पुसको महिना, मौसम साह्रै चिसो थियो। कोठामा एक्लै थिएँ। सूर्य चुरोट सल्काएर पिउन थालेँ। थोरै भए नि शरीरले न्यानो महशुस गर्यो।
ओठले चुरोटको स्पर्श अनि मनले साइडमै बजिरहेको नारायन गोपालको 'एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा' गीत स्पर्श गरिरहेको थियो।
चुरोटको धुँवासँगै, गीतको शब्दसँगै मन भावनाको नदीमा डुब्दै, बग्दै र तहिरिदै थियो। मनमा जतिसुकै भावनाका तरंगहरु उब्जिए पनि भावनाहरुलाई मिठो शब्दजालमा बनी कापीका पानामा कोर्न छोडिसकेको थिएँ मैले।
कलम डायरी नसमातेको वर्षौं बितिसकेको थियो। किन किन आज वर्षौ अगाडि लेखिएको डायरी हेर्न मन लाग्यो। बाकस खोलेँ अनि निकालेँ उनै प्रियसीको नाममा लेखिएको डायरी।
डायरीको सुरुको पेजमै लेखिएको थियो 'आफ्नै थियौ या तिमी पराई बुझ्नै सकिएन, माया गरेऊ या घृणा मलाई बुझ्नै सकिएन।'
डायरी पल्टाउदै गएँ, कतै गजल कतै मुक्तक त कतै कविता लेखिएका थिए। सबै रचनाहरु प्रेमिल थिए, अझ भनम् उनकै नाममा लेखिएका थिए। पढ्दा पढ्दै नयनहरु रसाउन थालिसकेका थिए। अझ पाना पल्टाउँदै जाँदा भेटेँ एउटा कथा जसको शिर्षक थियो 'रितु'।
'रितु, सधैँ मुस्कुराई राख्नु है, तिम्रो ओठमा मुस्कान सुहाउँछ' उदास अनुहारमा मुस्कान ल्याउन खोज्दै मैले भनेँ।
उनी पनि के कम, जमिनमा हेर्दै मुस्कुराउन खोज्दै भनिन् 'रोएको त कसलाई नै पो सुहाउँछ र!'
त्यसपछि म चुपचाप रहेँ। यसै त अन्तिम भेट, बोल्नलाई शब्दहरु भेटिरहेको थिएन। सायद उनलाई पनि त्यस्तै भएको हुँदो हो। न उनी बोलिन् न म एकछिन मौनता छायो।
भन्न मन थियो रुदै अङ्गालोमा खसेर, 'मलाई छोडेर नजाउन। तिमी बिना बाच्न सक्दिनँ, म तिमीलाई औधी प्रेम गर्छु रितु' तर मुखबाट निस्कियो 'तिम्रो खुसी, मेरो खुसी। मसँग नबोलेर मबाट टाढा भएर तिमी खुसी छेऊ भने म पनि त्यसमै खुसी।'
उनी चुपचाप रहिन्, केही बोलिनन्। म नै बोलेँ 'हजारौँ तारा भएको आकाशलाई एउटा तारा झर्दैमा, हराउँदैमा के नै फरक पर्छ र? तिमीलाई त म हुनु र नहुनुले केही फरक नपर्ला तर तिमी नहुनुले मलाई धेरै फरक पर्छ प्रिया किनकि तिमी सूर्य थियौ मेरो जीवनमा उज्यालो ल्याउने, अब तिमी नभएसी मेरो जीवन अन्धकार हुन्छ।'
पहिल्यै निराश थिइन्, मेरो यस कुराले झन् निराश हुँदै भनिन् 'मभन्दा राम्री पाउछौँ चिन्ता नलेऊ।'
उनले यति भन्दा मेरो मनमा अनेकौँ उत्तर आइसकेका थिए तर म केही बोलिनँ, चुप रहेँ। धेरैबेर चुप रहेपछि उनले साँझ बोल्ने भन्दै आफू जाने कुरा गरिन् र त्यहाँबाट हिडिन्।
मैले रोक्न सकिनँ, उनी गएको हेरिरहेँ। म नि अगाडि बड्न खोजेँ तर दुई कदमभन्दा अगाडि बड्न सकिनँ। चक्कर आउला जस्तो भयो अनि त्यही भित्तामा अडेस लागेँ। आँखाबाट बग्न खोजेका आँसुलाई गलबन्दीले पुछेँ र केहीबेरमा आफ्नो बाटो लागेँ। साँझ बोल्छु भन्दै गएकी उनले नम्बर, फेसबुक, इमो, सबैमा ब्लक गरिछिन्।
रितु सापकोटा, घर दाँङ। उमेर १९, हाइट ४ फिट २ इन्च। भर्खर +२ पढ्दै गरेकी गोरो छुँदै दाग लाग्ला जस्तो शरीर अनि ती ठूला ठूला आँखा। म सधैँ जिस्काउँदै भन्थेँ 'तिमी रितु होइनौ, तिमी त वसन्त रितु हौ, मेरो जीवनलाई हरियाली बनाउने।'
अनि ऊ भन्थी, 'होइन ब्यारे, म त वर्षा रितु हुँ। तिमीलाई प्रेमले नुहाउने।'
'प्रेमले नुहाउँछु भन्थी, आँसुले नुहाएर गई' मनमनै सोचेँ।
मलाई गाजल लगाएको गाजलु आँखा मनपर्ने, उनलाई गाजल लगाउन मन नपर्ने। भेट्न आउँदा आँखामा गाजल अनि निधारमा गाजलकै टीका लगाएर आउन भन्थेँ म तर उनी भन्थिन् 'नाइ, म गाजल लगाउदिनँ। मलाई गाजल लगाउन मन लाग्दैन।'
'मेरो लागि भए पनि लगाएर आउन प्लिज।'
'नाइ नाइ नाइ।'
'प्लिज प्लिज।'
'गाजल लगाको मन पर्ने भए गाजल लगाउने केटी खोजन त,' उनी हाँस्दै भन्थिन्। जति नाइ नाइ भने नि भेट्न आउँदा नयनभरि कालो गाजल अनि निधारमा गाजलकै टीका लगाएर आउथिन्।
उनलाई देख्नासाथ मेरो दिमागमा एउटा गीत आउथ्यो 'गाजलु ती तिम्रा ठूला ठूला आँखा, तिर बनी बस्यो यो मनैमा।'
बाटोमा सँगै हिड्दा म उनको हात समात्न खोज्थेँ। उनी रिसाउँदै तर्किनथिन्। कहिलेकाहीँ अँध्यारोको मौका छोपी अङ्गालो नै हाल्न खोज्थेँ। उनी रिसाउँदै हातमा चिमोटिदै भन्थिन् 'धेरै नचल है, मान्छेले हेरिराछन्, यस्तै गरेऊ भने कहिले नि भेट्दिनँ नि फेरि।'
उनले यति भनेपछि उनको काँधबाट आफ्नो हात हटाउथेँ। उनी भन्थिन् 'तिमी मलाई यति धेरै माया गर्छौ, यदि तिमीसँग बिछोड भयो भने म बहुत धेरै रुन्छु होला।'
कथा धेरै लामो थियो, यति पढ्दासम्म उनको मुहार मेरो आँखासामु नाच्न थालिसकेको थियो। आँखाबाट आँसु झरेर डायरीका शब्दहरुमा लतपतिएको थियो।
दुई वटा चुरोट सकिसकेको थियो अनि साइडमा गाना बजिरहेको थियो 'न हम तुम्से कुच कर पाए न तुम हम्से कुच...।'
कलेज लाइफको मेरो रियल प्रेम कथा जसलाई मैले रितु नाम दिएर लेखेको थिएँ। जुँगाको रेखी बस्दै गर्दाको कथा जुँगादारी फुलिसक्दा पढिरहेको थिएँ। साँच्ची कति शक्तिशाली रहेछ उसँगको प्रेम, यति वर्ष बितिसक्दा पनि आँखै रसाउने।
अर्को चुरोट सल्काए बाँकी कथा राति पढ्ने भनी डायरीलाई सिरानीमुनि राखेँ र उसको सुगन्ध मिसिएको गलबन्धी काँधमा हाली निस्किएँ कोहलपुरको बजार तिर।