अकस्मात ...
झरेर सपना टुक्रिएपछि 
असंख्य टुक्राहरूमा  
फुलमाया
तिम्रो आँखाको डिलबाट छातिको मैदान हुँदै
स्वयं झरेकी तिमी अल्झिएकी थियौ
मजेत्रोका हत्केलाहरूमा 
 
हृदयको ताल फुटेर  बगिरहेको बाढी
रोक्न सामर्थ्य राख्ने बाँध नभएर
जीवनको किनारमा उभिएर  
टोलाईरहेकी थियौ।
तिम्रो पीडाको नमिठो सुशेली
सुनिरहेथेँ मैले त्यो साँझ...
 
फुलमाया !  
बिभेदको झोक्कामा ठोकिएर
फूलका नरम पातहरू काँपे जसरी  
नकाँप  तिमी 
जीर्ण भित्ताहरू भत्किए जसरी  
नभत्क तिमी  
पहिरोसँगै खसेको ढुंगा जसरी  
हिलो र बाढीसँगै नखस फुलमाया ।  
फूलमाया-
अछुत भनेर जसले तिम्रो छाँयालाई 
कुल्चिएर हिँड्छ
जसले तिम्रो भावनालाई 
तासको घर सम्झिएर खेल्न चाहन्छ
आगो सल्काई देउ/जलाइदेउ 
उसले निर्माण गरेको 
अछुतको कागजी घर
नरोउ फूलमाया तिमी ...
तिमी किन भक्कानिएर रुँदैछौ फेरि 
यो सामाजको आँगनमा ?
उठ फूलमाया
जगाउ तिम्रो छातिको मैदानमा 
परेड खेल्न सक्ने हिम्मतको भकुण्डो 
खेल त्यस आँगनमा र हानीदेउ गोल
बिभेदको संरचना भत्किने गरि
 
फुलमाया !
उसको रिसले भत्किएकै थियौ तिमी तर  
जोगाइ राखेको तिम्रो 
अटल सपना डग्मगाउन नदेउ  
थाहा छ तिमीलाई 
ध्रुब तारा एक्लो हुन्छ तर 
सबैले देख्ने गरि उज्यालो हुन्छ
तिमी त्यही उज्यालो ध्रुब तारा हौ 
तिमी दियोकी बाती हौ  
जसले उपहार स्वरूप 
उज्यालो बाँड्न सक्ने हिम्मत राख्छ
फूलमाया
बिभेदको हार हुनेछ एकदिन र 
हिँड्नेछन् तिम्रो बिश्वासको भर्याङ समाएर
उक्लनेछन् तिनै मान्छेहरू
तिम्रो संरचनाको भर्याङ टेकेर
जस्ले तिमीलाई दलित उपमा दिए
आँसुको खोली नबगाउ फूलमाया 
तिमी रोकिनु पर्छ
तिमी जस्तै  
कैयौं टुक्रिएको हृदयहरूको 
विश्वासीलो मल्हम बनेर ।
सपना झरेको सांँझ 
फेरि उठ्न सक्नु पर्छ तिमी र
कुल्चन सक्नु पर्छ 
फोस्रा ती बिभेदका काँडाहरू
अनि बन्नु पर्छ तिमी 
यो समाजको एउटा ध्रुबतारा ।
 
(कन्सेप्ट नेपालले असार १५ देखि १६ गतेसम्म तनहुँको व्यास नगरपालिका–१३ मा रहेको दलित समुदायले चलाएको मुलुककै पहिलो सामुदायिक होमस्टे ‘आँपस्वारा सामुदायिक दलित होमस्टे’मा आयोजना गरेको ‘आँपस्वारा काव्ययात्रा–२०७९’ मा वाचित कविता।)