उनीहरू गए
सहर छाडेर गए
यो बस्ती अनि गल्लीहरू
सुनसान बनाएर गए
सडकमा ओर्लिएर
कहिलेकाहीँ चटपटे खायो भन्दैमा
कौसीमा बस्नेहरूलाई
एकोहोरो माया गरिरहने
ती वनसाइडेड लभरहरू
ठेगाना बिनाको चिठी
कतै दोबोटोतिर
कतै बगैंचा अनि पार्कतिर
उसै छाडेर गए
चारो खान तड्पिरहेको
निमुखा बचेराजस्ता
निष्ठुरी घरबेटीलाई
जिन्दगीको आधा हिस्सा सुम्पेर
अब कहिल्यै नफर्किने भन्दै
थोत्रो ब्ल्याङ्केट र केही रित्तो थाल
बसको छतमा राखेर
आँशु पुछ्दै पुछ्दै गए
सबैभन्दा धेरै सहर बनाएर
कहिल्यै सहरवासी हुन नसकेका
सहरका ती असली हकदारहरू
विपतमा सहर
झनै बिरानो बनेपछि
चिउरा र दालमोठ
चपाउँदै चपाउँदै गए
उनीहरू गए
खाली हात गए
रित्तो रित्तो गए
कहिल्यै नटालिने
फुटेको घैंटोजस्तो जिन्दगी बोकेर
सहरको कुनाकुना भौतारी हिँड्ने
ती मुसाफिरहरू
ठेला फुटेको हत्केलामा
रक्सीको कटमेरो गन्ध
दल्दै दल्दै गए
कतै बन्धकी राख्न नमिल्ने
दुःखको लालपुर्जा बोकेका
कमिलाका अन्तहिन ताँतीजस्ता
ती सिसिफसहरू
भोकले पट्पटी फुटेको ओठ
१० रुप्पेको मास्कले छोप्दै छोप्दै गए
उनीहरू गए
यो सहर रित्तो बनाएर गए
यो चोक, बजार अनि बस्तीहरू
सुनसान बनाएर गए
बाँच्ने जिम्मा पनि
एक्लो सहरलाई नै सुम्पिएर
नफर्किने भन्दै गए
अब पजेरो गुड्ने सडक भत्किँदा
बनाउन नआउने भन्दै गए
भोकभन्दा ठूलो झन्डा बोकेर
अब जुलुसमा पनि कहिल्यै
नधाउने भन्दै गए