भन्ठानेको थिएँ,
तिमी त त्यहीं छौ, सधैँ झैं
आफ्नै बाटोमा हिँडिरहेकी छौ, हिँडिरहेकी छौ
भन्ठानेको थिएँ,
बाटैबाटो फेरि जम्काभेट हुनेछ
अजम्बरी बाँची रहेछौ तिमी, बाँची रहेछौ
सम्झनामा मेरी आमा,
तिम्रो यादहरु हिजो होइन, आजै जस्तो लाग्छ
अहिले नै भेटेको जस्तो लाग्छ
कर्मशीलताको नमुना बाँचिरह्यौ, बनि रह्यौ
कुरामा खपिस,
अजम्बरी झैं बोल्थ्यौ, हाँसिरह्यौ
पीडा र समस्या सधैँ लुकाई हिँड्यौ।
धेरै सोधेँ तिमीलाई,
तिमीलाई कस्तो छ भनेर
सधैँ सुखी भएको भनि ढाँटिरह्यौ, बहाना बनाइरह्यौ।
अनेकपल्ट देखें तिमीलाई मेरी आमा
पछ्यौराले आँसु पुछेको अँगेनामा बसेर,
धुवाँले पिरो भएको भनि ढाँटिरह्यौ।
किन छक्क्यायौ मलाई?
बिरामी परेका बेला समेत श्रृंगार गरी बस्ने अनि
मुटु काप्दा फेरि तिमी हरि नाम जप्थ्यौ।
अन्तिम दिनमा पनि,
बोल्दा बोल्दै हाँस्दा हाँस्दै,आफ्नै बाटो हिँड्दा हिँड्दै,
एकाएक बोल्नै छोड्यौ, हाँस्नै छोड्यौ,
किन झुक्क्यायौ मलाई?
किन भनेनौ मलाई, फेरि फर्कने छैन भनेर
भन किन? किन भनेनौ सत्य कुरो मलाई? किन?