(सन् १८३० को दशकको रुस । मुलुक ठूलो परिवर्तनको प्रसव वेदनामा फसेको छ; सत्ताको दमन चर्को छ; प्रतिरोधका सबै प्रयत्न असफल भएका छन्। त्यस्तो बेला पनि आम मान्छेको संघर्ष, उत्पीडन र आकांक्षाप्रति रूसको मध्यम वर्गमा रुखो उदासिनतामात्र देखिन्छ। विशेषगरी आफ्नो बौद्धिक ठानिएको पुस्ताको यस्तो अनैतिक असंलग्नता देखेर निकै रिसाएका रूसी कवि मिखाइल लेर्मोन्तोभले सन् १८३८ मा ‘दुमा’ अर्थात् ‘चिन्तन’ शीर्षकको कविता लेखेका थिए।
त्यसमा व्यक्त तीखो आक्रोश र गम्भीर आरोपले मेरो समकालीन र अलिकति माथिको पुस्तालाई पनि हाम्रो देशको सन्दर्भमा आफ्नो निरपेक्षता, लाचारी वा भनौं लालचमाथि अलिकति अपराधबोध गराउला कि भन्ने अपेक्षासहित त्यसै कवितामा आधारित यो भावानुवाद प्रस्तुत छ। - जुगल भुर्तेल)
***
मेरो पुस्ता हेर्छु, त्रासद छ दृश्य
खोक्रो छ यसको अँध्यारो भविष्य
आफ्नै ज्ञानमाथि अनेक संशय छ
न बाटो, न यात्रा, कुनै निश्चय छ
उहापोह यस्तो र निरुद्देश्यताले
यो बुढो हुनेछ, अकर्मण्यताले
जे-जे आर्जे पुर्खाले जानी नजानी
त्यत्तिमै रमायौं लाजै नमानी
त्यो अर्कैको गौरवमा बाँचेको जीवन
चुनौती बिनाको निरस, शुष्क यौवन
के नैतिक-अनैतिक कुनै अर्थ छैन
संघर्ष, प्रतिरोध हाम्रो मार्ग हैन
स्पर्धा अगावै डराएर हार्छौं
सत्ताको दासत्व सहजै स्वीकार्छौं
रूखो ज्ञानले कोचीकोची दिमाग
असल भावना झन् कुण्ठित पार्छौं
अन्तरको वाणीप्रति नै छ शंका
उन्मुक्त चिन्तन आफैंभित्र मार्छौं
मेरो पुस्ता हेर्छु, निराश छ दृश्य
निरर्थक छ यसको अँध्यारो भविष्य
न आनन्दले पियौं जीवनको प्याला
न तन्नेरी ऊर्जा नै सञ्चित रह्यो
थोरै खुसीमै अति धेरै रमायौं
जीवनको रस सब सुकेर गयो
स्वप्नील कविता र रचनाले कलाको
गराउँदैन उत्साहको सञ्चार तनमा
व्यर्थको लालचले भरेका छौं हृदय
उत्कृष्ट भाव कहाँ अट्छ मनमा?
न घृणामा छ उन्माद, न प्रेममै समर्पण
त्यसै द्वेष पाल्ने, त्यसै प्रीति थाल्ने
भकभक उमाल्ने रगतमा छ आगो
तर छैन तातो चिसो मन पगाल्ने
फगत भीड हौं हामी, सबले बिर्सिनेछन्
यी आवारा पाइला, सबै मेटिनेछन्
न सोच नौलो, कुनै बाँडी जान्छौं
न सृजन सुनौलो, कुनै छाडी जान्छौं
मेरो पुस्ता हेर्छु, दुःखद देख्छु दृष्य
कहाली लगाउने छ यसको भविष्य
उपहास हुनेछ हाम्रो, भोलिको इजलासमा
तिरस्कृत हुनेछ स्मृति, सन्ततिकै माझमा!
मेरो पुस्ता हेर्छु त्रासद छ दृश्य ...