देख्दा सुन्दर देखिने आवरणमा
नियाल्दै जाँदा
समावेश कैयौं (अ)सुन्दर चित्रहरू
महिलाको नाममा पुरुषार्थको महिमा
अझ यसो भनौं
नजानिँदो एउटा मीठो छल
लैङ्गिक विभेदको पराकाष्ठा
परमेश्वरी माता ब्रतको नाममा
प्रकृति भन्दै
पुरुष लिंगको भव्य पूजा
स्वस्थानी
छलमार्फत् अर्काकी पत्नी
पतिव्रता बृन्दाको सतित्व डगमगाइदिएर
अर्थात्
एक नारीको अस्मिता खलबल्याई दिएर पनि
देवत्व कहलिएकाहरूको वयान
एक पिताद्वारा पतिको अपमान
विरोध गर्नुको साटो उल्टै
सहन गर्न नसकि
अग्निकुण्डमा होमिएर देह त्याग गर्ने
सतिदेवीको जयजयकार
नारीको कमजोरीपन र लाचारता उजागर गर्दै
पटक-पटक पुनरावृत्ति गर्न
उक्साउने कथा स्वस्थानी
अझै अत्याचारको पराकाष्ठा
गोमा-शिव शर्मा विवाह
छोडेन पुरुष मानसिकता
सात वर्षकी नाबालिका पनि
७० वर्षको वृद्धलाई
सरसामान र दाइजोसहित अन्माएर
प्राप्तिने कस्तो धर्म हो, त्यो?
किन मौन बस्छौ नारीहरू
पण्डितले प्रसाद समेत ग्रहण गर्न नदिँदा
पति भए पति
नभए छोरा
नभए मित छोराभन्दा
किन भन्न सक्दैनौं
छोराको ठाउँमा छोरीले ग्रहण गर्दा
के हुन्छ भनेर?
आनन्दित महसुस गर्छौ
या अभिनय गर्छौ
परम्परामा जेलिएर
या अभिव्यक्त गर्न सक्दैनौं?
आफ्नै अघि आफ्नै अस्तित्वको मजाक
दिनानुदिन गिराइँदै गरेको
मातृत्व पतन
तिमीहरूको कमजोरीलाई हतियार बनाई
तिमीहरूकै विरुद्ध प्रहार गरी
धर्मको आडमा यो कस्तो
अस्तित्वको युद्ध जित्दै गरेको छ,
पुरुष प्रधान समाज
बुझेका छैनौं या बुझेर बुझ पचाउँदै छौ
निदाएका छौ या ब्युँझेर पनि
चेतना गुमाएका छौ?
ब्युझ चेतनाको आँखा उघारेर हेर एकपटक
सदियौंदेखि तिम्रो अस्तित्वको
विरुद्ध कसरी खडा छ
स्वस्थानी!!