घरमा कहिले नदेखेको नौलो मानिसहरू आएको गएको देखेर आमा हरीमायाले सशंकित हुँदै छोरा बुहारीलाई सोधिन्, ‘तिमीहरू दुईजना के विषयमा बहस गर्दैछौ? यी मानिसहरू को थिए जसलाई आज घर देखाइरहेको थियो?’
‘आमा! मैले अष्ट्रेलियामा जागिर पाएको छु, सुरुचीले पनि त्यतै जागिर पाउने सम्भावना छ। त्यसैले हामी दुवै अष्ट्रेलिया जाँदैछौँ। छोरा निसान सानो भएकोले उसले पनि त्यहाँ नर्सरीमा भर्ना पाउनेछ। त्यसैले हामीले यो घर बेच्ने निर्णय गरेका छौँ। आज यी मानिसहरू घर हेरेर फाइनल गर्न आएका थिए।’
आमाले केही बुझ्न सकिनन्, छोरा दिलिपले यो के भन्दै छ? उनले केही सोध्नु अघि, दिलिपले फेरि भन्यो, ‘हामीले तपाईंलाई साथमा लिएर जान्थ्यौँ तर तपाईंको पासपोर्ट र भिसा बनेको छैन। त्यहाँको भाषा र जीवनशैली, अवस्था बुझ्न तपाईंलाई झन् गाह्रो हुनेछ। त्यसैले पहिले हामी दुवै जान्छौं, हामी त्यहाँको अवस्था हेर्छौं र एक दुई वर्षमा आउनेछौँ, त्यसपछि हामी तपाईंलाई लैजान्छौँ।’
‘तर... तिमीहरूले यस्तो निर्णय कसरी, कहिले लियौ? अनि यो घर बेचेपछि म कहाँ बस्ने?’ दिलिपले बोलिसकेपछि आमाले हिचकिचाउँदै बोलिन्।
अरू केही बोल्नुअघि बुहारी सुरुचीले भनिन्, ‘आमा! हजुरलाई हामीले यहाँ छोडेर कहाँ जान्छौँ? हामीले यो घर बेच्नुपर्यो भनेर भन्न सकेनौँ। अब हामी यो घरमा एक महिनाभन्दा बढी बस्दैनौँ। हजुर निर्मला दिदीको घरमा बस्नु भयो भने अर्कोपटक नेपाल आउँदा तपाईंलाई पनि सँगै लैजाने भन्ने सोचेका थियौँ।’
दुवै छोरा-बुहारीले एक्कासी के भन्दै थिए आमाले बुझ्न सकिनन्। दिलिपले यो घर बेच्नुअघि आमासँग सल्लाह गर्न पनि उचित ठानेन? यो सबै सोच्दा आमालाई एकदमै रुन मन लाग्यो। आज उनले आफूलाई पूर्णतया एक्लो महसुस गरिरहेकी थिइन्। किनभने उनका श्रीमानले आफ्नो जिन्दगीभरिको सबै जम्मा रकम लगानी गरेर यो दुईतले घर बनाएका थिए। परिवार सँगै बस्ने र छोरी ज्वाइँलाई पनि आउने–जान सहज होस् भन्ने सोचाइ थियो। तर उनले आफ्नो रगत पसिनाले बनाएको यो घरको सुख उपभोग गर्न पाएनन्। मृत्युले उनलाई छिट्टै बोलाएर लग्यो।
श्रीमानको मृत्युपछि उनलाई छोरा दिलिपको मात्र आड भरोसा थियो। तर उसैले छलकपट गरेको आज उनले सहन गर्न सकिनन्। दिलिपको कुरामा विश्वास गरेर नै उनले यो घरलाई नामसारी गरिदिएकी थिइन्। दिलिप धेरै चलाख थियो, उसले सम्पत्तिमा आमाको हस्तक्षेप नहोस् भन्ने चाहन्थ्यो। उसले त्यो घर बेच्न चाहन्थ्यो। निर्दोष आमाले यस्तो छलकपटबारे केही सुइँको पाइनन्। अनि आफ्नै छोराले पनि यस्तो धोका दिनेछ भनेर तिनले कसरी थाहा पाउँथिन्? त्यतिबेला दिलिपले घर आफ्नो नाममा सार्न पाए बैंकबाट ऋण लिन सहुलियत हुन्छ र ऋणबाट व्यवसाय गर्न सकिन्छ भन्दै धेरै आग्रह गरेर मनाएको थियो।
त्यसपछि छोराको माया, भावुकता र केही अज्ञानताका कारण आमाले घर दिलिपको नाममा हस्तान्तरण गरिदिइन्। आखिर, एउटी आमाको मन हो जसले आफ्नो सन्तानलाई दुःखी देख्न सक्दिनन्। तर त्यही छोराले नै धोका दिएकोलाई के भन्ने। उनीबाट यो एउटा गल्ती हुन गएको थियो। उनको र लोग्नेको सपनाको घर, जसलाई विश्वास गरेर दिलिपको नाममा हस्तान्तरण गरिदिएकी थिइन्। जसका कारण उनी आज घरबारविहीन हुन लागेकी थिइन्। दिलिपले यति ठूलो चाल चाल्दैछ भन्ने थाहा पाउन नसकेकोमा उनी पछुताउँदै थिइन्। यति मात्रै होइन, अहिले उनका छोरा र बुहारीले उनलाई छोरी निर्मलाको घरमा लगेर राख्न चाहेका थिए।
तीन महिनाअघि निर्मला यहाँ आउँदा आमालाई एक–दुई पटक भनेकी थिइन्, ‘आमा, तपाईंले घर दिलिपको नाममा दिनु हुँदैनथ्यो। किनकि मैले यिनीहरूको व्यवहार केही शंकास्पद पाएको छु।’
तर छोराप्रतिको मायाले अन्धो बनेकी आमाले त्यसबेला छोराको कुनै गल्ती देखिनन्। तिनले यसलाई दिदी भाइबीचको स्वाभाविक ईर्ष्या र द्वन्द्व मानिन्। आमाले केही नबोलेपछि निर्मलाले पनि सिधै भनेकी थिइन्- ‘आमा, मलाई भाइ र बुहारीको हरकत एकदमै अनौठो लागिरहेको छ। भाइ-बुहारी विदेश जाने कुरा सुनिरहेको छु। यसबारेमा तपाईंलाई केही थाहा छ? मलाई केही शंका लाग्यो।’
तर त्यसबेला आमाले निर्मलाको कुरामा त्यति ध्यान दिइनन्। तीन महिनामै निर्मलाको भनाइ सही साबित भयो। केही दिन के गर्ने र के नगर्ने अन्योलमा बित्यो। एक दिन घरमा कोही नभएको बेला उनले निर्मलालाई फोन गरिन्। आमाले सानो स्वरमा सबै कुरा सुनाइन्। त्यसपछि निर्मलाले उनलाई धेरै कुरा सम्झाइन् र आफ्नो अधिकारका बारेमा सचेत गराउँदै भनेकी थिइन्। त्यसले आमाको साहस अलिकति भए पनि बढायो। अनि दिलिपसँग आफ्ना कुराहरू व्यक्त गर्ने मौका मिल्यो।
केही दिनपछि मात्र दिलिपले आमालाई भने, ‘आमा! अब के सोच्नुभएको छ? केही दिनपछि तपाईं निर्मला दिदीको घरमा गएर बस्नुपर्नेछ। यो कुरा निर्मला दिदीलाई भन्नुभएको छ कि छैन?’
अनि त्यसपछि दिलिप र सुरुचीले कहिल्यै नसोचेको कुरा भयो। आमा हरीमायाले केही बेर सोचेर दिलिप र सुरुचीलाई भनिन्, ‘ठीक छ! तर तिमीहरूले अष्ट्रेलिया जाने बारेमा मलाई पहिले नै किन नभनेको? अनि मेरो हेरचाह दिदी भाइ दुवैले मिलेर गर्नुपर्छ, यो मेरो अधिकार हो। ज्येष्ठ नागरिकको अधिकार छ, बूढा आमा-बुबाको छोराछोरीले वृद्धावस्थामा हेरचाह गर्ने कानुन पनि छ। म तिमीहरूलाई सचेत गराउन चाहन्छु, भावनात्मक रूपमा मलाई दबाब दिएर घर नामसारी गर्यौ भने अर्कोतिर मलाई असहाय छाड्न लागेको छौ। यी दुवै विषयमा मैले कानुनी कारवाहीमा गएँ भने तिमीहरूलाई सजाय हुनेछ। बेइज्जत पनि हुनेछ, तसर्थ या त तिमीहरूले मलाई साथमा लैजाऊ वा यो घर मेरो नाममा फिर्ता गर। अन्यथा मैले कानुनी बाटोबाट इच्छापत्र खारेज गरेर घर फेरि मेरो नाममा गराउन सक्छु। यो बाहेक मलाई अरू केही थाहा छैन।’
आमाको चेतावनीपूर्ण कुरा सुनेर दिलिप पनि छक्क पर्यो। सायद उसले आफ्नी सोझी आमाको यस्तो कडा व्यवहार वर्षौंदेखि देखेको थिएन।
सुरुचीले पनि अफ्ठ्यारो मान्दै भनिन्, ‘आमा! त्यहाँ बसाइ मिल्ने बित्तिकै हामी आउनेछौँ र तपाईंलाई लैजान्छौँ। पटक्कै चिन्ता नगर्नुहोस्।’
बुहारीको कुरा सुनेर आमाले भनिन्, ‘होइन बुहारी! अब म कसैको कुरामा विश्वास गर्दिनँ। को कतिबेला परिवर्तन हुन्छ, बुझ्न गाह्रो भयो।’
आमा हरीमायाले पुनः कडा शब्दमा भनिन्, ‘त्यसो भए अहिले दिलिप एक्लै जाओस् र यो घर बेचेको भए हामीलाई कतै भाडामा घर खोजेर राखोस्। हामी तीन जना त्यसमा बस्नेछौँ। केही समयमा दिलिप फर्केर आउँछ, त्यतिन्जेल मेरो पासपोर्ट र भिसा बनाइदिनु। त्यसपछि हामी तीनैजना दिलिपसँगै जाउँला। यदि दिलिपले हामीलाई लगेन भने, हामी यहीँ बसौंला। दिलिपले त्यहाँ काम गर्छ र हरेक महिना हामीलाई पैसा पठाइरहन्छ। यो बाहेक अरू केही हुन सक्दैन। यो बुढेसकालमा म छोरीको घरमा गएर बस्न सक्दिनँ। अर्को कुरा, यो तिमीहरूले निर्मलाको भागमा यस घरमा केही पनि राखेनौ, तसर्थ मेरो हेरचाह गर्ने सम्पूर्ण जिम्मेवारी तिमीहरूको हो।’
अहिले उनको स्वर पहिलेको भन्दा अलि कडा थियो। हरेक कुरामा ध्यान दिँदै उनले जोड दिएर भनिन्, ‘दिलिप र सुरुची दुवैजनाले कान खोलेर सुन। म यो सहर र मेरो घर छोडेर कतै जाने छैन। यस घरमा मेरो आत्मा बसेको छ। बिहे भएर आएदेखि यही घर र यही सहरमा बस्दै आएको छु। यहाँका मानिसहरूले मलाई चिन्छन्। म यहाँको सबै कुरासँग जोडिएको महसुस गर्छु। त्यसैले तिमीहरूले जे गरे पनि म यो घर छोडेर जाने छैन र यहाँ म एक्लै पनि बस्दिनँ।’
दिलिप र सुरुची एकदम मौन भए। उनीहरू दुवैको योजना सोचेको जस्तो भएन र उनीहरूले अब के गर्ने भनेर केही पनि सोच्न सकेका थिएनन्। वास्तवमा आमा आफ्नो ठाउँमा एकदम सही थिइन्। त्यसैले दिलिप आमाको कुरामा सहमत हुनुपर्यो। घर बिक्री भइसकेको अवस्थामा थियो। फेरि यही घर फिर्ता गर्न ऊसँग पैसा पनि थिएन। किनभने उसले यो घर बेचेर यही सहरमा एउटा फ्ल्याट पनि बुक गरेको थियो, जुन कुरा उसले आमालाई भनेको थिएन। अब केही नलागेपछि उसले त्यो फ्ल्याटको बारेमा भन्नुपर्यो।
त्यसपछि नरेशले केही गर्न सकेन, आमाको आज्ञा मान्नुपर्ने भयो। सुरुची, आमा र छोरा निसानलाई दिलिपले किनेको फ्ल्याटमा सार्यो। दिलिप एक्लै अष्ट्रेलिया गयो। अहिले आमा हरिमया निकै खुसी भइन्। यो सबै उनलाई उनकी छोरी निर्मलाले सिकाएकी थिइन्। आज उनले सिकाएको कुरा ख्याल राखेको भएर नै छोरा बुहारीसँग तर्कसंगत कुरा गर्न सकिन्। जसका कारण दुवैले बुढेसकालमा एक्लै छोड्न सकेनन्।
एक प्रकारले अब आमालाई धोका दिन सम्भव छैन भनेर छोरा-बुहारीलाई पनि पाठ सिकाएकी थिइन्। किनभने अहिले आमा आफ्नो अधिकार र कर्तव्यप्रति पूर्ण सचेत भएकी थिइन्। दिलिपलाई राम्ररी थाहा भइसकेको थियो कि आमालाई अब मूर्ख बनाउन सकिँदैन। सुरुचीले पनि आमा हरीमायासँग नराम्रो व्यवहार गर्न सक्दिनथी। किनकि एक सचेत महिलाले आफ्नो हितमा आवाज उठाएकी थिइन्। कानुन पनि उनको साथमा थियो र उनीसँगै उनकी छोरी निर्मला पनि थिइन्।
आमा हरीमायाले निर्मलाको नाम कतै पनि खुलाइनन्। दुई दिदी भाइबीच झगडा र एकअर्काप्रति शत्रुता नहोस् भन्ने उनी चाहन्थिन्। कतै नाम लिएको भए छोरा-बुहारी निर्मलासँग टाढिन्थे। उनको शेषपछि छोरीको माइती घर सधैँका लागि बन्द हुने थियो। त्यसैले निर्मलाले यस विषयमा सल्लाह दिएको पनि थाहा हुन दिइनन्।