बा !
तिमी राजनीतिमा नलागेर
आज त्यसै मर्नुपर्यो
तिमी राजनीतिमा नलागेर
मैले आजबाट
मेरा बा लाई बा भन्न नपाउने भएँ।।
बा !
तिमी प्रधानमन्त्री भएको भए
सायद
मैले आज रून पर्ने थिएन
सायद
मैले हिजो सहयोग माग्न पर्ने थिएन
अनि
मैले भोलि के हुने हो भनेर
डराउनु पर्ने पनि थिएन ।।
बा !
तिमीले मेरो नाम
आदर्श किन राख्यौं
यो देशमा
न म यो नाम भुलेर बाँच्न सक्छु
न म यो नाम लिएर बाँच्न सक्छु
मलाई
किन यो संस्कार सिकायौ
यो देशमा
न म यो संस्कार भुलेर बाँच्न सक्छु
न म यो संस्कार लिएर बाँच्न सक्छु ।।
बरु
मेरो नाम पावर राखेको भए
मेरो नाम पैसा राखेको भए
मेरो नाम सोर्स फोर्स राखेको भए
मलाई राजनीति सिकाएको भए
मलाई लाजनीति सिकाएको भए
देश जस्तै नाम लिएर
देश जस्तै संस्कार लिएर
आनन्दको जिन्दगी कटाउने थिएँ
सायद तिमीलाई बचाउने थिएँ ।।
त्यसैले बा
गल्ती तिम्रै हो
गलत पेशा रोज्यौ
गलत संस्कार सिक्यौ
गलत देशमा जन्मियौ ।।