सुन्तलीका विगतका कयौँ दसैँ उब्रिएको मासुको आशामा बित्ने गर्दथे। छिमेकीका घरमा काटेको जखमलेको ‘एक पावा मासु’। त्यो नै सुन्तलीका लागि दसैँको जीवन्त परिभाषा थियो।
लसुन, मसला केलाएर स्वादिलो हुने गरी पकाइन्थ्यो र कसौँडी भाँडामा भरी रसमा खटखट उमालेर परिपन्च पारिन्थ्यो। मझेरीमा वरिपरि लालाबाला परिवारसँग बसेर सिल्बरका बटुकामा एउटा एउटा चाना औँलाले खोजेर बेला बेला अकबरे खोर्सानीसँग करप करप कोपर्दै धानका चामलको तातो भातसँगै खसीको सुप सुरूप सुरूप पार्दा घरभित्रै दसैँ पसेको अनुभूति हुन्थ्यो।
दसैँको सप्तमीको साँझ गाउँमा केटाकेटीहरूको स्फूर्ति बढेको थियो। धर्तीमा दसैँको उमंगसँगै बली चढाउनेहरूको प्रतिस्पर्धाले होला आकाशको बादलमा पनि रंग फेरिएको छ। मानौँ दसैँले धर्ती र आकाश नै तरङ्गित बनाएको छ।
दसैँ आएपछि राम्रो लगाउन र मीठो खान पाइन्छ भन्ने त चलन नै छ। उ बेला बुबाले दसैँमा मात्रै स्कुल ड्रेस किनिदिनुहुन्थ्यो। त्यो पनि मामाघर जानका लागि खास लुगा बनाउने चलन थियो। दाजुभाइ, दिदीबहिनी चानचुने गन्दै मावली घर जान्थ्यौँ, गोडामा चप्पल हुन्थ्यो कि हुन्थेन, सम्झना छैन, तर मनमा एक किसिमको खुसी हुन्थ्यो कि मैले पनि नयाँ ड्रेस लगाएको छु। मामाघर जान पाएको छु।
अष्टमीका दिन छिमेकी हजुरबाले दुर्गा नपुज्दासम्म चिउरा खान पनि नपाउने आदेश दिँदा मन कुँडिन्थ्यो, तर पनि डराइन्थ्यो देवी रिसाउँछिन् कि भनेर। धनीको घरबाट मङ्सिरमा डबल तिर्ने सर्तमा ल्याइएको दुई पाथी धान। त्यो धानको चामल नै दसैँका पाहुनाका लागि जोहो थियो। आफन्त आएपछि पिङ, गफ, टीका जमरा, छुस्स चिउरा र दहीको स्वाद नै दसैँको अर्को रमाइलो पक्ष लाग्थ्यो। सुन्तलीको मनमा भोक, लाज, खुसी, र त्यसमाथि बाँच्ने संघर्ष अझै बाक्लो गरी रुमलिएर सँगै आउँथ्यो। मानौँ दसैँ टार्दा ठुलै मुद्दा जितेजस्तो।
अब समय फेरियो। सुन्तलीले गाउँ छाडेको पनि निकै वर्ष भयो। उनी यो पटक काठमाडौँको अपार्टमेन्टमा दसैँ मनाउँदै छिन्। अहिले सुन्तलीसँग सबै थोक छ; फ्रिज, मटन, ब्रान्डेड ड्रेस, टिभी, इन्टरनेट। तर मन भने खाली। अब सुन्तलीले छोराछोरीसँग दसैँ मनाउनुपर्नेछ मोबाइलको च्याटमा।
छोरी टीका लगाउन पनि मोबाइल च्याटमै व्यस्त हुन्छे। उसले भन्छे, ‘ममी, डिजिटल टीका पठाइहाल्नुस् न!’ सुन्तली हाँस्छे, मुस्कुराउने प्रयास गर्छे। भित्रभित्रै भने ती एक पावा मासुको दसैँ, श्रीमानसँगै हराएर गएको खुसी, ती शोकका दिनहरू सबै सबै मनमा भरिएर आउँछ।
ऊ सोच्न थाल्छे, विगतमा त्यो गरिबी थियो तर आत्मीयता थियो। अभाव थियो तर गफमा आफ्नोपन थियो। आफन्त र छिमेकीसँग गफ गर्न रातभर समय हुन्थ्यो। अब छ सबै सुविधा तर दसैँमा ती सबै थोक छैनन्। सुन्तली आँखा बन्द गर्छे। मनमनै बुबालाई सम्झन्छे। त्यो नयाँ ड्रेस, त्यो मासुको ऋण तिर्न साहूका घरमा महिनौँ श्रम गर्दाको क्षण, त्यो चिउरा र टपराको दही अनि सोच्छे- दसैँ भनेको उही त हो, जुन हाम्रा बुबाआमाले ऋणसँगै आँसु थामेर मनाइदिएका थिए।
आज त टीकाको दिन। सुन्तली बिहानै उठेकी थिई। झ्याल खोली हेर्दा काठमाडौँको सहर धमिलो धुवाँले भरिएको देखिन्थ्यो। आकाशमा सुनौलो घामले किरण फिँजाउन रूप भर्दै थियो। डाँडामाथि रातो लाली छरेर झुल्किन थालेको थियो तर सुन्तलीको अनुहारमा भने उज्यालो थिएन। नेपालीहरूको महान् चाड। तर उसको मनमा उत्सव होइन, शून्यता थियो।
फ्रिजमा मटन थियो, ग्यास चुल्होमा दूध उम्लिरहेको थियो अनि सोफाको कुनामा ब्रान्डेड लुगा राखिएका थिए। गत हप्ता मात्रै अनलाइनबाट मगाएका सेलेक्टेड लुगा चिरिच्याट्टै थिए। सुन्तलीले छोरीका लागि पनि उस्तै ब्राण्डेड छानेर किनेकी थिइन् तर छोरी त टीका लगाउने बेलामा पनि फोनमा च्याट गरिरहेकी थिइन्।
सुन्तली टीकाको लागि थालीमा अक्षता राख्दै गर्दा सम्झिन थाल्छिन्, त्यो बखतको दसैँ। जति गरिबी भए पनि मन अमिलो थिएन। बाँसको चोया टिपेर बनाएको चंगा, छिमेकीको घरमा पकाएको मासुको वासना, गाउँले युवाहरू मिलेर बनाएको साझा लिंगे पिङ, कतै कतै चोकहरूमा बिहानैदेखि मच्चिने काठका पिरा बुनेर बनाएको रोटे पिङ अनि रातभर भाटा र ढोड बालेर गफ गर्ने आफ्नै दाजु–भाइ, छरछिमेक। आमाले ढिँडो नमस्काएको दिन ‘आज मासु छ आहा!’ भनेर हर्षले झुमिने दसैँका दिनहरू।
विगत सम्झिएर सुन्तलीको मन भक्कानिन्छ। सम्हाल्न खोज्छिन् तर एकपछि अर्को गर्दै सम्झनाका तरेलीहरू खात लागेर आउँछन्। सुन्तलीकी छोरी अमेरिका पुगेपछि फरक भइसकेकी थिइन्। उनको ग्रिनकार्ड भइसकेको छ। अब फर्किनुपर्ने आवश्यकता छैन। मोबाइलमा भिडियो कलको टोन बज्छ- ‘ममी, डिजिटल टीका पठाइहाल्नुस् न!’
छोरीको स्वर सुन्ने बित्तिकै सुन्तली झस्किन्छिन्। टीका डिजिटल पठाउने कुरा हो र? उनले मनमनै भनेकी थिइन्। तर मुस्कुराइन्। त्यो पनि बनावटी। छोरीले देखोस् भन्ने मात्र हो।
सुन्तलीसँग अरू सबै छ तर त्यो आत्मीयता छैन। छोरा श्रममा बिदेसिने भएपछि सुन्तलीलाई काठमाडौँ ल्याएर भाडाको घरमा राखेको थियो। ऊ तीन वर्षदेखि घर फर्किएको छैन। खाडीमा काम गर्छ, फोनमा भन्न भ्याएको थियो– ‘माफी दिनु, आउन सकिँदैन यसपालि पनि। साहुले ओभरटाइम दिएको छ, सुत्नेलाई पनि पालो मिल्दैन। म धेरै बिजी छु, दसैँ अर्कै साल मनाउँला ममी।’
घरको झ्यालबाट हेर्दा वरिपरि सबै मौनता छ। न त टोलका केटाकेटीहरू उफ्रिने, गाउने र उमंग साटने कोही छन्, न गेटअघि टीकाको रङ्गिन थाल राखिएको छ। सबै घरमा पर्दा झुन्ड्याइएको छ, जति खाए पनि मासु छ, घरघरका फ्रिजमा भरि-भरि मासु छ। तर त्यो एउटै ‘पावा मासु’ जसलाई लिएर सिंगो परिवार रमाइन्थ्यो, त्यो भाव कहीँ छैन।
सुन्तलीले अघिल्तिरको टिभी खोल्छे। ठुलो स्क्रिनमा दसैँको कार्यक्रम बजिरहेको छ, कलाकारहरू नाचिरहेका छन्, गीत गाइरहेका छन्। तर उसको मन भने त्यो परको गाउँतिर डुलिरहेको छ। जहाँ दसैँको चाडसँगै माया, अपनत्व अनि परिवारको साथ हुन्थ्यो।
त्यो गाउँ, जहाँ अभावसँग झेल्नु थियो, रातमा मैनबत्ती बाल्नुपर्थ्यो, मासु वर्षमा एकपल्ट मात्र खान पाइन्थ्यो। तर मनमा त कहिल्यै अँध्यारो पर्दैनथ्यो। आज सुन्तलीसँग सबै छ। बिजुली, इन्टरनेट, मटन, ब्रान्डेड ड्रेस। तर खुसी खाडीको बालुवामा गुमेको छ। अमेरिकाको ग्रिनकार्डको खोजीमा हराएको छ।
दसैँ आउँछ, जान्छ। तर सुन्तलीको मनमा एउटा प्रश्न बारम्बार गुन्जिरहन्छ- ‘दसैँ भनेको चाड हो कि साथ हो?’