कक्षा ६ मा एक विषय थियो, अतिरिक्त क्रियाकलाप। आजको अतिरिक्त क्रियाकलापमा वादविवादको पालो थियो। विषय थियो- कलम बलियो कि तरबार?
मैले बोल्नु पर्ने थियो, तरबारभन्दा कलम बलियो। त्यो बेला भनेको सम्झिन्छु- मेरा पूर्ववक्ता साथीले भन्नु भयो, तरबार बलियो भनेर। महोदयलाई हेक्का छैन कि कसो, कलमको तागत कति बलियो हुन्छ भनेर!
कलम चलाउनेको नाम इतिहासका पानाहरुमा लेखिएका छन्। कलमले मुखले भन्न नसकिने मनका कुना-कुना भावहरु सजिलै भन्न सकिन्छ। तरबारले हत्या हिंसाका कुरा गर्छ, कलमले अहिंसा, शान्ति, सम्बृद्धिको कुरा।
त्यो वादविवादमा प्रथम हुँदा मैले सोचेको थिएँ, जीवनमा एक सँच्चा, कुशल, सबैको मन-मस्तिष्कमा बस्ने लेखक बन्छु।
कति सजिलो रहेछ सपना देख्न, पूरा गर्न विपनामा गर्नु पर्ने कसरतहरुले सपना आखिर सपना नै हुन्छ, चाहे पूरा होस् या नहोस्। फेरि सम्झिन्छु आमाले भन्नु भएको- सपना सधैँ ठूलो देख्नु पर्छ। सपनालाई साकार बन्न विपनामा हातका ठेला उठाउनु पर्छ। दिमागलाई कसरत गर्नु पर्छ। जुत्ता फटाउनु पर्छ। सजिलै पाइने सपना किन देख्नु! त्यो त सपना नदेख्दा पनि पाइन्छ।
धन्य मेरी आमा, बचपनदेखि मेरो दिमागमा यो कुरा भरिदिनु भएकोमा। यसै महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका होइनन्- उदेश्य के लिनु उडी छुनु चन्द्र एक।
मैले पनि कोसिस नगरेको होइन लेखक बन्ने, स्कुलदेखि कविता लेख्ने कोसिस गरेँ तर सकिनँ। कुनै विषयमा लेख लेख्न खोजेँ, त्यो पनि सकिनँ। कथाहरु लेख्न कोसिस गरेँ, कलम नै आगाडि बढेन।
मनमा त धेरै कुरा थिए तर लेख्न सक्दिनँ। मुखले बनूँ भन्छु, झन्-झन् मौन हुन्छ। सायद बोल्न झन् गाह्रो होला। होइन होइन, बोल्न होइन बोलेको कुरा अरुलाई प्रभाव पार्न गाह्रो। कोसिस नगरेको होइन मृदुभाषी, आल्पभाषी, बख्कलाको। त्यो प्रयास गरेँ, त्यो पनि असफल भयो।
किताब पढ्ने बानीको विकास गर्छु भनेर किताबका चार पंक्ति पढेपछि झन् औडाहा हुन थाल्छ। त्यसमा पनि विफल भएँ। तर २-४ ओत बुक सकी नसकी पढेको हो। शंकर लामिछाने, लक्ष्मीप्रसाद देवकोटा भूपी सेरचन, सरुभक्तको समेत कोसिस गरेँ।
२-४ ओटा बुक पढेपछि आफूले २-४ जनाको आगाडि गफ दिन जो पर्ने थियो- थाहा छ मैले यो पढेको छु, तैले पढेको छस्? अनि त्यसको समीक्षा यसरी गर्थेँ सायद म नै विज्ञ हुँ।
एउटा पनि बुक नपढेको साथीलाई गफ दिन पाउँदा ठूलो काम गरेको अनुभूति हुन्थ्यो तर कोही बुक पढेको मान्छे पर्यो भने भन्थेँ, अलि अलि पढ्ने कोसिस गरेको छु। कोसिस जारी भन्ने बानी आजसम्म पनि छ।
खैर आमाकाको सपना, मेरो मनको इच्छा पूरा गर्न धेरै कोसिस नगरेको कहाँ हो र? लेखक बन्ने सोचमा कलेजको स्मारिका बनाउने कमिटीको अध्यक्ष समेत भएँ। खोई के प्रेम? नामक एक लेख पनि बल्ल बल्ल लेखेँ।
दैनिकी लेख्ने बानीको विकास गरेँ। आफ्नी प्रेमिकालाई माया लाग्छ भन्न पनि चिठीबाट दिने कोसिस तर असफल। संसारको म नै त्यस्तो मान्छे होला मेरो मनका कुरा लेखमा लेखेर प्रेमपत्र होइन, खुलापत्रमा नाम परिबर्तन गरेर दिएको मोरीले थाहा पाएर बिना कारण सम्बन्ध तोडेको।
काठमाडौँको कफी सप डुलेर कफी खाँदै डायरीमा लेख्ने कोसिस गरेको। केही डायरी साथीलाई देखौँदा- 'वा, वा, वा, सुबिन तँ त लेख्ने भइछस्। वा, वा, वा' को गुन्जयामान हुँदा ठुलै लेखक भएँ भन्दै मख्ख परेका ती दिन, विदेशी भूमिमा आएर अब विदेशी कहानी र देश प्रेम लेख्छु भनेर यो मन त मेरो नेपाली हो भनि लेख लेखि एभरेस्ट पत्रिकामा छापेको।
होइन, लेख त ठुलै अनलाइन पोर्टलमा छाप्नु पर्छ भन्ने लागेर बसन्त बस्नेतलाई सकेसम्मको बिन्ती घसेर शिलापत्रमा जीवन हाँसीखुसी जिउन सकिने कला छापेको, र नेपालका प्रसिद्ध लेखक खगेन्द्र संग्रौलालाई संग्रौलाजी, तपाईंले चाबहिल बसेर पाँचथरको चिन्ता गर्न हुने, हामीले विदेशबाट नेपालको गर्न नहुने? लेख्ने दुस्प्रयास गरेको।
सेतोपाटीलाई म को हुँ? छाप्न दिएको, ई-कान्तिपुर, ओनलाइन खबरलाई गुहार मागेको। सायद मलाई लेख्न आउँदैनथ्यो, कोसिस थियो तर सीमित मात्र। सायद लेख्थेँ तर पाठकसम्म पुगेको थिएन। सायद पुगेको थियो तर मन परेको थिएन।
कसैले वा, वा खरेलजी वा, वा भनेर ताली बजाएको थिएन। सामाजिक संजालमा ताली कम गालीवादी आएको थियो। गाली सहन सक्ने सामर्थ्य थिएन, सायद शब्दहरु चिन्न सकेको थिएन।
सायद म लेखक हुन जन्मेको नै होइन। सायद शब्द धरै मन मर्न लागेको थियो। सायद लेखक भनेको सबैलाई लक्ष्मीप्रसाद जस्तो चाहिएको छ। लक्ष्मीप्रसाद भने पनि मान्छेहरुलाई अरु रचना होइन, मुना-मदन मात्र पढेर लक्ष्मीप्रसादको गुनगान गाउने धेरै भेटेको छु।
शंकर लामिछाने जस्तो लेखक चाहिएको छ एब्स्ट्राक्ट चिन्तन: प्याज जस्तो सोचका निबन्धहरु चाहिनु।
म पनि कस्तो मूर्ख छु है! शंकर लामिछाने, लक्ष्मीप्रसाद जस्ता होनहार सर्जक जस्तो हुन कोसिस गरेको। हो, सायद मेरो यो जीवनको ठूलो गल्ती हो वा बेवकुफ यो मलाई नै थाहा छैन। विचारी मेरी आमालाई के थाहा होला!
तर म कहिले काहीँ यो पनि सायद लक्ष्मीप्रसाद प्रसाद देवकोटा, शंकर लामिछाने, भूपी सेरचन, माधवप्रसाद घिमिरे, लेखनाथ पौडेल, खगेन्द्र संग्रौला लेखक नभएका भए के हुन्थे होला?
के तिनीहरु लेखक बन्ने सोच भएर लेखक भएका हुन् अथवा लेख्न थालेर लेखक भएका हुन्। अथवा लेख्नको लागि नै जन्म भएको हो। सोच्ने गर्छु सायद, सबैजना लेखक नभएका भए के हुन्थे होला है! ह्या म मूर्ख के-के सोचू? हुन त मूर्खको नै काम हो सोच्ने सोच्ने अनि फेरि सोच्ने। केही नसोच्ने भन्ने फेरि सोच्ने, सोच्ने।
ये मूर्ख भो नसोच भन्छ कहिले काहीँ मनले दिमागलाई। हो मूर्ख हुन्छ दिमाख, तर मेरो दिमाग मात्र होइन, मन पनि मूर्ख हुन्छ। कहिले काहीँ दुवै मूर्ख अनि बालापन आउँछ।
आउँछ होइन, धेरैचोटि भाको पनि छ। यसै मामुले भन्नु भएको होइन होला, तँ मूर्ख होस् लेख्ने कोसिस गर्दैनस् अनि कहाँ हुन्छस् त लेखक!
हो है, कति फरक छ 'सायद' भनिने कुरामा। विजय कुमार पत्रकार नभएको भए के हुन्थे होला? विजय लामा पाइलट नभएको भए के हुन्थ्ये होला? केपी शर्मा ओली राजनीतिमा नलागेको भए के हुन्थे होला? सूर्य पश्चिमबाट उदाएको भए के हुन्थ्यो होला सायद?
सबै कुराहरु यो नभएको भए के हुन्थ्यो होला भनेर सायद जो कहेले पनि कल्पना गर्न पनि गाह्रो हुन्छ तर यदि म यो भएको भएँ भन्दा यो गर्थेँ, उसो गर्थेँ, भन्थेँ होलान्। सायद यो मेरो मनको मात्र सोच हो।
तर यदि म लेखक भएको भएँ, मेरा मनका सबै भावहरु कलमबाट पोक्थेँ होला। सब कुरा शब्द त म मेरो बाबालाई कति मिस गर्छु भनेर लेख्थेँ होला, मेरी आमालाई कति माया गर्छु भन्थेँ होला।
देशको माया कति लाग्छ भनेर शब्दबाट लेख्थेँ होला। विकास निर्माणको कुरा लेख्थेँ होला। देशको धुलो हावापानी, बन-पहराको चर्चा गर्थेँ होला। कलमबाट सडकदेखि सदनसम्मको कुरा गर्थेँ होला। नेपाली साहित्यमा एक २-४ वटा कथा, उपन्यास लेख्थेँ होला।
अपसोस! लेखक हुनलाई पनि जन्मजात भाग्यमा लिएर आउनु पर्दो रहेछ। सिकेर मात्र होइन, मनबाट लेख्न आउन पर्दो रहेछ। हो, हुन नसकेको म लेखक। किन हुन सकिनँ? यो कुरा कोही सम्पादकले भनिदिनु हुन्छ कि?
कोही लेखकले नै भन्दा पनि मलाई झन् प्रष्ट हुन्थ्यो। अहिलेका चर्चित नवराज पराजुली, सुबिन भट्टराई, नयनराज पाण्डे, बुद्धि सागर, या मैले नाम लेख्न छुटाएका आरु थुप्रै लेखकले। किन म लेखक हुन सकिनँ, लेखक हुन के गर्नु पर्छ, मेरा लेख्ने कोसिस र लेखेका २-४ वटा लेख छाप्न कसलाई गुहार्नु पर्छ?
खैर जे होस्, मलाई यो कुरा आज प्रष्ट भयो कि म लेख्नको लागि जन्मेको होइन। मेरा कलमहरु अब लेख्नको लागि होइन, कुनै पेपरमा हस्ताक्षर गर्न मात्र काम लाग्ने भए। कतै सानोतिनो फारम भर्ना मात्र काम लाग्ने भए।
म मेरो कलम मजस्तै लेखक हुने मन भएकालाई गिफ्ट दिन चाहन्छु। आफूलाई कम प्रयोग भएको मेरो यो कलम गोजीमा धेरै राख्न गाह्रो भएको छ। मेरो मनको एक भागले सधैँ भन्ने गर्छ, म लेखक भएको भएँ गर्ने कुरा केही थिए। अपसोस! हुन सकिनँ।
मलाई माफ गर्नु आमा, हजुरको इच्छा पूरा गर्न असमर्थ भएको छु। सायद अर्को जन्ममा लेखक भएर जन्मिन चाहन्छु।