काँचो पृथ्वीको एक टुक्रामा
एक मजेत्रो रहर बिछ्याएर
बस्यो फेदङ्वाको छेवैमा
छोयो थालका अक्षता
हेरायो जोखना
'किना पो बनेना हाओ तुम्बा मेरू बुढी आमा?´
पातलै भए पनि
आएकै हुन् जुँगादारी
खुद भाले भएकै प्रमाणमा
नाचेकै हो माघेनी मेलामा धान नाच
मेन्छ्याको दाहिने हात समाएर
गाएकै हो दुई/चार तुक्का पालाम
बिहेमा-
खुवाएकै हो गाउँ डाकेर भोज
बुझाएकै हो ससुरालीमा चारै कलम रित
चढाएकै हो देवी देउरालीम नुमाफुङ
मन्साएकै हो भूतप्रेत
बाउ बन्ने आशामा-
भाले मन्साउँदा मन्साउँदै
बनाएकै हो रित्तो खोर
बुढी बोजूकहाँ गएर
हेराकै हो हात
बरू-
मेटी गए हातका रेखा
अँह, नेटो काट्दै गयो उमेरले
हुन छाड्यो स्वास्नीको पनि मासिक धर्म
सर्लक्कै सुकी गयो
तमोरको किनारीझैँ वैँशालु यौवन
न आमा बनी स्वास्नी
न बाउ नै बन्यो साइँलो।
आजकाल-
आँगनको डिलमा बसेर
खोसेलामा हाङपाङे सूर्ती तान्दै
हेरी बस्छ तल बग्दै गरेको तमोर
र भन्छ मनमनै-
'यो नदी र म उस्तै-उस्तै पो र´छौँ
भाले भनूँ कि पोथी?'
उठ्यो जुरुक्कै
पर्तिर डिलमा उभिएर
करायो गाउँ नै हल्लिने गरी
'हना हाओ आदाङ्वा आदाङ्वासे
कल्लेचन राखी पठाकु ह च्याँठाओरू
मेरो नाउँ भाले साइँला?´