आँखाले देखे जति
मनमा लागे जति
सबै कुरा
कवि बोल्दैन
आफ्ना सबै भावावेगलाई
ऊ वाक्यमा तोलदैन।
कवि इमानदार हुन्छ
कवि समझदार हुन्छ
कवि तामझाम होइन,
काम माग्छ
कवि आसन होइन,
सुशासन खोज्छ
कवि नेपाल हाँसेको हेर्न चाहन्छ
देशको अवस्था फेर्न चाहन्छ!
कवि आफ्नो सम्मानमा
कुनै फूलमाला खोज्दैन
कवि आफ्नो सम्बोधनमा
कुनै मसला थप्दैन
कवि स्वभावतः एकान्त रोज्छ,
भिडभाड र होहल्ला
ऊ मन पराउँदैन।
तर जब भ्रष्टाचारको बाँध फुट्छ
कवि उग्र हुन्छ
जब अत्याचारको सीमा टुट्छ
कवि व्यग्र हुन्छ
अनि उसका शब्दहरू
आक्रोश बनेर झर्छन्,
कविका उद्घोषहरू
आन्दोलनको ऊर्जा बन्छन्।
अहंकारीहरू त्यसमा
अल्गोरिदम देख्छन्
तर निमुखाहरू
त्यसैलाई नै उत्तम ठान्छन्।
दशकौँदेखि ठगिएका,
लुटिएका,
झुक्क्याइएका जनता
कविमा आफ्नो मसिहा देख्छन्
कविको कालो लुगामै पनि
आफ्नो रंगिन भविष्य देख्छन्।
आशाले नै हरेक परिवर्तन ल्याउँछ
हिम्मतले नै नयाँ दिशा देखाउँछ
वर्षौँदेखि अहंकारीहरूको चपेटामा परेको देश
वर्षौँदेखि अस्थिरताको लपेटामा परेको देश—
अब यही कविले सुधार्छ।
अब यो देश पशुपतिनाथले हैन
कविले चलाउँछ
अब यो देश कविले बनाउँछ!