दिउँसोको चर्को घाम, साइकल कुदाइरहेको थिएँ। चलाउन अप्ठ्यारो भएझैँ लाग्यो। टायरतिर आँखा गयो, पन्चर भइसकेछ।
ल पर्यो फसाद! वरिपरि घर पनि छैनन्, साइकल बनाउने दोकान झन् कता-कता। प्यास उस्तै लागेको छ। झोलामा पानी बोक्ने कुरा सधैँ बिर्सिन्छु।
'चिसो भनेकै कोकाकोला' को विज्ञापन सम्झिँदै थुक घुटुक्क निल्छु। साइकल डोहोर्याउने बाहेक अरु केही उपाय थिएन।
बाटो अघिपछि कोही आइ पो हाल्छन् कि, आँखाले सहारा खोज्यो। बाटो पनि मेरो मनजस्तै सुनसान, अनि मेरो तिर्खा जस्तै प्यासी लाग्यो।
यो एक्लै, बिनाकारण, नपुगेको ठाउँ जाने मेरो इच्छाले निम्त्याएको पल थियो। आफैले आफैलाई गाली गर्न नमिल्ने, अब दोष पो कसलाई दिने?
आधा घण्टाजस्तै एक्लै साइकल डोहोर्याएको, बाटोमा गाडीको आवाज आयो। अलिकति आश पलायो।
गाडी नजिकै पुगेपछि हात हल्लाएँ, ड्राइभरले पनि हर्न बजायो र नरोकी गयो। अब गाली गर्ने बहाना भेटेँ।
ड्राइभरलाई गाली गर्दै के हिँड्दै थिएँ, पछाडिबाट आएको स्कुटी टक्क रोकियो। हेल्मेट निकालेर कालो चस्मा खोल्दै स्कुटी वाली नानीले सोधिन्, 'दाइ, कहाँसम्म? केही सहयोग चाहियो कि?'
मन पनि २-३ खाले भइदियो एकैचोटि। एक मनले अघिसम्म गाली गरेको ड्राइभरलाई नरोकेकोमा धन्यवाद दियो। अर्को मन, यो निर्जन सडकमा कसैको सहयोगको प्रस्तावले प्रफुल्ल भयो।
अनि अर्को मन, पसिनाले निथ्रुक्क भिजेको अनुहार र कपडामा आफूसँग लेडिज साइकल, त्यो पनि पिन्क कलरको अनि उनी स्कुटिवाली, बोल्न नै अप्ठ्यारो लाग्यो।
सायद आवाजविहीन पो सम्झिन् कि? हातले इसारा गर्न थालिन्।
लजाउँदै भनेँ, 'म बोल्न सक्छु।'
'टाढैबाट आउनु भयो?' उनले सोधिन्।
बोल्न खोज्दा सुख्खा जिब्रोले साथ दिएन। बुझिन् क्यारे। झोलाबाट पानीको बोतल दिँदै भनिन्, 'पानी पिउनुस्, गर्मी निकै बढेको छ।'
चिसो पानी घुट्क्याएपछि बल्ल बोली फुट्यो, 'धन्यवाद हजुर।'
'टाढैबाट आउनु भएको?'
बेलिविस्तारमा सुनाएँ।
'ए नयाँ हुनु हुँदो रहेछ यता। साइकल पनि बिग्रेको रहेछ। अलि पर मेरो घर छ, अप्ठ्यारो नमान्ने भए जाम्। त्यही नजिकै साइकल बनाउने ठाउँ छ। बनाएर जानुहोला।'
उनको घर त्यहाँबाट अलि टाढै रहेछ। चल्ने स्कुटर, नचल्ने साइकल। सँगै हिँड्न झन् अप्ठ्यारो।
'हजुर जाँदै गर्नुस्, म डोर्याउँदै आउछु,' मुख फोरेँ।
'किन एक्लै दुख पाउनुहुन्छ, अलिकति दुख म पनि साटुम्। म पनि डोहोर्याउँछु' भन्दै स्कुटी डोहोर्याउन अघि सरिन्।
दुवैले डोहोर्याउने बाहेक अरु विकल्पहरु पनि थिए। किन-किन सोच्नै मन लागेन।
दुई कदमसँगै हिडौँ फेरि कसले भन्ला, यसरी नै फेरि को पो भेट होला लाग्यो अनि लाग्यौँ दुवै जना उनैको घर तिर।
'भाउजूको साइकल हो?' प्रश्न थियो उनको।
अरु नै केहीबाट कुरा सुरु गर्या भए पनि हुन्थ्यो लाग्यो। भाउजू/बुहारी जस्ता शब्द लिएर कसैले प्रश्न नगरे हुन्थ्यो जहिले लाग्छ।
बिहा भन्ने कुराबाट सधैँ भागिहिँडेका म जस्तालाई यस्ता प्रश्नले कति अप्ठ्यारो पार्दो हो, म बुझ्न सक्छु।
पानी, सँगै हिडेर जस्ता गुन लगाइसकेकी छन्। मुस्कुराएरै जवाफ दिएँ 'हैन नि, भान्जीको साइकल हो।'
'ए' यति मात्रै भनिन्।
खै के सोचिन्, एउटा साइकल पनि मागेर चलाउने केटो पो रहेछ पो लाग्यो कि।
'यसरी घुम्न हिँड्दा भाउजू पनि हुनुभएको भए पो रमाइलो हुन्थ्यो होला त?'
खै कहाँबाट आउँछन् यस्ता प्रश्नहरु, यो बाहेकको अरु कुनै प्रश्नै थिएनन् होला र!
मेस्सी, रोनाल्डो, फेडेरर-डिजोकोभिक, कोरोना, इलोन मस्कदेखि मोदी-ओलीसम्मका कुरा भए म कति रमाउँदै जवाफ दिन्थेँ होला। जवाफ के दिउँ सोच्नै सकिनँ।
'भाउजू जन्मेदेखि माइतमै छिन्। यो जन्ममा लिन गइनँ। अर्को जन्म फेरि भए ७-८ पढ्दैमा भगाउने हो,' बोल्दैमा के नै पो जानेवाला थियो र! एकै सासमा भनी भ्याएँ।
खै के सोचिन्, तलदेखि माथिसम्म हेरिन्।
पुरानो जुत्ता, मैलो जिन्स, मैलो नदेखिने टि-सर्ट, अनि फुलेको दाह्री-कपाल।
'बिहे नगर्नु भएको ठिकै भएछ,' खै के लाग्यो उनलाई, के सोचेर भनिन्!
कोही भेटेँ जसलाई ठिक भयो भन्ने लाग्यो, अनि मनमनै बुरुक्क उफ्रिएँ।
'जिन्दगी यसरी नै बिताउने अब?,' कति सजिलै कति गह्रुंगो प्रश्न सोधिन्।
मलाई प्रश्नहरुदेखि धेरै डर लाग्छ। प्रश्नले चित्तबुझ्दो उत्तर खोज्छ। जवाफ पनि अब पास हुने हिसाबले दिनुपर्यो। परीक्षाका प्रश्नहरु भइदिए त जेनतेन लम्बाएर दिन हुन्थ्यो, यहाँ त जिन्दगीकै प्रश्न छ।
सोधेकी छन् 'जिन्दगी यसरी नै बिताउने अब?' अब के भनूँ।
कहाँ टुंगिने भर नभएको यो नाथे जिन्दगी किन यति गम्भीर विषय हो भन्ने लाग्छ सधैँ। 'सधैँ हावा भएर चल्छ' भन्ने मिल्ने साथीको प्रश्न र चिन्दै नचिनेकी उनको प्रश्न एकै खाले लाग्यो।
म आजमा, अहिलेमा रमाउन खोज्छु। यो पल बाचौँ, अहिलेलाई टारौँ, अहिले खुसी हुने बहाना खोजौँ, भोलि देखाजाला भन्ने सोच आउँछ जहिल्यै।
मेरो सोच, मैले बाच्ने तरिका, मैले जिन्दगी बुझ्ने तरिकालाई अरुले मेरै नजरले नहेर्लान। हेर्न पनि किन पर्यो? म-मेरो भागको जिन्दगी जिउन जन्मेको मान्छे। अरुलाई असर नपर्ने गरी, आफ्नै तरिकाले जिउन, सोच्न, बुझ्न किन नपाउनू!
म किन अरु जस्तै हुनुपर्यो? सबैको नजरमा ठिक हुन पनि त सकिँदैन। अरु सबै जस्तै आफू बन्न पनि त सकिँदैन। लु खत्तम। धेरै नसोचौँ भन्छु आफैले-आफैलाई। तर ठिक उल्टो कति धेरै कुरा पो आए मनमा।
'निकै गम्भीर पो हुनुभयो। मैले त बाटो काट्न सजिलोको लागि पो प्रश्न गरेको, धेरै नसोच्नुस्,' मेरो मौनतालाई उनैले चिरिन्।
'हैन, त्यस्तो होइन। चिन्दै नचिनिकनै हामी जिन्दगीको प्रश्न गर्दैछौँ,' भनेर टारेँ।
'ला सरी, मेरो नाम स्नेहा। घर यही नजिकै। ब्याचलरसम्म पढेँ अनि अहिले काम मात्रै गर्छु। अनि हजुर?' फेरि प्रश्न उनको।
यो प्रश्न टार्न मन लागेन। नाम अरुले नै राखिदिएका छन्। पढाइको परीक्षा जेनतेन गरेर पास गरिएकै थियो। अब भन्नू मात्रै न हो।
'म रविन्द्र। घर भरतपुर।'
किन-किन पढाइ र काम बारे भन्न मन लागेन। बेरोजगार इन्जिनियरको रामकहानी के सुनाइहाल्नु।
'के गर्नुहुन्छ नि?'
सायद उनले अघिल्लो प्रश्नको पूरा जवाफ खोजेकी थिइन्।
'बाहिर थिएँ। ३-४ महिनादेखि यही साइकलसँगै चितवनको बाटो तिर छु,' सजिलो उत्तर छानेँ यसपालि।
'ए।'
सायद अपेक्षित जवाफ थिएन उनको।
'पढ्न जानु भएको कि काम गर्न?'
अब चाहिँ फसेँ। चर्को घामले भन्दा यो प्रश्नले पो पोल्यो। ए नाथे जिन्दगी, के-के गराइस् हँ तैले! सजिलै भइदिएको भए जिन्दगी, सबै प्रश्नका उत्तर सजिलै हुन्थे दिन।
अलिकति भिन्नै छु म। आफूले सिधा उत्तर दिन नसके, कुरा मोड्ने गर्छु। आफ्नो जीवन अरुको जस्तो सामान्य नभएपछि, धेरै कुरा सोचेर-सम्झेर बोल्नुपर्ने कुरा सधैँ पीडादायक लाग्छ।
बेलामा बुद्धि बिगारियो, बाटो बिराइयो। अब चाहेर पनि त्यो नभएको त बनाउन सक्दिनँ। आफ्नो गल्तीको कारण, अहिले जुन मोडमा छु, त्यो त भोग्नु नै छ।
साथी भेट हुन्छन्, सामान्य बाटो नबिराएका, बुद्धि नबिगारेका। उनीहरु जस्तै हुन मन लाग्छ। उनीहरुले मलाई आफू जस्तै सोचून् लाग्छ। मेरो बारे थाहा पाए तिरस्कार पो गर्छन् कि भन्ने डर सधैँ हुँदो रहेछ।
अनि धेरै कुरा लुकाउनु पर्दो रहेछ, धेरैसँग लुक्नुपर्ने हुँदो रहेछ। आफू खुसी हुने बहानामा, आफू अरु जस्तै बन्ने चाहनामा झुटै-झुटको संसार नै उभ्याएको रहेछु। झुटो सन्सार निकै बोझिलो। निस्किनु मन छ यसबाट। त्यसैले झुटो बोल्न चाहिनँ उनीसँग।
भनेँ- 'भिसा त पढ्ने थियो।'
'किन पढाइ सिध्याउनु भएन र?,' उनी अझै जान्न चाहन्थिन्।
'सकेँ त्यो त। सोचे जस्तो चाहिँ भएन,' पीडा न हो, आखिर सुनिदिने मान्छे भए आफै पोखिन्छ।
'त्यो त हो, त्यसैले म विदेश नगएको,' आखिर विदेशिने चाह उनको पनि रहेछ।
'कुन देश जानु भएको नि?'
'जर्मनी।'
'ए त्यो अडी को देश है?'
'हो,' भन्दै टाउको हल्लाएँ।
'एउटा अडी ल्याउनुपर्थ्यो नि आउँदा,' हाँस्दै भनिन्।
उनी तिर सिधैँ हेर्न सकिनँ। झुकेर डोहोर्याइरहेको साइकल तिर हेरेँ। सजीव हुँदो हो त साइकल खित्का छोडेर हाँस्ने थियो।
एकोहोरो उत्तर कति दिनु भन्दै प्रश्न गरेँ, 'कहाँ गएर फर्किँदै थियौ?'
'घरमा बिहेको लागि भनेर कुरा चलेको थियो। केटा भेटेर फर्केको।'
'ए' यति मात्रै निस्कियो मुखबाट।
'अनि कस्तो लाग्यो त केटा?', सोध्नु हुन्थ्यो कि हुन्थेन कुन्नी, मुखबाट निस्किहाल्यो।
'केटा ठिकै रहेछ। अष्ट्रेलियाको पिआरवाला। उता 'अडी' चढ्छ रे।'
अडीको कुरा त्यहाँबाट जोडेकी रहिछन् अघि, बल्ल बुझेँ।
'अनि के सोच्यौ त?'
'खै, दोधारमा छु। जिन्दगी अडी जस्ता ब्रान्डकै नाम सुनाएरै वाक्क पार्ने पो होकि।
मलाई त माया गर्ने होस्, बरु साइकल नै चढ्ने होस् भन्ने लाग्छ।'
म अनि मैले डोहोर्याउँदै गरेको लेडिज साइकल यहाँ जोडिनु थियो कि नाई त्यो सोच्न तिर लागिनँ। उल्टै सोधेँ, 'साइकल पनि अरुसँग मागेर चलाउने वालाको कुरा आए के भन्छौ नि?'
'पैदल नै हिँड्ने होस् बरु, तर सिद्ध बाबा, बाबा राम रहिम, आशाराम बापु अनि तपाईं जस्ता ढोंगी नहोउन्, यति कामना छ,' रिसाए जसरी भनिन्।
अनि मलाई एक्लै छोडी स्कुटी स्टार्ट गरेर हिँडिन्।
बोल्न नजान्दा, बोलीमा लगाम लगाउन नसक्दा, नसोची प्वाक्क बोल्दा पाएका धेरै दुखमा अर्को एउटा दुख थपिएको थियो। झन् बढी दुख लाग्यो ढोङ्गी भनेकोमा। अझ बढी दुख लाग्यो सिद्ध बाबा, बाबा राम रहिम, आशाराम बापु जस्तै मलाई देखेकोमा।
उनीहरु त भगवान कहलिएर, काण्ड मच्चाएर, बदनाम भएकाहरु थिए। म बबुरो सामान्य मान्छे, बोल्दा नसम्हालिएको मात्रै न हो। कसरी एकै भयौँ, सोच्नै सकिनँ। अघिसम्म यही यात्रा रमाइलो लाग्दै थियो। पोल्ने घाम अघि पनि थियो, बल्ल पोलेको अनुभव भयो।
पसिनाका धारा सम्झिएर फर्केका रहेछन्। त्यो सडक अनि मेरो मन फेरि रित्तिएको थियो। जिन्दगीलाई फर्काएर पछाडि लैजान मिल्ने भए 'साइकल पनि अरुसँग मागेर चलाउने केटाको कुरा आयो भने नि' नभनेको बनाउन मन थियो।
कुरा त्यसैले बिगारेको थियो।
अलि अगाडि बिहे जस्ता कुराबाट भाग्ने, भाउजू अर्को जन्ममा जस्ता ठुला-ठुला कुरा गर्ने अनि मौका पायो कि जिस्किन तम्सिहाल्ने मेरो बानी देखेर सायद ढोङ्गी भनिन् मलाई।
जति जति म आफूलाई अरुको नजरबाट हेर्छु, त्यति बढी आफूले आफैलाई घृणा गर्न थाल्छु। आफैले निम्त्याएको दुख थियो। भोग्नु त पर्यो नै। माया त्यही साइकलकै लाग्यो।
पछिल्लो ३-४ महिनादेखिको साथी। विचरा साइकल, आफू बलियो भइन्जेल मलाई बोकेर हिँड्छ। हामीले धेरै यात्रा सँगसँगै गर्यौं। जहाँ छोड्छु, उहीँ कुरिबस्छ नआइन्जेल, उनले जसरी छोडेर जाँदैन। रिसाउँदैन, फकाउनु पनि पर्दैन।
साथ होस् त साइकलको जस्तो सोच्दै अगाडि के बढ्दै थिएँ, अलि अगाडि घरहरु देखिन थाले। सायद उनैको गाउँ थियो।
साइकल बनाउन पाए फेरि यस्तो यात्रामा निस्किदिनँ के सोच्दै थिएँ, अगाडिबाट उनै स्कुटीमा आइरहेको देखेँ। सबै छोडेर गएकाहरु फर्केर आउँदैनन्। केही आउँछन्, किन आउँछन् भन्ने उनैमा भरपर्छ।
कोही सम्झौता गर्न आउँछन्, कोही हिसाब-किताब लिन आउँछन्, कोही खिस्याउन आउँछन्, कोही गल्ती गरिएछ सम्झी आउँछन्, कोही म नहुँदा कस्तो चल्दैछ यस्को जीवन भन्दै हेर्न आउँछन्।
खै के सोचेर आइन्, उनी नै जानून्।
नजिकै आएर स्कुटी रोक्दै भनिन्, 'तपाईं मान्छे फटाहा हो, तर एक्लै यस्तो अवस्थामा छोड्न सकिनँ र फर्केर आएँ।'
लज्जित हुँदै माफी मागेँ।
'घरमा हेरेको, तुरुन्तै खान मिल्ने यही केरा मात्रै रहेछ। ल खानुस्,' भन्दै अगाडि बढाइन्।
मैले त्यो केरामा चौरासी व्यन्जन देखेँ। उनीमा मायाको खानी। अष्ट्रेलियन पिआरवालामा 'रावण' देखेँ। उनीलाई 'सीता' मानेँ। साइकलमा 'भरत' देखेँ। फुले-आफैलाई 'राम' सोच्न थालेँ।
'ए फटाहा मान्छे, के सोच्न थाल्नु भयो?'
म दिउँसै कलियुगको 'रामायण' को सपनामा पो अल्झेछु।
'हैन, केही हैन,' भन्दै कुरा लुकाएँ।
केरा मिठो थियो। भोकमा यसै मिठो, झन् ढोङ्गी-फटाहा भन्दै दिँदा झन् मिठो लाग्यो।
'घर अब त्यति टाढा छैन। नढाँटिकन सुनाउने भए एउटा कुरा सोधौँ?'
'सोध न।'
'नढाँटी भन्नुस् त, कोही कहिल्यै मन परेन? कसैसँग जिन्दगी बिताउँ झैँ लागेन?'
उफ्! कस्तो प्रश्न।
जवाफ नदिऊ त, सोध न भनिसकेको छु। झुटो बोल्न मन छैन। जवाफ दिऊ त, बिर्सिसकेको अतीत बल्झिने वाला छ।
'आँखाले धेरैलाई रोज्यो। आँखाको बाटो हुँदै केही मनसम्म पनि पुगे। ती केही मध्य निकै खास पनि भए कोही। मनमा बसेको मान्छे, सधैँ रहिरहोस् लाग्दो रहेछ। मनले मनपराएको मान्छे सधैँ खुसी-सुखी होस् लाग्दो रहेछ।
आफू दुखी। कर्मै दुखी। सुख कही-कतैबाट जीवनमा झुल्केला लागेन। मनमा राखेकीलाई, दुखी जीवनमा निम्त्याएर दुख दिन भित्री मनले मानेन। नचाहेरै टाढा भएँ। धोकेबाज जस्ता उपमा लिएर एक्लिएँ। त्यही हो,' नचाहँदा नचाहँदै पनि सुनाउन बाध्य भएँ।
'जीवनमा सुख पाउँला भन्ने लागेको भए बिहे गर्नुहुन्थ्यो उहाँसँग?'
'सुख दिन सक्ने लागेको भए अपहरण नै गरेर ल्याउने थिएँ नमाने पनि। अहिले त अरु कसैसँग बिहे गरिनँ, फेसबुकभरि खोज्छु, खुसी देख्छु उनीहरुलाई। अनि त्यसैमा खुसी मान्छु। जीवन यस्तै रहेछ।'
'उफ् फटाहा मान्छे, भनि हेरेर मानेको भए दुवैले दुख गर्दा सुख पो भित्रिन्थ्यो कि? के थाहा, दुखै भएपनि तपाईसँगै उहाँले जीवन पो बिताउनु हुन्थ्यो कि? भन्नु त पर्छ,' गाली गर्न थालिन्।
'माया-प्रेम, मिठा कुराले मात्रै संसार चल्दैन नि। आज १ किलो माया पकाउँ भनेर हुँदैन। आफ्नै ज्यान पाल्न नसक्नेले, अर्काको जिम्मा कसरी लिनु?' मनमा गुम्सेका कुरा ओकले।
खै के बुझिन्, अघिको लागि 'सरी' भनिन्। फेरि प्रश्न गरिन्, 'मनबाट निकाली सक्नुभयो उहाँलाई अहिले?'
'मन भाडामा दिन राखेको कोठा झैँ नहुने रहेछ। तिता-मिठा याद छन् त्यहाँ। सजिलो कहाँ छ र?'
'उफ् देवदास, फिल्म निकै हेर्नुहुन्छ हो? निकै फिल्मी हुनुहुँदो रहेछ, फिल्मी डाइलगले सधैँ चल्छ?' हकारिन्।
'अडीको सुख छोडी, साइकलवालासँग बीच सडकमा, माया-प्रेमका कुरामा फस्दैछौ, मलाई फिल्मी तिमी लाग्यो,' रोक्न खोज्दा खोज्दै निस्किए मुखबाट।
'ल भइगो, हामी दुवै फिल्मी,' उनी कुरा टुङ्ग्याउन तिर लागिन्। म विजयी भावमा मुस्कुराएँ।
गाउँको साइकल बनाउने पसलसम्म पुर्याएर उनको केही अर्जेन्ट काम भन्दै, नम्बर साटासाट गरी हामी छुट्टियौँ। छुट्नु-भेट्नु जीवनको रित न हो। सबैसँग, सधैँ यात्रा सम्भव नै कहाँ छ र!
यो छुटाई केही खास थिएन। भेटाई पनि संयोग नै थियो।
घर फर्किँदा ढिलो भइसकेको थियो। थकित शरीर, कुनबेला निदायो पत्तै भएन। ब्युझिँदा, मोबाइलमा उनैको मेसेज रहेछ। लेखेकी थिइन्, 'फटाहा मान्छे, म अडिवालासँगै बिहे गर्ने भएँ। रातभरि सोचेर निर्णय गरेँ।'
'ल बधाइ छ,' लेख्न त्यति मात्रै आयो।
म यहाँ दुखी हुनुपर्ने कारण केही थिएन। सहयोग गरेकी थिइन्, भलो नै चाहन्थेँ म उनको।
दिनभरि व्यस्त जस्तै भएँ। खाली दिमागले हो कुरा खेल्ने मनमा। धेरै केही नसोच्न, आफैलाई झन् व्यस्त बनाएँ। बेलुकीपख मोबाइलले मेसेज आएको संकेत गर्यो। हेरेको उनैको रहेछ।
लेखेकी थिइन्, 'फटाहा मान्छे, अडीवालासँग पनि तिम्रो जस्तै साइकल रहेछ।'
यो मेसेज किन थियो मलाई बुझ्न सकिनँ। के भन्न खोजेकी थिइन् कुन्नी? सबै कुरामा उल्टो अर्थ खोज्न माहिर छु। यहाँ पनि त्यस्तै भयो।
साइकल पनि मागेर चलाउने मान्छे म, अनि ऊ अडीवाला। तुलना पो गरिन् कि? गर्नु पो किन फेरि? या मेरै साइकल मनपरेको थियो? या केटोलाई, 'मलाई अडीमा भन्दा साइकलमा हिँड्नेहरु मनपर्छ,' भनिन् र जवाफमा उसले साइकल भएको कुरा बतायो।
मनमा धेरै कुरा खेले। संसारको सबैभन्दा ठूलो खेल मैदान त 'मन' हो। मनमा जति 'कुरा'ले खेल खेले, त्योभन्दा बढी त कहाँ खेलिएको होला र?
मोबाइल निकालेँ अनि टाइप गरेँ, 'मेरो जस्तै साइकल किन खोज्या नि फेरि? मेरो जस्तै साइकल त धेरै पाइएलान्, तर त्यो चलाउने 'म' जस्तै सायदै कोही।'
'ए फटाहा मान्छे, कति धेरै सोच्या के। मैले त्यस्तो केही सोचेर भनेको हैन। पिन्क कलरको लेडिज साइकलमा हिँड्न नलजाउने मान्छेको कुरा गर्ने तरिका मन पर्यो। कति मिठो कुरा गर्ने तपाईं।
सबै साइकल चलाउने यस्तै स्वभावका हुन्छन् होला भनेर अडीवालासँग साइकल छ कि नाई भनेर सोधेको, त्यही भएर लेखेको।'
मेरो मेसेजको लामो जवाफ आएको रहेछ। मानिस सधैँ प्रशंसाको भोको रहन्छ। कसैले आफ्नो बारेमा राम्रो भनिदेओस् भनी चाहान्छ। कसैसँग नजिक हुनु छ भने उसको प्रसंशा गर्न थाल्नुस्, ऊ आफै हजुरको नजिक हुन्छ।
आखिर म पनि उहीँ सामान्य मानिस। मेसेजमा आएको प्रसंशाले बुरुक्क उफ्रिएँ। केही जवाफमा लेख्नु नै थियो, टाइप गरेँ- 'पैदल यात्री अझ भनौँ खुट्टामा जुत्ता-चप्पल पनि नभएकाहरुको कुरा सुन्नु, उनीहरुका कुरा अझ मिठा, उनीहरुका कुरा गर्ने तरिका झन मिठा।'
लेख्नकै निम्ती, कुरै गर्ने कुराको निम्ती, एकछिन राम्रो बनिदिन, एकछिन मिठो बोलिदिन के नै पो जान्थ्यो र। सधैसँगै भए, सम्बन्ध बिग्रिने हो। आफ्नै रगतको नातासाग सँधियार भएर बस्नुस्, उस्तै परे बोलचाल नै नहोला।
भिन्न सहरमा बस्नुस्, कहिलेकाहीँ भेट हुँदा, त्यहाँ जस्तो आत्मियता कतै देखिँदैन। उनीसँग मलाई जीवन बिताउनु थिएन। बाटोमा सहयोग गरेकीसँग मिठै बोलिदिएँ।
उनलाई मेरो त्यही बानी मन परेछ। मेरो नराम्रो आनिबानी थाहा भएकालाई सोध्ने हो भने फेरि म जस्तो बदमास पनि कोही होला र भनेर सुनाउलान्। जसले जस्तो रुपमा भेट्यो मलाई, उसले उस्तै जान्यो मलाई।
उफ्, धेरै नै पो मख्ख परेछु। धेरै तारिफ अनि धेरै गाली, सहन नसकिने रहेछ सजिलै। मख्ख पर्दा अनुहार खुल्छ, ओठमा मुस्कान छाउछ भन्थे। होकि त भन्दै मोबाइलको क्यामरा अनुहार तिर तेर्साउन के उठाएको थिएँ, मेसेजको टोनले झस्कायो।
हेरेको, उनैको रहेछ। लेखेकी थिइन्- 'तपाईंसँग ढिलो भेट भयो, हामी धेरै पहिले भेटिनु पर्ने...।'
मसँग ढिलो भेट भयो रे! हामी पहिले नै भेटिनुपर्ने थियो रे! चाडो भनेको कहिले अब? सानोमा छिमेकी भएर बेहुला-बेहुली भएर खेल्ने बेला तिरको कि? या स्कुल पढ्दाताका? या कलेज तिर? कि कहिले प्रस्ट पारिनन्।
प्रष्ट नभनिएको कुरालाई आफू अनुकूल मिलाएर बुझेर मख्ख हुने बानी छ मेरो। छिमेकी हुनुपर्थ्यो उनी मेरो। बजार आउँदा-जाँदा उनकै स्कुटरमा लिफ्ट माग्थेँ। मेरो भाडाको पैसा सबै बच्ने रहेछ हेर।
'कुरा बुझिनँ नि। हामी पहिले भेट भएको के हुन्थ्यो?,' सोधेँ।
'केही हुन्थेन। भयो छोडिदिनुस् यो कुरा।'
'अडी वालाको कसम भन्नै पर्छ अब,' सजिलो हतियार अडीवाला जो भेटेको छु।
'मलाई तपाईं जस्तै मान्छे मनपर्छ। मलाई तपाईसाग प्रेम हुने थियो।'
'त्यसो भए त पहिले भेट नभएकै ठिक भएछ।'
'किन नि?'
'दुख पाउँथ्यौ। म तिमिलाई सिड्नी ओपेरा हाउसतिर लैजान सक्दिनँ थिएँ।
डार्लिङ हार्बर, बोन्ड बिच जस्ता नामहरु तिमीले फिल्म या किताब तिर मात्रै सुन्न पाउथ्यौ। अडी हैन, जीवनसँग औडाहा हुन्थ्यो तिम्रो।'
'म जे छ, त्यसैमा खुसी हुन्छु भनेको भए?'
हे भगवान यो के आइपर्यो। जिन्दगीले परीक्षा लिइरहन्छ, अहिले लियो कि? या उनी लिइरहेकी छिन्। बुझ्नै सकिनँ। आखिर जसले लिएको होस, परीक्षा म दिइरहेको थिएँ। पास-फेल जे भएपनि असर मलाई नै गर्ने थियो।
विवाहको लागि राजी भएकी छिन् अरुसँगै। एकछिन साइकल घिसारिरहेको बेरोजगार केटोले कुरै-कुरामा मख्ख पारिदियो भनेर 'किन पहिले भेटिएनौँ हामी' भन्दै गुनासो गरिरहेकी छन्।
मलाई उनी धेरै सोझी लाग्यो। उनीसँग धेरै कुराकानी गर्नु उचित लागेन। अडीवालाको लागि अन्याय हुन जान्थ्यो। विचरा उसले कति सपना देखिसक्यो होला।
बाली, सान्टोरिनी, बोरा बोरा या यस्तै केही भन्दै सोचिरहेको होला, उसलाई दुखी बनाउन मन लागेन। गल्ती नगर्नेले सजाय पाउनु हुँदैन, मलाई जहिले त्यही लाग्छ। उनको कुराले हामी तीनै जना दुखी बनाउने कुरा थियो।
म मान्छे दुखी, कर्मै दुखी वाला, भइरहेका दुख नै काफी छन् अहिलेलाई। अरु दुखी हुने कारण निम्त्याउन चाहिनँ। अरुलाई पनि दुख दिन चाहिनँ।
'सधैँ खुसी रहनू' भन्दै मेसेज गरेर मोबाइलबाट सुटुक्क उनको नम्बर ब्लक गरिदिएँ।