प्यारो बाबा, आमा अनि दाइ।
यहाँ म यहाँ सन्चै छु। त्यहाँ पनि हजुरहरु सन्चै हुनुहुन्छ होला।
मलाई त्यहाँ धेरै खोज्नु भयो होला। त्यसैले आज यो चिठीमार्फत मेरा केही भावनाहरु पोखेकी छु। कृपया मैले सम्बोधन गरेका सबैजनालाई यो चिठी सुनाइदिनु होला।
मलाई याद आइरहेको छ आमा, तपाईंको कोमल हातको सिरानीमा सुतेर राम्रा राम्रा कथा सुनेको। मलाई अझै याद छ मैले मेरा लागि ठूलो र असल मान्छे बन्ने सपना बुनेको।
मलाई याद आइरहेको छ बाबा, तपाईंको काँधमा चढेर टाढासम्मको संसार हेरेको। अनि मलाई अझै याद छ आमाको माया र बाबाको साथमा ढुक्कले सास फेरेको।
तर आज निमोठिएका सैतानी हातले मेरो कलिलो शरीरमा मनपरी गर्दा मलाई कति पीडा भयो आमा। मैले सोचेको पनि थिइनँ आमा, म यसरी बलात्कृत हुन्छु भनेर। मैले सोचेको पनि थिइनँ बाबा, यति सानो उमेरमा यस्तो असह्य पीडा भोग्नु पर्छ भनेर।
आहा! आमा, तपाईंको काख जहाँ म तपाईंको ममतामा लिन भएर ढुक्कले निधाउथेँ। रहर पूरा भएकै थिएन आमा तपाईंको काखमा ढुक्कले निधाउने, रहर पूरा भएकै थिएन बाबा तपाईंको काँधमा चढेर संसार हेर्ने।
ओइ दाइ, मेरो प्यारो दाइ, मलाई धेरै माया गर्ने दाइ। त अझै मेरो सम्झनामा रोइरहेको होलास् है?
मलाई अझै याद छ दाइ, मलाई जाडो हुँदा तैले आफ्नो ज्याकेट लगाइदिएको। स्कुलको बाटोमा पर्ने खोल्सो तर्दा जुत्ता भिज्छ भनेर बोकेर तारिदिएको। अनि खेल्दा खेल्दै म लड्दा बोकेर घर लगेको।
म तँसँग हिँड्दा, खेल्दा कति सुरक्षित सम्झिन्थेँ। तैले दिएको मायाले नै मैले सबै पुरुषमा तेरो रुप देख्थेँ। उनीहरुलाई पनि तलाई जस्तै विश्वास गर्थें। तर होइन रहेछ दाइ, तैले किन सिकाइनस् कि सबै पुरुष तँजस्ता मायालु र दयालु हुँदैनन् भनेर?
मेरो प्यारो आमा-बाबा,
मलाई जित्न सिकाउनु भयो। हाँस्न सिकाउनु भयो। संस्कार सिकाउनु भयो। तर त्यो मन्दिर नजा, त्यो उखुबारीको बाटो नहिड् बलात्कृत हुनसक्छेस् भनेर किन सिकाउनु भएन?
मलाई माफ गर्नु है, लाख कोशिश गर्द गर्दै पनि मैले मलाई बचाउन सकिनँ। म चिच्याएँ, कराएँ, प्रतिकार गरेँ, आमा पुकारेँ, बाबा र दाइलाई गुहारेँ। अनि मलाई माया गर्ने छिमेकी दाइहरुलाई स्वर सुकुन्जेल बोलाएँ।
मेरो केही चलेन। मेरो जोड चलेन। मेरो प्रतिकार मेरो बल अह! केही सीप चलेन। राम्रोसँग विकास नै नभएको मेरो यौनांग च्यातियो, मेरो स्तन निमोठियो अनि मेरो घाँटी बेस्सरी थिचियो।
नरपिशाचले मेरो केही चल्नै दिएन। आखिर मैले हारेँ। मलाई सिकाइएको संस्कारले हार्यो। मेरो परिवारले हार्यो, मेरो समाजले हार्यो।
बलात्कारी कुपूतले गर्दा चेलीबेटीलाई माया र सम्मान गर्ने पुरुष दाजुभाइले हार्नुभयो।
सत्ताको नसा भएको, न्याय हराएको र भ्रष्टचारी मौलाएको मेरो सरकार सत्ताको सानो सानो निहुँमा सोच्नै नसकेको निर्णय गर्न सक्ने सरकार म जस्ता अबोध बालिकाहरु घरी घरी बलात्कृत भएर ज्यानै गुमाउँदा पनि किन मौन छस्?
मेरो न्यायको लागि नागरिक समाजले उठाएको बुलन्द आवाज कहिले सुन्छस्?
हामी कलिला मुनाहरुलाई निमोठ्ने ती पापीहरुलाई कानुनको कठघरामा कहिले ल्याउछस्?
अब त जीवन सकियो तर हाम्रो छट्पटिएको आत्मालाई शान्ति कहिले दिलाउँछस्?