जब म
बीच बाटोमा जिउँदै चिथोरिन्छु
मेरा बल्झिएका घाउहरुको
आवाज दबाउनु
जब म
तिम्रो ढोका ढक्ढकाउँछु
अनेक ठूला आवाज निकाली
ढोकाको आवाज दबाउनु
जब म
निर्वस्त्र जिउँदै पल्टेको देखिन्छु
तड्पिरहन दिनु
आँखा तिम्रो कालो पट्टीले सजाउनु
जब म
चिर्पटे दाउरामाथि
सदाको लागि निदाएको हुन्छु
आँखाको कालो पाट्टी हटाई
सरकारलाई दोष दिदैँ
न्याय माग्दै आवाज उठाउनु
माइतीघरको मण्डला तताउनु
जब म
हिड्दा हिड्दै एसिडले नुहाइन्छु
तमासा हेर्दै फोटो भिडिओ खिच्नु
टिआरपी कसरी बड्छ
भाइरल समाचार बनाउनु
जब म
आफ्नै घरमा कोठीको काम गराइन्छु
के भर गर्नु बाहिर समाजको
बरु छिट्टै घरलाई
रण्डीखाना बनाउनु
जब
नफक्रिएका मेरा छातीमाथि
धारिला नजरका तीरहरु रोपिन्छन्
अनि के अर्थ त नि
तिनै नजर मुनिका स्वरले
न्यायको आवाज उठाउनु।