धारिलो हुन्छ
तरबारको धार
जसको म्यानमा राख
काट्ने काम उसको
जसलाई पनि काट्न सक्छ,
गोली जसको
बन्दुकमा राखे पनि
पड्कने हो
पड्कन्छ र मार्न सक्छ।
तरबार तरबार नै हो
गोली गोली नै हो।
तिमी जति बिन्ती गर
तिमीले पुकार गर
सुन्दैन उसले,
तरबार र गोली
इतिहासका पाण्डे
र थापा जस्तै हुन्
कोक्राको बक्चा
र
मसानघाटको
लासलाई पनि दया देखाउँदैन,
हुत्सी र तुत्सी जस्तै हुन्
लासहरूले खोला ठेलिँदा पनि
थाहा पाउँदैनन्।
बोडो र मुस्लिम जस्तै
आधा दिनमा गाउँ रित्याउँछन्।
बामीयानका
बुद्ध मूर्ति देखेर करुणा जाग्दैन,
आकाशतर्फ हेरेर
खानेकुराको आशामा।
आकाश हेरेर बसेको बसेको
प्यालिस्टाइन किशोर चिन्दैन,
स्कुल र अस्पताललाई सेनाको ब्यारेक देख्छ
एम्बुलेन्सलाई बख्तरबन्द गाडी र ट्याङ्क देख्छ।
निलो हेलमेटलाई शत्रु देख्छ
खानेपानी बग्ने खोलामा
तेल बगाउँछ र खानेपानीको हाहाकार बनाउँछ
चुलामा बाल्ने तेल समुन्द्रमा डढाउँछ।
सोधिरहन्छु, खोजिरहन्छु
पागल मान्छेले
तरबार नचाउँछ, बन्दुक पड्काउँछ कि
तरबार र बन्दुकले मान्छे पागल बनाउँछ।
भो अब अरू कुरा छोडौँ
बरु प्रार्थना गरौँ
कामना गरौँ
तरबारको धार झरेर भुत्ते बनोस्
गोली नपक्डने गरी ओसियोस्।