‘यही हात होइन, त्यसले छोएको ? म यो हात काटेर फालिदिन्छु। यही हात समाएर जिन्दगीभर साथ निभाउने कुरा गरेको थियो खुब’, हात काटेर फाल्न चक्कु खोज्न थालें। तर चक्कु भेटिएन।
राम्रोसँग प्याज पनि नकाट्ने भुत्ते चक्कु थियो कोठामा। त्यही जैरे चक्कु पनि भेटिएन।
यसो सम्झें त्यसले छोएको के/के छ ?
सम्झिँदै गएँ।
उफ् खुट्टाका पैंतालाबाहेक केही बाँकी नरहने रहेछ। झन् मलाई रुन मन लाग्यो। मेरो यत्रो विश्वासमाथि कति सजिलै घात गर्न सकेको होला ?म यसरी बाँच्न सक्दिनँ। आत्मालाई पीडा दिएर मलाई सास फेर्नै गाह्रो भो।
त्यही बेला आमाको बेस्सरी याद आयो।
हरेक पीडामा सबभन्दा पहिला हृदयले सम्झिने मान्छे आमा। उहाँको काखमा लुटुपुटु परेर डाँको छोडेर रुन मन लाग्यो।
एकचोटि आमालाई भेट्छु र मर्छु भनेर म गाउँ लागें। यो सहरमा मरे पनि मेरो लास उठाउने कोही छैन। जसलाई आफ्नो भनेको थिएँ, उसले लात्ती मुटुमै हानेको थियो। त्यसैले अब मर्नै भए पनि गाउँ जान्छु।
घर आएको दुई दिन भएको थियो। एक मिनेट सास फेरेर मलाई यो धर्ती हेर्न मन थिएन। मलाई कसैको माया लागेको थिएन। चाहना सबै खतम भएका थिए।
मलाई नुहाउन जरूरी थिएन। जसले मर्ने योजना बनाएको छ , त्यसलाई किन नुहाउन पर्यो र ! तर पनि के गरूँम र कसो गरूँम भयो र आमालाई भनें
‘पानी तताइदिनु नुहाउन पर्यो।’
तातो पानीले नुहाउन मन लाग्यो मलाई।
अँगेनामा देप्चीभरि पानी बसालेर आमा कचौरामा तोरीको तेल लिएर आउनुभयो, र भन्नु भयो
‘नानी आइज कपालमा तेल लगाइदिन्छु।’कपाल नै कस्तो फुङ उडेको तेरो। सहरमा कहिले तेल लगाउने होइन होला।
हुनतः मेरो कपालमा तेल लगाउन पनि जरूरी थिएन।
म अब कसको लागि राम्री बन्नु थियो र ? मेरो कपाल राम्रो भएको हेर्ने को थियो र ?तर म चुप लागेर आमालाई तेल लगाउन दिइरहें।
मैले मनमनै आमालाई सम्झाएँ।
‘आमा जति माया गर्नु आजै गर्नु है। मेरो यो अन्तिम रात हो। हामी आमाछोरीको यो साथ अन्तिम हो। त्यो रात म आत्महत्या गर्दै थिएँ। बाँच्न सक्ने क्षमता नष्ट भएको थियो। त्यसैले म यो सास रोकिदिन चाहन्थें।
कपालमा तेल लगाइदिँदै आमाले अचानक मैले कल्पनै नगरेको कुरा भन्नुभो
‘मेरी छोरी मैले सोचेभन्दा हिम्मतवाली रै’छ। म भन्दा पनि हिम्मतवाली।’
आमा काठमाडौं आउँदा त्यो मान्छेको बारेमा सुनाएको थिएँ। आमाले भेट्न खोज्नुभएको थियो। तर त्यो मान्छेले अनेक बहाना बनाएर आएन। हिँड्ने बेला आमाले तैंले हामीले भन्दा धेरै पढेकी छस्, बुझेकी छस्। के राम्रो, के नराम्रो आफैं छुट्याउन सक्छेस्। मेरी छोरीले राम्रै मान्छेको संगत गरेकी होलिस् भन्नुभएको थियो। बुवालाई यो सम्बन्धको बारेमा केही नभन्नु भनेर पठाएको थिएँ।
त्यसैले मलाई के भएको हो आमाले थाहा पाइसक्नु भएको थियो।
तर तँ हिम्मतवाली रै’छस्। आज तैंले हिम्मत हारेकी भए । तैंले कुनै त्यस्तो कदम उठाएकी भए। म मेरो छोरीलाई खोज्न कहाँ जान्थे होला ? र मैले कहाँ पो भेट् आउँथें र ? तँ मेरो छोरीमात्र होइनस् नि, मुटुको टुक्रा होस्। तँलाई मैले पेटमै हुँदैबाट माया गर्न थालेकी हुँ।
त २४ वर्षकी भइस् तर तँलाई मैले माया गर्न थालेको २५ वर्ष भएछ। तँबिना म बाँच्नै सक्दिनँ। तर तैंले मैले जस्तो हरेस खाइनस्। आमा रून थाल्नुभो। म छाँगाबाट खसें। मैले केही नभनी आमाले मेरो अवस्थाको बारेमा थाहा पाइसक्नु भएको थियो।
म त्यो रात मर्दै थिएँ। म मायाको अभावमा मर्दै थिएँ।
आमाले थप्दै जानुभयो।
‘तेरो बुवासँग बिहे हुनुभन्दा अघि म पनि तँजस्तै एक जना मान्छेसँग प्रेममा थिएँ। तर उसले मलाई झुक्काएको रहेछ। घरमा श्रीमती र छोराछोरी रै’छन्। त्यो थाहा पाएपछि मलाई बाँच्न मन लागेन र गण्डकीमा गएर हाम फालें। तर मलाई बाँच्नु लेखेको रै’छ। तँजस्तो राम्री छोरी लेखेको रहेछ। तेरो बुवाजस्तो माया गर्ने श्रीमान लेखेको रहेछ र बाँचें। गाँउलेहरूले देखेर खोलाबाट निकालेका थिए।
खोलामा डुबेर मर्नबाट बचाए पनि पछि गाँउलेहरूले पटक/पटक मारे। कसको भुँडी बोकेकी छ, नत्र त्यसै खोलामा कस्ले फाल हान्छ भनेर कुरा काट्न थाले। गाउँमा बुवालाई विभिन्न काममा बहिष्कार गरिँदो रहेछ। गाउँलेहरूको छि:छी: र दुर्रदुर्र सहनुपर्दा पनि आमाबुवाले मलाई एक शब्द बोल्नु भएन।
त्यतिबेला मलाई किन केही भन्नु भएन होलाजस्तो लागेको थियो। आजकाल बुझ्दा लाग्छ। आफ्नो सन्तानले जस्तोसुकै गल्ती गरे पनि माफ गर्दिने हृदय हुँदो रहेछ बाउआमासँग।
पछि हामी पहाड छोडेर तराई झर्यौं। तेरो बुवासँग मेरो बिहे भयो। मलाई हरेक पुरूष त्यी मान्छे जस्तो स्वार्थी हुन्छ लाग्थ्यो।
तेरो बुवासँग भेटेपछि लाग्यो यो समाजमा असल पुरूष पनि रहेछन्। नारीलाई सम्मान गर्ने, माया गर्ने पुरूष भेटिँदो रहेछ।
तँ जन्मिदा बुवा अरूले देख्छन् भनेर गोठ पछाडि गएर रोएका थिए रे। खुसीले आँसु थाम्न नसकेर रोएको भन्नुहुन्थ्यो। सानो, प्यारो मान्छे जन्मिदा मन थाम्न नसकेको कुरा गर्नुहुन्थ्यो।
हामी तँलाई गाली गर्छौं। तर तँलाई भन्दा बढी हामी आफैंलाई नराम्रो लाग्छ। बस् हामी व्यक्त मात्र गर्दैनौं। माया व्यक्त गर्नै नजानी– नजानी पनि हामी तँलाई अथाह माया गर्छौं।
तँ पहिलोचोटि नछुने हुँदा हजुरआमासँग झगडा गरेर अर्काको घरमा लुकाउन दिएका थिएनन् तेरो बुवाले। मेरो छोरीलाई दु:ख हुन्छ भन्थे। हजुरआमाले पल्लो कोठामा तेरो विस्तारा लगाइदिनु भयो। त्यो रात पहिलोचोटि तँ एक्लै सुत्नुपर्दा तेरो बुवा निदाउनै सक्नु भएन। उठ्दै झ्यालबाट हेर्दै बस्नुभएको थियो। छोरी मान्छेको लागि यस्तो कठोर नियम कसले बनाई दिएको होला भनेर रिसाउनु हुन्थ्यो।
अझ तँलाई अर्को रमाइलो कुरा सुनाउँछु। तँ जम्मा दुई महिनाकी भएकी थिइस्। म सुत्केरी नै थिए। राति सुत्ने बेलामा ‘सानु म त आजकल तिमीसँग भन्दा अर्कैको प्रेममा डुब्न थालेको छु भने।
अफिसमा काम गर्दा उनैको याद आउँछ। टोलाई रहन मन लाग्छ। साथीहरूले पनि सर लबमा पर्नु भो के हो भन्छन्। म त झसंग भएँ। मन दुख्यो। घरमा श्रीमती सुत्केरी भएपछि लोग्ने अर्कैको प्रेममा पर्छ भनेर आमाहरूले कुरा गर्नुहुन्थ्यो। श्रीमती सुत्केरी हुँदा बिग्रेको लोग्ने कहिले सुध्रिँदैन पनि भन्नुहुन्थ्यो। मनै चिसो भएर आयो।
निदाएका तेरा निर्दोष आँखालाई हेर्दै काखँमा च्याप्थें। र भन्थें हेर न यति राम्री मेरी प्यारी छोरी छन्। यिनलाई भन्दा धेरै माया मैले तिमीलाई गर्नै सकिनँ। मलाई लाग्थ्यो, म तिमीलाई सबसे धेरै माया गर्छु। तर जब छोरी यस धर्तीमा आइन् मेरो मायाको बाढी छोरीतिरै निशाना बनाएर बग्छ।
त्यो पल मैले संसारको सबै खुसी पाएजस्तो लाग्यो। मलाई मर्नको लागि छोडेको मान्छेलाई सम्झेर बस्ने मलाई कहिल्यै फुर्सदै भएन। बरू मलाई कहिलेकाहीँ त्यो मान्छेसँग यति खुसी भएर बाँच्थें होला जस्तो लाग्दैन। जति तेरो बुवाले खुसी दिनुभयो। एक दुई जना मानिस गलत हुँदैमा संसार अँध्यारो हुँदैन। यो सुन्दर संसारमा आउन पाउनु सौभाग्यको कुरा हो।
आमाको कुराले म झस्कें, कहाँनिर मलाई मायाको अभाव थियो?
म किन र कसको लागि आत्महत्या गर्दै थिएँ ? जसले मलाई मर्नको लागि छोडेर गएको थियो, त्यसको लागि ? ए आमा तिम्ले आज नसम्हालेकी भए...
त्यसपछि, मलाई आफैंदेखि घृणा लाग्न थाल्यो। मसँग के अधिकार आत्महत्या गर्ने? न मैले आफूलाई आफैंले जन्माएको हुँ ? न हुर्काएको हुँ ? न पढाएको हुँ ?के मैले आफैंलाई कहिले प्रेम गरें ? आमाबुवाको त्याग र तपस्याको सम्मान गरे ?त्यो पल आफैंसँग प्रश्न गर्ने हैसियत गुमाएको थिएँ।
मेरो आमाबुवा। जसले मलाई यत्ति पनि दुःख हुन्छ कि भनेर ख्याल गरेर हुर्काउनु भो। मेरो सुख र राम्रो भविष्यको खातिर दिनरात दुःख गर्नुपर्दा उहाँहरू आजसम्म थाक्नुभएको छैन।
मैले आमाबुवासँग मनमनै माफी मागें। मनमनै उहाँहरूको खुट्टा ढोगें। गल्ती गरेर पनि झुक्नु नपर्ने,माफी माग्नु नपर्ने आमाबुवा नै रहेछन्।
सबथोक बिर्सेर जीवनमा अगाडि बढ्छु भनेर काठमाडौं फर्किएँ। आफ्नो पढाइमा ध्यान दिन थालें। जीवनको लक्ष्य बनाएँ। बलियो अठोटका साथ अगाडि बढ्ने प्रयास गर्न थालें। मेरो हरेक अप्ठ्यारो परिस्थितिमा लड्न साथ र साहस दिने आमाबुवा हुनुहुन्थ्यो। उहाँहरूले गर्व गर्ने छोरी बन्नु थियो।
एकदिन, अचानक खाना बनाउँदा–बनाउँदै ग्यास सकियो। ग्यास पसल मेरो कोठा नजिकै थियो। म पसल अगाडि उभिएको थिएँ। साहुजी पसलमा थिएनन् त्यसैले यताउता हेर्दै थिएँ। अलि परबाट कोही चिने जस्तो, देखेजस्तो मान्छे आइरहेको थियो।
एउटा हातमा छोरी बोकेको थियो। अर्का हात उनको श्रीमतीले समातेकी थिइन्। यदि नचिनेको मान्छेको हुन्थ्यो भने त्यो सुन्दर परिवार थियो। तर मान्छे त्यही थियो जसको कारण मलाई त्यो दृश्य सुन्दर लागेन।
नजिकबाट भेट भएर पनि त्यो मान्छे मलाई चिन्दै नचिनेको जसरी गयो।
मलाई धोका दिएर त्यसलाई पनि शान्ति छैन होला भन्ने थियो। तर म गलत थिएँ। मेरो भावनासँग खेलवाड गरेर, मेरो जिन्दगी बर्बाद पारेर, मर्न बाध्य बनाएको उसको नजरमा कहीँ–कतै आत्मग्लानी थिएन।
मलाई छोडेकोमा एकरत्ति पश्चताप थिएन। ऊ खुसी थियो। ऊ मलाई देखे नदेखेझैं गरेर हिँड्यो।
जिन्दगीभरिको साथ उसलाई चाहिएकै थिएन। मसँग समय बिताउनेभन्दा बाहेक अरू केही लक्ष्य थिएन। तर मैले त्यसैलाई प्रेम मानें।
आत्महत्या गरेर त्यसलाई चैनले बाँच्न दिन्न भन्ने लागेको थियो।
उफ् मेरो भ्रम। हेर त्यो कति चैनले बाँचेको रहेछ। आत्महत्या गरेको भए यो सब देख्न पाउँथें ? मैले राम्रोसँग बुझें, मान्छे चिन्न पनि बाँच्नुपर्ने रहेछ।