आश्वासन नै आश्वासनमा बचेको मान्छे म,
सयौँ मिटर टाढाको उज्यालो तापेर,
सुन्दर भविष्यको कल्पना गर्दै,
पोखरीको पानीमा रातभर आधा डुबेर बस्दा,
उज्यालो तापेर बचेको आरोपित,
न्याय नपाएको मान्छे म।
वीरबलको खिचडी पकाइ, न्याय दिने कोही छ?
देशभक्त महामानवहरुको नाम सुनेको मान्छे म,
जबरजस्ती मूर्तिलाई नमस्कार गरेर,
पछिल्लो पुस्ताले समृद्धि पाउने आशा राख्दै,
देशप्रेम गरेकैले जेलनेल हत्कडी खपेर बस्दा,
अन्यायलाई अन्याय भन्दा दन्डित भएको,
क्रान्ति गर्न डराएको आरोपित मान्छे म।
नतमस्तक नमस्कार पाउने, मूर्ति बन्ने कोही छ?
बडो राष्ट्रप्रेमको प्रवचन सुनेको मान्छे म,
परिवर्तन हुन्छ भन्ने आत्मबोध गरेर,
मेरो देशको मुहार फेरिने भरोसा राख्दै,
समृद्धिको लागि संघर्ष गरेकै कारण
कसो नसच्चिएलान् भनी आशावादी हुँदै,
कुशासनको विरोध गर्दा पाखा लगाइएको म
एक्लो बृहस्पति बन्न, आँट गर्ने कोही छ?
भ्रष्टाचार र चाकरी नगर्न तम्सेको मान्छे म,
निस्वार्थ देशको सेवामा समर्पित भएर,
विगतको कमजोरी नै आगतको सुधार सम्झँदै,
भ्रष्ट आचरणको अन्त्य र चाकरी निर्मूल पार्न लम्कदा,
समय र परिस्थिति नबुझेको पाखे,
ज्यादा क्रान्तिकारी बनेको आरोपित म।
सूर्य झैँ अटल प्रकाश छर्न, साहास गर्ने कोही छ?
यावत प्रश्नको उत्तर दिने सक्ने, वीरबल जस्तै बन्ने कोही छ?