हुक्काको धुवा रिभर्स गरे जसरी नै रिभर्स गरौँ न
तुवाँलोहरुलाई हाम्रो फूलबारीमाथि लागेको,
त्यो माकुराको जालोहरुलाई
हाम्रो शिर अढिने सिरानी माथि लागेको।
भागेर जाम न पछाडि
हेरौँ न त्यो हैरानको समय देखाउने घडी
पानी चुहिने खरको छानो हेरौँ
त्यो समयको मनपरी हेरौँ
बाको फुलेका नसा शरीरभरि हेरौँ।
दौडिँदा सायद आमाको कोखसम्म पुगिएला
त्यो खेल्ने आँगन हेरौँ, खेल्दा अढिने ढिस्को हेरौँ
आँगन मेरो आमाको कोख हो, ढिस्को मेरो बाको ढाँड
बा परदेशीँदा मैले आमाको कोखमा ढिस्को भेटिनँ।
बाको छालाको चोटको औषधि आमाको फरियाको टुक्रा
हामी सबैको दुखाइको औषधि आमाको मुस्कान
टाढाको स्कुल पनि नजिक हुने है
आमाले स्कुल छेउसम्म पुर्याइदिँदा?
आमाले किनेर दिनुभएको सुकी चक्लेट
कहिल्यै नसकियोस् जस्तो लाग्ने
बा!
तपाईले हजार कपि किनेर ल्याइदिँदा
तपाईको लागि एउटा कपि पनि भर्न सकिनँ
यो पृथ्वीमा नअट्ने बाको सारलाई मैले
कपिमा अटाउन दिइनँ
त्यसैले त बा!
मैले तपाइलाई शब्दमा भर्न सकिनँ।
जीवनमा पहिलोपल्ट मैले म अढिने ढिस्कोलाई भनेको छु
बा! महिनावारी हुँदा आमालाई पर नराखौँ न
म तपाईलाई खोज्दैखोज्दै त्यसैगरी बग्दैबग्दै आएको हुँ।
मलाई यतिखेर त झनै आमाको काख औधी प्यारो लाग्छ बा!
बा! म प्रथम हुँदा खुसीले उफ्रने तपाईलाई
मैले म धेरैपटक हारेको कहानी भनेको छैन
आमा म हाँस्दा तपाईका दात लस्कर लाग्छन्
मैले म धेरैपटक रोएको कहानी भनेको छैन
मलाई त धेरै पछाडि गएर त्यो दुखमा अल्झिने मन छ
यो दुखलाई त्यो दुखको चुलीबाट हेर्न मन छ
बाले गाउनु भएको आमाले नाच्नु भएको
अनि मैले ताली पिटेको
त्योभन्दा खुसी अर्को छ या छैन
त्यही चुलिबाट हेर्न मन छ
बा! मलाई धेरै पछाडि गएर त्यो दुखमा अल्झिने मन छ।