अशक्त र आक्रान्त जनजीवन
रोग र भोकको मर्माहत परिबन्धन
अनुस्मृतिमा असङ्ख्य मृत्युका दृश्यहरू बोकेर
हतास समयका पृष्ठभूमिहरू नियाल्दै
नयाँ सालको सङ्घारमा उभिएर
म पल्टाइरहेछु मथिङ्गलबाट समयका इतिहासहरू
समयकै सङ्घारबाट कतै हराएछ इतिहासले
सिमानामा अलिकति देशको माटो
अलिकति स्वाधीनता र केही सार्वभौमिकता
गुमाएछ भेरीले मानवता
र जोखेछ मान्छेलाई असमानताको तराजुमा
संवेदना गुमाएछ
प्रदर्शित गरेछ नश्लिय अहङ्कार
मागेछ नवराज विकहरूसँग प्रेम गर्नुको औकात
इतिहासकै फेहरिस्तमा कर्कश बनेर चिच्याउँछन्
निर्मला, अंगिरा, सम्झना र भागरथी भट्टका
चित्कारहरू
प्रदर्शित हुन्छन् दृश्य चित्र बनेर
नग्न शरीर र रगताम्य यौनाङ्ग
पटक-पटक गरिरहन्छ सिंहदरबार
भुइँमान्छेहरूमाथि सत्ताको अट्टहास
लोकतान्त्रिक मूल्य मान्यताहरूको हत्या गरेर
देखाइरहन्छ शासकले निरङ्कुश हिटलरी नृत्य
राजनीतिमा विचलनको साझेदार
पढिनसक्नु सत्ता र कुर्चीको घृणित खेल
उर्फ नैतिकताविहीन असभ्य प्रदर्शन
समयको पृष्ठभूमिका यी विछिप्त दृश्यहरू उतार्दै
म कल्पमा गर्दैछु
आगन्तुक समयको गर्भमा
इतिहासका विछिप्तताहरूमाथिको निदान
जसले बोल्नेछ रोग र भोकको आवाज
खोज्नेछ सिमानामा देश
पढाउनेछ भेरीमा सद्भावना, समता र मानवता
गर्नेछ सम्बोधन बलात्कृतहरूको उद्गार
युद्ध गर्नेछ समयको गतिशीलतामा मडारिएको यथास्थितिसँग
बन्द गर्नेछ युगलाई हताश पार्ने दुखान्त शोक गीतहरू
बरु गाउनेछ समयको माइक्रोफोनमा
उत्साहित युगसापेक्ष क्रान्तिको सङ्गीत!!