चकमन्न शान्त साँझ थियो
निष्पट्ट कालो रात थियो।
बल्यो कतै पिल पिल दियो
त्यो दियो सहिद थियो।
अज्ञानको विषद अन्धकार थियो
कुरीतिको असिम जन्जाल थियो।
सुनायो सत्य र न्यायको गीत कसैले
त्यो गायक सहिद थियो।
घर थियो, परिवार थियो
औसत सुखको जीवन थियो।
खै कुन सपनाले डोहोर्यायो
त्यो स्वप्नद्रष्टा सहिद थियो।
भयंकर शासक गर्जन थियो
सजाय निर्मम, क्रुर दमन थियो।
निहत्था उठ्यो कोही प्रतिकारमा
त्यो निर्भय नवयुवक सहिद थियो।
नेल थियो, फन्दा थियो
पाले, पहरा राइफलको निशाना थियो
खै कुन चट्टानको मन थियो
छाती फुलाइ जल्लाद सामु उभियो
त्यो अमर सहिद थियो।