पनि पटक पटक उनीहरु ‘अन्तिम अवस्था भो रे’ भन्दै चप्पल लगाएर अस्पताल दौडिएका थिए । सायद उनीहरु अव घाट पुगेरै आउने मनस्थितिमा अस्पतालतिर हानिएका थिए । तर विरामीलाई घिटिघिटी अवस्थामा अस्पतालमै छोडेर फर्किन उनीहरु बाध्य भए । सायद उनीहरुको मनमा लागिरहेको थियो, ‘आखिरी जाने त हो नै, किन बेकारको घिटिघिटि ? रातविरात कुनवेला यसले अप्ठेरो पार्छ ।’

नाइट ड्युटीकी सिस्टरले ‘विरामीको अवस्था विग्रदै गएको छ’ भनेकिले, आफन्तलाई खवर गरेछन् । त्यसैले आज विहान उज्यालो नहुँदै आफन्तहरु जम्मा भइसकेका रहेछन् । तर डाक्टरले ‘आशा मारेका छैनौँ’ भने पछि उनीहरुको मनमा एक किसिमको नजानिदो अत्यास मडारिएको थियो, जुन सहजै व्यक्त गर्न पनि सकिने होइन ।

जस्तोसुकै अवस्था भए पनि ‘अव विरामीको मृत्यु भए नि हुन्छ’ भन्न त कसैले सक्तैन, तर व्यक्त गर्न नसकिने यस्ता असंख्य दमित विचारहरु अन्तरमनमा निरन्तर उत्पन्न भई नै रहेका हुन्छन् । उनीहरुको हाउभाउ र व्यवहारबाट कुनै न कुनै रुपमा यी भावनाहरु छचल्किरहेका देखिन्थे । विरामीलाई निको पारेर लाने विश्वास भन्दा उनीहरुको मूड मलामी बन्नेमा बढी मुखरित देखिन्थ्यो । यसैले होला डाक्टरको कुरा सुनेपछि उनीहरुले निवासतिर आप्mना गह्रौँ पाइला बढाए ।

सामान्य अवस्थामा मानिसले अरुको मृत्युको चाहना व्यक्त गर्दैन । तर कैयौँ अवस्थामा मैले देखेकि छु, जव विरामीको अवस्था झन खराव हुँदै जान्छ, तव केही आफन्तहरु आपसमा खासखुस गर्दै भन्छन्, ‘अलि इम्प्रुभ भयो ।’ उनीहरु शुभचिन्तक नै हुन्छन् । तर कुनै न कुनै रुपमा उनीहरु विरामीको मृत्युको कामना नै गरिरहेका देखिन्छन् ।

म ड्रेसस चेन्ज गरेर सरासर २१४ नं वेडको विरामीलाई हेर्न पुगेँ, अनुहारको रङ्ग उडिसकेको थियो । भेन्टिलेटरका भरमा श्वास घ्यारघ्यार भइरहेको थियो । उसको फाइल हेरेँ, अघिल्लो दिन थुप्रै महंगा औषधिहरु लेखिएको थियो । यसले मलाई अझ विरक्त र अचम्मित बनायो । मनमा गहिरोसँग दिक्दारी छायो । ती विरामीको लिभरले काम गर्न छोडिसकेकाले त्यहाँ लेखिएका थुप्रै औषधिहरु विरामीलाई दिनसक्ने अवस्था न्युन मात्र थियो । यी औषधिहरु परिवारलाई आर्थिक बोझ र झुठो आश्वासनबाहेक केही थिएनन् । सायद विरामीका आफन्तलाई विश्वासमा पार्न ती औषधिहरु मगाईएका थिए । अर्कोतिर भित्र बुझाइसकेका औषधिहरुका वारेमा विरामीका आफन्तहरुले प्रायः सोधखोज पनि गर्दैनन् । यस्ता औषधि कता पुग्छन् त्यो सम्झेर मनमा खिन्नता अझै बढ्दै गयो ।

विरामीको अवस्था र डाक्टरले विरामीका आफन्तहरुलाई गरेको ब्रिफिङ सुनेपछि मलाई डा विपिनको नियत बुभ्mन कठिन परेन । वास्तवमा यो अस्पतालमा यस्ता गतिविधि हुन्छन् भन्ने मैले पहिले पनि अलिअलि नसुनेकि त होइन । तर दुई वर्षसम्म पनि सरकारी अस्पतालमा जागिर स्थायी हुन नसकेपछि म रिसै रिसमा यस अस्पतालतिर हानिएकि थिएँ । तर अस्पतालको ताल देखेर मलाई आप्mनो पेशाबाटै वितृष्णा भइरहेको थियो । मैले सुनेकि थिएँ, एअरहोस्टेज हुन त मुस्कुराउन जाने पुग्छ तर नर्सले त मन पनि कोमल पार्न जान्नुपर्छ । कुरा त्यति मात्र होइन रहेछ । मन कठोर बनाउन सक्ने क्षमता पनि हुनुपर्ने रहेछ । विरामीको पीडा र मृत्युको असहजतालाई पचाउन त नर्सले सिकेकै हुनुपर्छ । साथै अस्पताल भित्र विरामी माथि हुने अमानवीय व्यवहारलाई पनि देखेको नदेखै गर्नसक्ने क्षमता पनि हुनुपर्ने रहेछ । विरामी माथि हुनसक्ने अत्याचारबाट उत्पन्न हुने पीडालाई पचाउन सक्ने कठोरता पनि हुनै पर्ने रहेछ । किनभने यसमा राखिने विमतीको सम्बन्ध दैनिक जीवन गुजारासँग गाँसिएको हुन्छ ।

भोलिपल्ट पनि डा विपिन विरामी हेरेर बाहिर निस्कनासाथ आफन्तहरु झुम्मिए । उनले आज पनि, ‘विरामीको स्थिति स्थिर छ’ भनेर हिँडे । हरेक दिन अस्पतालको खर्च वीस हजारभन्दा बढी भइरहेको म आफैँले देखिरहेकीे थिएँ । अस्पतालको बढ्दो उपचार खर्च धान्न परिवारलाई परिरहेको सकस मलाई महसुस भइनै रहेको थियो ।

‘उहाँले कमाएको उहाँलाई नै खर्च भो, के गर्ने त ? उपचार हुँदै छ त्यसै मर्न दिनु भएन’ भनेर छोराहरु सुस्केरा छोड्दै थिए । थप खर्च जुटाउनका लागि कहाँ के बेच्ने, को सँग माग्ने भन्ने सल्लाह उनीहरुमा चलिरहेको देखिन्थ्यो । उनीहरु निरासा र अभावयुक्त आप्mनो आर्थिक अवस्था हामीलाई व्यक्त गर्दैनथे तर त्यो अवस्थालाई म भित्रसम्म महसुस गर्न भने सक्थेँ ।

तर विरामीको वास्तविक अवस्था चाहिँ के छ भन्ने कुरा उनीहरुले अनुमान गर्नसक्ने स्थिति भने थिएन । विरामीका आफन्तहरुले गरेको विश्वास र भरोसा माथि कुठराघात भइरहेको मलाई चाहिँ स्पष्ट थियो । बचाउन सक्ने सम्पूर्ण सम्भावनाहरु समाप्त भइसक्दा पनि अस्पतालको विल बढाउनैका लागि विरामीलाई भेन्टिलेटरमा अल्झाएर राखिएको थियो । अन्तिम अवस्थामा पुगेर डाक्टरको भरोसामा छोडिसकेपछि उनीहरु माथि नै प्रश्न उठाउने हिम्मत्त आफन्तहरुको हुने कुरै भएन । त्यसैको आडमा डाक्टर विपिन आपूmले पढ्दादेखि गरेको खर्च उठाउने प्रयास गरिरहेका थिए ।

अस्पतालमा विरामीहरु उपचारका लागि आउने हो, रोग तथा दुर्घटनाले जटिलभन्दा जटिल अवस्थामा पुगेका विरामीहरुलाई डाक्टरहरुले निको पारिदिदा विरामी र आफन्तहरुमा हुने खुसी वास्तवमै अवर्णणीय हुन्छ । उनीहरुको उपचार टिममा एक हिस्सा बन्न पाउँदा हामीलाई पनि हर्ष र सन्तुष्टि चुलिएको अनुभव हुन्छ । तर सवै विरामीहरु फर्केर जान नसक्ने कुरा यथार्थ हो । यसका लागि पनि आफन्तहरु मानसिक रुपमा तयार भएको देखिन्छ । तर पनि हाम्रो मनमा केही न केही खिन्नताको आभास भने हुन्छ नै । तै पनि फेरि सामान्य मनस्थिति बनाएर अरु विरामीको उपचारमा लाग्नैपर्ने हुन्छ । तर मरिसकेको विरामीलाई पनि ज्युँदोसरह उपचारको नाटक गर्नुपर्ने बाध्यताले भने साच्चै नै मुटु छियाछिया पारिदिन्छ ।

अर्कोदिन डा विपिन अस्पताल आएनन् । त्यो दिन उनी कुनै मेडिकल कलेजमा लेक्चर दिन काठमाडौबाहिर जाने कुरा थियो । रेजिडेन्ट डक्टर आए र सरसर्ती हेरेर गए । केही क्षणमा डा सि एम आउने कुरा थियो । समग्र परिस्थिति हेरेर म ती विरामीको वारेमा निकै गम्भिर भइरहेकि थिएँ । मैले ती विरामीको आँखामा टर्चलाइटको बत्ति पारेर हेरेँ । आँखामा कुनै प्रतिक्रिया आएन । विरामी जीवित हुँदा आँखाको नानी खुम्चिुन पर्ने हो, त्यो देखिएन । फोक्सो लगायतका अंगहरु मेसिनले चलाउने काम भइरहेको थियो । त्यसैले विरामीले सास फेरिरहेको जस्तो लाग्थ्यो । तर विरामीको ब्रेनडेथ भइसकेको थियो । ब्रेन डेथ भइसके पछि अरु अंग चले पनि विरामी बाँच्ने सम्भावना रहँदैन भन्ने मैले बुझेकि थिएँ । अझ चारपाँच दिन अघि नै विरामीको ब्रेन डेथ भइसकेको मेरो विश्वास थियो । म कुनै निर्णय गर्नसक्ने स्थितिमा थिइन । यो मेरो कार्यक्षेत्र बाहिरको कुरा थियो । तर म चुप लागेर वस्नसक्ने अवस्थामा पनि थिइन ।

डा सि एम आउनासाथ मैले हिम्मत गरेर सोधेँ, ‘डक्टर २१४ को पेसेन्ट त मेडिकल्ली डेथ भए जस्तो छ नि ?’ उनले झस्के जस्तै मेरो मुखमा हेरे तर केही भनेनन् । उनी अलि तनावग्रस्त देखिए । विरामीको फाइल पल्टाएर उनी केही लेख्दै थिए । उनले मलाई, ‘सिस्टर २१४ को पेसेन्टपार्टीलाई प्रिपेयर्ड गराउनु भने । मैले २१४ नं को कुरुवा बोलाउन लगाएर विरामी देखाएँ । डा सि एमले ‘अव धेरै होप गर्न सक्ने स्थिति छैन’ भनिदिए । मैले निकै हलुका महसुस गरेँ । एकैछिनमा बाहिर शोकको बातावरण बन्यो । मलाई केही क्षण निकै छटपटी भयो । डा सि एमले मुन्टो हल्लाएर इसारा गरेपछि मैले भेन्टिलेटर छुटाई दिएँ । त्यसको केही सेकेण्डमै मेसिनले चलिरहेको फोक्सो बन्द भयो र विरामीको सास सधँैका लागि रोकियो । मैले कठोर हृदय पारेर २१४ लाई भेन्टिलेटर जिन्दगीबाट मूक्त गरेकि थिएँ, जसमा मलाई पछुताउ नभई सन्तुष्टि हुनेछ । किनभने मैले केही गलत गरेको भावमा केही असल गरेको अनुभूती लिदै थिएँ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.