'द हिमालयन टाइम्स'को 'थ्यान्क गड इट्स फ्राइडे' साह्रै रोचक लाग्थ्यो मलाई। शुक्रबारको बिहानी घरबाट पत्रिका लिने बहानाले घर नजिकको चिया पसलमा पुगेँ।
बहाना पनि सजिलो थियो पत्रिका लिने। जानुको फाइदा चिया पसलबाट दिनको पहिलो चिया साथमा देशविदेशको ताजा खबरदेखि फिल्म, राजनीति, कला, साहित्य, खेलकुद अनि आहिलेको ट्रेन्डिङ विचार टिप्पणी मजाले सुन्न पइन्थ्यो।
साथमा आफ्नो राय विचार पनि राख्न पाइने। धेरै नै मोहित बनाएको थियो यो चिया पसलले। त्यो दिनको मुख्य विषय शिवरात्री बारे रहेछ। ढिलो पुगेँ तर सजिलै थाहा पाएँ जोशी अंकलबाट।
उनले आफ्नो उमेरमा गर्ने शिवरात्रीको मातको कुरा गर्दै थिए। यता राम सर भने पशुपतिमा यो शिवरात्रीमा पहिलेको भन्दा धेरै बाबा आएको कुरा गर्दै थिए।
संकी रिजालले भने पशुपतिमा यो चोटि पनि नाङ्गो बाबा आउने गलत हो भन्दै थियो। उनी एकोहोरो बोल्दै थिए। कसैको कुरा सुन्न पक्षमा नै थिएनन्।
यो कुनै नौलो कुरा थिएन चिया पसलमा। हरेक कुरामा वाद-विवाद हुन थाल्छ। सबैको विद्वान हुने समय आएको थियो। सबैले धर्म संस्कृति, सही गलतको बारेमा कुरा गर्दै थिए। विचार शर्मा सर इतिहासका गुरु थिए जो बुझेका थिए। उनी मौन थिए।
कलेज पनि जानु पर्ने भएकोले त्यो वाद विवादको साक्षी धेरै बेर हुन मन लागेन। दि हिमालयन टाइम्स र घरको लागि डिडिसीको एक प्याकेट दूध लिएर घर गएँ। अब घरमा ममीको हातको चियाको समय भएको थियो।
चिया-नास्ता, खान खाएर कलेज पनि जानु थियो। शुक्रबारको दिन कलेज एकदम रमाइलो दिन हुन्थ्यो। यो दिन कहिले कलेज बंक गरेर मुभी हेर्ने प्लान हुन्थ्यो, त कहिले ज्ञानु दाइको खाजा घरमा गएर नेवारी खान खाने। कहेले काठमाडौँबाट नजिकमा रमणीय ठाउँ बरालिन जाने।
आजको प्लान भने नजिकको रमाइलो ठाउँ बरालिने। कहाँ जाने भन्ने कुरा सौरभले भन्न नभ्याउँदै राजुले नगरकोट भन्यो, सबैले हुन्छ भन्दै हामी लगियो नगरकोट।
नगरकोट काठमाडौँबाट घुम्न जना सकिने नजिकको, प्राकृतिक हिसाबले रमणीय ठाउँ थियो। जहाँ पारिवारिक पिकनिक, साथीभाइ भेट्ने ठाउँ, बिजनेस कन्फेरेन्स, खासमा नवजोडीदेखि संसारमा हुने सबै खालका जोडीहरुको भेट्ने थलो। यस्मा दुईमत नहोला। आज हामीहरु रमाइलो गर्न आएका।
संयोग पनि कस्तो! बिहान चिया पसलमा बाबाहरुको बारेमा ठूलो कुरा भएको थियो, यता नगरकोटको पिकनिक स्पोट नजिकै एकजना बाबा आफ्नो सानो कुटी बनाएर बसेका रहेछन्।
एक मनले 'ह्या जो सुकै होस्' भन्ने भयो तर अर्को मनले यी बाबाको कहानी बुझ्न मन लग्यो। कतै यी बाबा पनि इंडियाबाट नै आएका त होइनन् शिवरात्रीको अवसर पारेर? जिज्ञासा मेरो मनमा मात्रै होला भनेको केटाहरु पनि उतै बाबालाई हेर्दै रहेछन्।
कसैले न जाउँ नै भने न ह्या छोड् भन्ने आँट नै गर्यो। मेरो पाइला फटाफट बाबाको कुटी तिर लाग्यो। केटाहरु पनि मेरो पछि पछि लागे। पछाडि कसैले भन्दै थियो 'यो बाबा त माल खान्छ होला है?' कसले भन्यो हेक्का नै गरिनँ।
'बाबा नमस्कार!' भन्दै पुगियो कुटीतिर।
बाबा- नमस्कार, बाबुहरु घुम्न आउनु भाको?
म- हजुर।
बाबा- आजभोलि नगरकोट घुम्नेको ओहिरो छ?
सौरभ- बाबा त नेपाली हुनु हुँदो रैछ त?
बाबा- हजुर, नेपाली भाषाको राम्रो ज्ञान छ तर म जन्मेको इंडियामा हो। धेरैले मलाई आएर सिधैँ हिन्दीमा बोल्छ। बाबुहरु नेपालीमै बोल्नु भयो।
म- बाबा, हजुरको नाम?
बाबा- भर्खर भन्नु भयो त।
म- नाम कहाँ भने बाबा! बोलाउने नाम भनेको बाबा।
बाबा- नाममा के छ र बाबु, हजुरले जसले सम्बोधन गरे पनि हुन्छ, नाम त अरुले तिमीलाई दिने हो, तिम्ले त त्यही नामले पहिचान बनौन भागदौड गर्ने हो। होइन र?
म- (स्तब्ध)
राजु- अनि बाबाको घर कता नि?
बाबा- म त शून्यताबाट आएको, कहाँ घर कहाँ ठेगाना। यो पुरै संसार नै मेरो घर मेरो ठेगाना।
म- (स्तब्ध)
मनमनै आफैसँग बोल्दै थिएँ। एकछिन त लग्यो यी सायद त्यही बाबा हुनु पर्छ, जसले म शून्यताबाट आएको जवाफा दिए, सम्झना छ मलाई कतै कुमार नगरकोटीले यही जवाफा दिएका थिए।
सौरभ- बाबा अनि खानपिनको व्यवस्था कसरी हुन्छ त? शिवरात्रीको लागि मान्छे पशुपति जान्छन् त, हजुर नगरकोट?
बाबा- बाबु, प्रेम जोडीलाई आफ्नो माया साटासाट गर्न प्रणय दिवस कुर्नु पर्छ र? पर्दैन नि? यस्तै हो बाबु। म यहीबाट शिवको आराधना गर्छु। रह्यो खानाको कुरा, यताउता आफै व्यवस्था हुन्छ। भगवानले हेर्नु हुन्छ।
म- सबै चाडपर्वको आफ्नो महत्व छ नि बाबा, तोकेको दिनमै मनाउनु पर्छ नि बाबा, होइन र?
बाबा- आमाले छोरोलाई माया गर्न कुनै दिन तोकेको हुँदैन, तर छोराहरुले आमा-बाबालाई माया गर्न बिर्सेर आमाको मुख हेर्ने दिन, बुबाको मुख हेर्ने दिन बनाए? मान्छेले आफ्नो संस्कार बिर्सेको बाबु, विशेष दिनमा मात्र होइन, वर्षभरि मनाउनु पर्छ।
चाहे शिवरात्री होस्, चाहे आमाको मुख हेर्ने दिन, चाहे दशैँ, वर्षभरि ठूलाको आशिर्वाद लिनु र सुन्नु पर्छ। एकदिनको लागि मात्र हुँदैन।
म- कुरो सही हो बाबा। अनि बाबा जीवन कसरी चल्दै छ त?
सौरभ- अनि साँच्ची जीवन के हो त बाबा?
बाबा- जीवन एकदम राम्रो चल्दै छ, जीवन त एक रंगिन चित्र हो। सबै रंगहरुको मिश्रण छ? हरेक रंगको आफ्नै महत्व छ र हरेक रंग अर्थपूर्ण छन्। सबै रंगहरुलाई बुझ्नु अनि मात्र एक रंगिन चित्र भुझ्ने छौ। जीवन एकदम सरल छ र यसलाई हामीहरु बाँचुन्जेल सरल जिउने कोशिश गर्नु पर्छ।
म- कति गहन कुरा तर एथार्थ सत्य।
सौरभ- केटा हो, मलाई अब बाबा गज्जब लग्यो है।
राजु- सही हो कुरा।
टेक- बाबा, शिवजीको प्रसाद छैन?( हाँस्दै)
बाबा- हरेक बाबाले शिवजीको प्रसाद खाँदैन बाबु। म संसारिक माया छोडेर बाबा भएको हुँ। म त फलफूल, दूध मात्र खाने बाबा हुँ।
म- अनि बाबा अब हामी जान्छौँ। पछि यता तिर आयो भने आउछौँ भेट्न।
बाबा- म एक यात्री, संसार मेरो घर हो। जहाँ पनि हुन सक्छु, जुन भेषमा पनि। तर बाबुहरु एक कुरा ख्याल गर्नु, जीवन के हो भन्दा पहिले म को हुँ? भनेर बुज्ने कोशिश गर्नू।
जिन्दगीमा आफ्नो नाम होइन, पहिचान खोज्नु। अरुलाई राम्रो गर्छु भनेर होइन कसैलाई नराम्रो गर्दिनँ भनेर हिड्नु। आध्यात्मिक चेतना राख्नु। फेरि पनि भन्न चाहेँ म को हुँ? र म किन यो संसारम़ा छु? एकचोटि दिमाग र मन दुवैले सोच्नू।
सबैजनाले टाउको हल्यायौँ र हसको संकेत दिँदै हुन्छ बाबा भन्दै बिदा भइयो।
बाबा- जय सम्बो, जय पशुपतिनाथ ।
साँच्चै शुक्रबारको दिन कति मजाले गयो। घरको लागि कलेज हिँडेको, साथीभाइसँग घुम्न निक्लेको छोरो कताबाट नगरकोट पुगियो। अनि त्यहाँ अचम्मको बाबा भेटिनु, बाबाको तितो सत्य र यथार्थ कुरा अनि जीवनका चाख लख्ने कुरा सुन्न पाउँदा धेरै भाग्यमानी ठानेँ।
दिउँसोको थकानले होला, कति छिटै सुतेछु पत्तै पइनँ। तर सपनामा त्यही बाबा आएर भन्दै थिए- बालक, अझै अर्काले दिएको नामको पछि लागेको छौ होइन? तेरो नामको अर्थ खोज अब? किन जन्मिएको होस् खोज अब? म को हुँ? भनेर खोज अब।
झसंग भएँ। सपनामा पनि बाबा र दिउँसोको उही कुरा। सुत्ने सकिनँ। छट्पटी भयो।
शनिबारको बिहानी, उठ्ने बित्तिकै चिया पसल जाने म, आज बाइक स्टार्ट गरी नगरकोट गएँ एक्लै। मनले धेरै कुराहरुको उत्तर खोज्दै अनि मनमा धेरै प्रश्नहरु बाबालाई सोध्छु भन्दै बाबालाई भेट्न हिँडेको तर अपसोच! बाबा त्यहाँबाट हिँडिसकेका रहेछन्।
पुरै संसार मेरो घर र शून्यताबाट आएका भन्थे बाबा। बाबालाई सोध्ने धेरै प्रश्नहरु त्यही छोडेँ र म आफ्नो मनलाई आफै प्रश्न गर्दै थिएँ- म को हुँ? म किन यो संसारमा छु?