(पाकिस्तान र भारत दुवै देशमा उत्तिकै प्रसिद्ध कवि फैज अहमद फैजले सन् १९७९ मा लेखेको 'हम देखेंगे, लाजिम है कि हम भी देखेंगे' शीर्षकको कविता 'प्रतीक्षाको त्यो दिन अवश्य आउने' आशाको उद्घोष हो। हरेक किसिमको अन्यायविरूद्ध क्रान्तिको शंखनाद हो।
प्रतिरोधको आवाज बनिसकेको यो कविता भारतका थुप्रै क्षेत्रीय भाषामा अनुवाद भइसकेको छ। यसले सयौं गायकहरूको स्वर पाइसकेको छ।
त्यो महान कवितालाई जस्ताको तस्तै अनुवाद गर्ने धृष्टता गर्न त म सक्दिनँ। तर कविताले दिमागमा हलचल मच्चाउन थालेको चेतनाको प्रथम प्रहरदेखि नै मनमा गढेर रहेको त्यो सिर्जनाको नेपालीकरण गर्ने इच्छा भने सधैं नै रहिरह्यो। प्रस्तुत छ, त्यही रचनाको केही अंशमा आधारित नेपाली रूपान्तरण-
त्यो दिन हामी देख्नेछौं
स्वयं विधिले लेखेको
विधानमै त्यो दिनको वाचा छ
त्यो दिन हामी देख्नेछौं
निश्चित छ, हामी देख्नेछौं
जब शोषण, दमनको अग्लो पहाड
उडेर जाने छ भुवा सरी
हामी शासित-प्रजाको पाइला मुनि
धड्किन्छ यो धरती हलचल गरी
र, सत्तासीनको शिरमाथि
जब गर्जिन्छ आकाश चट्याङ परी
हामी देख्नेछौं,
निश्चित छ, हामी देख्नेछौं
श्रीपेच तिनको त्यो दिन
सुनसान सडकमा फ्याँकिने छ
उन्मत्त गर्वको सिंहासन
टुक्राटुक्रा भई भाँचिने छ
जागेर जनता त्यो दिन
दरबार तिनको भत्किने छ
हामी देख्नेछौं,
निश्चित छ, हामी देख्नेछौं
ईश्वर स्वयंलाई ठान्नेहरू
जब छाडेर भाग्नेछन् त्यो आसन
बस्नेछन् त्यसमा मान्छे असल
जसले युगौं सहेका थिए उत्पीडन
आउने छ सत्ता तिनै प्रजाको
जो तिमी पनि हौ, म पनि
हुनेछ सृष्टि फेरि नयाँ
त्यो तिम्रो हुनेछ, अनि मेरो पनि
हामी देख्नेछौं,
त्यो दिन हामी देख्नेछौं
निश्चित छ, हामी पनि देख्नेछौं