नमस्कार! सम्पूर्ण प्रेतात्माहरुमा। यस अलकापुरी टेलिभिजनको हाम्रो बहस कार्यक्रममा आज हामीले छाडेर आएको हाम्रो देशको बारेमा छलफल गर्नेछौँ। छलफलका लागि निम्त्याएका छौँ, मुलुकको चारजना सहिदहरु मध्ये गंगालाल श्रेष्ठलाई।
आज साँझको कार्यक्रममा हामी उहाँहरुले जुन परिवर्तनको लागि शहादद् प्राप्त गर्नु भएको थियो, त्यो परिवर्तन भयो कि भएन भन्ने बारेमा बहस गर्नेछौँ। तपाईंलाई हाम्रो यस कार्यक्रममा स्वागत छ।
गंगालालः हस् धन्यवाद लोहनी जि।
लोहनीः सर्वप्रथम म गंगालाल आत्मालाई सोध्न चाहन्छु। त्यति कलिलो उमेरमा सहिद हुनुभयो तपाईं, जे सोचेर क्रान्ति गर्नुभयो त्यो क्रान्ति पूरा भयो त?
गंगालालः त्यो क्रान्ति पूरा भयो कि भएन त्यो त मलाईभन्दा तपाईंलाई बढी थाहा छ होला किनकि यहाँ धेरैपछि आउनु भएको हो तपाईं।
लोहनीः तैपनि तपाईंकै मुखबाट सुनम् कि भनेर।
गंगालालः हेर्नुस् लोहनी जि, त्यतिबेला मेरो उमेर कति नै थियो र? तैपनि प्रजातन्त्रको लागि लडियो, घर परिवार केही भनिएन। परिपक्क नहुँदै मर्नु पर्यो। त्योबेलाको हाम्रो क्रान्ति सफल नै भयो। सात सालमा प्रजातन्त्र पनि आयो। नेपाल लोकमा भएका सबैको हँसिलो अनुहार देख्दा यहाँ हामी स्वर्गवासीहरुलाई पनि कति आनन्द आएको थियो। तर...
लोहनीः हो त नि है? यो सत्तरी वर्षमा दुईपटक प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र पनि आयो तर परिवर्तन किन भएन? के लाग्छ तपाईंलाई?
गंगालालः हामीलाई लागेर के नै हुने हो र? हामी त आत्मा भैसक्यौँ। हामीले त टुलुटुलु हेरेर बस्न बाहेक केही गर्न सक्दैनौँ। वास्तविक परिवर्तन त नेपाललोकका जनताहरुले महशुस गर्नुपर्ने हो हैन र?
लोहनीः तपाईंहरु मुलुकको परिवर्तनका लागि लड्नुभयो तर परिवर्तन मुलुक हाक्नेहरु भए। मुलुकले काँचुली फेर्नु पर्ने तर नेताहरुले चाहिँ काँचुली फेरे। समग्र देशको विकास हुनु पर्ने तर उनीहरुका निजी सम्पत्तिको मात्र विकास भयो। यसमा के भन्नुहुन्छ?
गंगालालः एकदम सही भन्नुभयो लोहनी जि तपाईंले। हामीले ज्यान फालेको नेताहरुको रजाईको लागि हैन नि। नेपाललोकमा कुनै गतिला नेता नै देखिनँ मैले त। राष्ट्रको नोकर हो भनेर सत्तामा आए तर आउने बित्तिकै मालिक ठानेर बसे।
लोहनीः किन नेपालका नेताहरु देश विकासमा समर्पित नभएका होलान्?
गंगालालः समर्पित हुन आफूमा त्याग चाहिन्छ लोहनी जि। त्याग भएको कुन नेताको, स्वच्छ छवि भएको कुन नेताको अन्तरवार्ता गर्नुभयो तपाईंले नेपाल लोकमा? याद छ तपाईंलाई?
लोहनीः त्यतातिर नजाउँहोला। आजकाल त मलाई कस्ता कस्ता नेताहरुलाई कार्यक्रममा बोलाएर स्वागत गरेछु भनेर आफैदेखि रिस पो उठ्छ त।
गंगालालः तपाईंको त पेशा थियो अन्तर्वार्ता, गर्नुभयो। हामीले त देशको लागि प्राण त्यागेका थियौँ। हाम्रो प्राणको आडमा देशमा फोहोरी खेल खेलेको देख्दा हामीलाई कस्तो पीडा भएको होला? तपाईंलाई त रिस मात्र उठेछ। किन कोही राजनेता जन्मिएनन् यो नेपाल लोकमा?
लोहनीः जिउँदाहरुले चिन्ता गरेनन्, हामी मरेका आत्माहरुले चिन्ता गरेर के नै हुने हो र अब! खैर, धर्म जीl, शुक्र जि र दशरथ जिको हालखबर के छ? कार्यक्रममा आउन पनि मान्नु भएन।
गंगालालः उहाँहरुको ठिकै छ। चिन्ता गरिराख्नु हुन्छ नेपालको। अपराधीहरुले नेपाल खतम पारे, लोहनीको कार्यक्रममा गएर के नाम लिनु त्यस्ताको भनेर आउन मान्नु भएन। म मात्र आएँ।
लोहनीः कता हुनुहुन्छ उहाँहरु आज?
गंगालालः आज उहाँहरु विपी र पुष्पलाललाई भेट्न जानु भएको छ। संगठन खोल्यौँ तर गतिला नेता किन बनाउन सकेनौ भनेर सोध्न।
लोहनीः प्रसंग बद्लौँ। अहिले त सहिदको संख्या पनि कति हो कति भएको छ। तपाईंहरुलाई मुख्य सहिद मानिन्छ अझैपनि। अरु सहिदहरुसँग कतिको कुराकानी र भेटघाट हुन्छ तपाईंहरुको?
गंगालालः कुरै नगर्नुस्। यहाँ त सहिदहरु पनि विभिन्न गुटमा लागेका छन्। कोही दलको आधारमा कोही जातको आधारमा विभाजित भएका छन्। यस्तो राम्रो हैन नि। सहिद भनेको कुनै दलको हुँदैन, सहिदको जात हुँदैन, सहिद देशभन्दा माथि हुन्छ। भन्दा रिसाउलाल् तर सहिद घोषणामा होडवाजी नै चल्यो। सहिद पनि तेरो र मेरो भए।
लोहनीः तपाईंहरुले सम्झाउनु हुन्न उहाँलाई?
गंगालालः लोहनी जि, हामी देशको झण्डा बोक्नेले पार्टीको झण्डा बोक्नेलाई सम्झाउन सकिएला र? भो यसबारेमा खुलेआम नबोलौँ। भोलि हामीलाई नै प्रतिगामी भन्लान् फेरि।
लोहनीः सहिद दिवस त मनाइरहेका छन् त नेपाल लोकमा। तपाईंहरुको योगदानको चर्चा पनि गर्छन् है।
गंगालालः साँच्चै भन्नुपर्दा आजकाल त हामीलाई यो सहिद दिवस आउँदा उकुसमुकुस हुन्छ। हिनता बोध हुन्छ। दिक्क लागेर आउँछ। हाम्रो सालिकमा हामीलाई लगाइने माला, माला नभएर फलामको साङ्लो जस्तो लाग्छ। हामीलाई दिइने सलामी हाम्रै छातीमा हाने जस्तो हुन्छ।
हामीलाई श्रद्धाञ्जली दिन आउने नेताहरुले मनमनै आन्दोलनमा तिमीहरु नमरेका भए कहाँ हामीले यसरी मस्ति गर्न पाउथ्यौँ र भनेर गिज्याए झैँ लाग्छ। हाम्रो चर्चा होस् भनेर हामीले शहादद प्राप्त गरेका हैनौँ नि लोहनी जि। हामीलाई केही सम्मान दिनु पर्दैन। बस मुलुकको विकास गरिदिए हुन्छ। सवल र सक्षम राष्ट्र बनाइदिए हुन्छ।
लोहनीः साँच्चै मन रुन्छ है?
गंगालालः नरोला त लोहनी जि? हामीले यही दुर्दशा देख्न आफ्नो आहुती दिएका हौँ त? तैपनि आशा छ, कोही त जन्मेला नि नेपालमा राजनेता भनेर।
लोहनीः हस् त आफ्नो अमूल्य समय हामीलाई दिनु भयो, तपाईंलाई धन्यवाद।
आदरणिय प्रेतात्माहरु आजको बहस कार्यक्रममा हामीसँग हुनुहुन्थ्यो सहिद गंगालाल। अर्को कार्यक्रममा हामी यसरी नै अर्को विषयमा बहस गर्ने नै छौँ। आजलाई बिदा दिनुहोस्, जय होस्।