थाहा नै नपाई, म त पानी जस्तै भएछु
जीवनको उतार-चडावसँगै
म त खोला जस्तै बगेछु।
प्राप्तिको अभिमानले आकाश छुन पुगेको थिएँ
वर्षातको पानी बनि झरिसकेछु।
घमन्डको ढिस्को बनेर हिउझैँ,
दुई हिमालबीच अरट्ठिएर बसेको थिएँ
म त हिमनदी बनि बगिसकेछु।
सुन्दरताको धाकमा गर्व गरी हिँड्थेँ
आँखाको चाउरी च्यात्दै बग्ने म त आँसु भएछु
विद्वताको बल देखाई, दोस्रालाई हेपेर हिँड्दथेँ
म त थाहा नै नपाई एक्लिसकेको रहेछु
एकान्त जंगलबीच बग्ने नदी झैँ।
धनको धाकमा म धम्काएर हिँड्थेँ,
म त धमिलो पानीको कुन्डमा ढुबुल्केको रहेछु
जस्ताको संगत गर्यो, त्यस्तै बग्ने बाध्यतामा म,
निराकर पानी, आकारमा अडेको रहेछु।
थाहै नपाई, म त पानी भएछु,
अभिमान छोडेछु, काम क्रोध छोडेछु।
जीवनको उतार-चडावसँगै,
म त गंगा जल पो बनेछु।
जुन मूलबाट उत्पन्न भएँ,
त्यही मूलमा मिल्न पर्खिरहेछु
म त पानी पो भएछु, न स्वर शरीर चिनेछु,
म निराकार पानी आकारमा अडेको रहेछु।