'जिन्दगी के हो?' भन्ने प्रश्नको सजिलो उत्तरको खोजिमा आर्यघाटको एकछिन बसाइले सबै स्पष्ट पारिदिन्छ मलाई।
फूल पसलदेखि बागमती पुल हुदैँ १५-२० खुड्किला माथि आएर छेउको एउटा बेन्चमा एकछिन बसेर नियाल्न निकै आनन्द लाग्छ मलाई। जिन्दगी सुरु भएदेखि अन्त्यष्टिसम्मको हर एक खुड्किला यहाँबाट छर्लंग देख्ने गर्छु म।
एउटा सानो खोलाले छुट्टाएको दुई किनार, त्यही दुई किनारमा पनि कति धेरै भिन्नता। एक किनारमा भविष्य उज्वलका लागि हर सक्दो पाठ, पूजा, जप, ध्यान गर्नेको भिड भने अर्को किनारमा भूत, भविष्य, वर्तमान सबैबाट मुक्ति पाई उडिरहेको धुवाँ।
आखिर त्यही वारिदेखि पारि किनार तर्नु नै त हो जीवन। मरणलाई पनि निकै अनौठो ढंगले नियाल्न पाइन्छ यहाँ। सास रहुन्जेल सानो छेस्को बिझ्दा नि भुतुक्कै हुने मान्छे, सास जाने बितिकै ठूलो लट्ठीले घोच्दै आगोमा दन्दनी सल्काउँदा पनि कुनै भाव देखाउँदैन।
लाग्छ यो सारा संसारिक मोहबाट मुक्तिको प्रतिक्षामा शान्तसँग सुतिरहेछ। देह त्याग गर्न आतुर छ।
सानो हुँदा कुनै डरलाग्दो अनुभवले आँखा चिम्म गरेर त्यो कहिले मबाट टाढा होला भनेर कुरे झैँ लाग्छ मलाई त्यो चितामा सुतेको लास। यो डरलाग्दो संसार विलीन नहुन्जेलसम्म आँखै खोल्दिनँ भनेर आफैँसँग वाचा गर्दै होला।
नाम र दाम कमाउन कति दौडियो, लड्यो अनि फेरि उठेर दौडियो होला है त्यो चितामा लडेको मान्छे। निकै अचम्म लाग्छ मलाई, जिउँदो हुँदा अनेक दुख गरेर कमाएको नाम दुई मुठी सास सकिँदैमा कहलिन्छ त ऊ केवल लास। राजा होस् या रंक यो आर्यघाटमा सुत्ने बितिकै ऊ कहलिन्छ त केवल लास।
आफ्नो नजिकका सबै हितैसी, मित्रजन, परिवार ऊ सदाको लागि सुतेको देखेर गरेको रोदन। के थाहा पाउँछ होला त त्यो लासले? उसको अनुपस्थितिले तड्पिरहेको प्रियजनको जीवनमा उसले छोडेको छापको आभास जिउँदो हुँदा अनुभव गराए होलान त उसलाई?
उसको जीवनको महत्व अरु कसैको जीवनमा कति धेरै रहेछ भन्ने भान ऊ जिउँदो हुँदा गराए कि गराएनन् होला है कसैले? कसैको लागि अमूल्य रहेछु भन्ने आभास के गर्न पायो होला त त्यो कहिले नउठ्ने गरी सुतेको लासले?
अन्योलमै राखेर त पक्कै पठाएनन् होला है उनका प्रियजनहरुले उसलाई?