असाध्यै राम्री रिसेप्सनिस्ट लिएर आयो प्रिन्सिपलले स्कुलमा। ज्ञान ठूलो भन्ने त तर्क मात्रै हो, आज पनि सुन्दरताले कज्याएकै छ दुनियाँलाई। नत्र सरस्वतीको मन्दिर स्कुलमा राम्री केटी नै किन आवश्यक पर्यो।
फेरि सोच्छु, उसले राम्री हुन पनि नपावस्? मैले डाहा गरेर भो। ऊ मलाई हेरेर मुसुक्क हाँस्थी। विस्तारै–विस्तारै हाम्रो दोस्ती घनिष्ट पो हुँदै गयो।
क्यान्टिनमा खाजा खाने बेला जहिले म एक्लै हुन्थेँ। सर र मेडमहरुको गुट थियो। त्यो गुटमा म अटाउदिनँथेँ। आ-आफ्नो लोग्ने स्वास्नीको कुरा काटेर बस्थे। बिहे गरेको यत्तिका वर्ष भयो तर रोमान्स शून्य छ।
रोमान्स पनि कला हो, यसमा सिर्जनशील हुनुपर्छ भन्ने केही थाहा छैन। बाउआमाले कस्तो गवार छानेर बिहे गरिदिए। माया छ, तर रङ न ढङ केही छैन। यस्तो गुनासो लोग्ने मान्छेको हुँदो रहेछ।
आइमाईको कुरा अर्कै छ। आइमाईको पनि मन हुन्छ, इच्छा हुन्छ, बेला हुन्छ, कति समय भन्ने हुन्छ, केही मतलब नराख्ने। बस् आफूलाई मन लाग्न पर्यो, सक्कियो। छ्वास्स छोएको भरमा दुई–दुई वटा बच्चा पाइदिहाले। नत्र नार्मदीको केही उपाय छैन।
आफूलाई पीडित देखाएर सहानुभूति लिएर लब गर्ने पनि ठूलो कला रहेछ। सोह्र–सत्र वर्षको उमेरमा बिग्रने सम्भावना बढी हुन्छ भनेर त्यस्सै भनेका रहेछन्। मान्छे त पैतिसदेखि पचासका बढी बिग्रने रहेछन्।
तर मैले आजकल साथी पाएको थिएँ। ऊ मलाई माया गरेर सोध्थी-
‘दिदी, साँच्चै हजुरले भने जस्तै हाम्रो स्कुल काठमाडौँभरिकै सबसे राम्रो पढाइ हुने स्कुल हो?'
म उसको कुरा सुनेर हाँस्थेँ। म यो स्कुलको काउन्सिलर, मेरो कामै अरु सबै स्कुल नराम्रो, हाम्रो राम्रो भन्नुपर्ने जागिर खाएसी बोल्न परेन।
फेरि ऊ सोध्थी ‘बिहानदेखि बेलुकासम्म यस्तो झुटो बोलेर थाक्नु हुन्न?'
खुलामञ्चमा नेताहरु भट्याउछन्, विद्यालयमा शिक्षक भट्याउछन्, खलासी भट्याउछन्, साग बेच्ने, जुत्ता–लत्ताकपडा बेच्ने लगभग सबै भट्याउछन्। मान्छेलाई एकथोक-एकथोक नभट्याइ सुख छैन। हामी यस्तै कुरा गर्थ्यौँ। खुबै हास्थ्यौँ। छोटो समयमै सुख–दुख साट्ने साथी भएका थियौँ।
तर मेरो खुसी धेरै दिन टिक्दैन। ऊ आजकल खाजा खाने बेला हराउने गरेकी थिइ। ऊ मलाई केही नभनी निस्कन्थी। म फेरि क्यान्टिनमा खाजा खाने बेला एक्लै हुन थालेँ। एकदिन मलाई रिस उठ्यो र सोधेँ-
‘तिमी कहाँ जान्छ्यौ खाजा खाने बेला? म कुरेको कुरै हुन्छु।'
उसले सानो स्वरमा भनि ‘प्रिन्सिपल सरले दरबारमार्ग खाजा खान लैजानु हुन्छ। दिल्लीबजारको पिपलबोट निर गएर बस है भन्नुहुन्छ। सर पछि गाडी लिएर आउनुहुन्छ।'
'ए बरै, कुरा यस्तो पो!'
त्योबेलादेखि उसका कुरा सुन्न पर्ने भयो। ऊ प्रत्येक दिन सरले यस्तो उस्तो गिफ्ट किन्दिनुभयो भन्थी। फिल्मको हिरोइनले जस्तो ऊ स्कुलमा पनि दिनकै नयाँ र महंगा लुगा लगाएर आउथी। म राम्रो लुगा लगाएर आको सरलाई मनपर्छ रे भन्थी।
एकदिन उसले हातको औठी देखाउदै भनी- 'सरले किन्दिनु भएको डायमण्ड।'
'डायमण्ड नै पो हो?'
'हो नि, हेर्दा स्यानो तर दुई लाख पर्यो।'
'बाफ रे! हाम्रोतिर दुई लाखमा पाँच कठ्ठा खेत नै आउछ।'
'अनि के, पाँच कठ्ठा खेत लगाएर हिड्न मिल्छ र?' ऊ मलाई हेपेर बोल्न थाली।
स्कुलमा तलब समयमा आउन छोड्यो। पाँच मिनेट ढिला आएको नहुँमा तलब काटिन थाल्यो। आकस्मिक छुट्टीको पैसा काटिन थाल्यो। यो वर्षदेखि दसैँ भत्ता काटियो। सरकारी जागिर हो र भत्ता दिनलाई भन्न थाल्यो प्रिन्सिपल। अब बोर्डिङ स्कुलको कमाइले डायमण्ड किन्न थालेसी कर्मचारीलाई त्यसको असर पर्ने नै भयो।
पहिले–पहिले ऊ दिनको दुई घण्टा हराउथी। यसपालि स्कुल नआएको धेरै दिन भएको थियो। के भो र, स्कुल नआएपनि प्रिन्सिपलकी प्यारी उनको तलब पाकिहाल्छ!
पन्ध्र दिनमा अझ धेरै खुसी र चमकता अनुहारमा लिएर आइ। सँगै मलाई टिसर्ट र चकलेट पनि ल्याइदिएकी थिइ।
'आबी! आज के हो र? मेरो जन्मदिन होइन।'
'म माल्दिभ्स घुमेर आएको, सरसँग। त्यति टाढा पुगेर तपाईलाई गिफ्ट ल्याइदिन परेन त!'
'विदेश नै पो?'
'हो त, कस्तो रमाइलो भयो।'
'अब विदेश नै घुम्न गएपछि रमाइलो हुने नै भयो।'
एकदिन म्याम (प्रिन्सिपलको पत्नी) ले मलाई फोन गर्नुभयो र भेट्न बोलाउनु भयो। म अचम्ममा परेँ। हुन त म्याम कहिलेकाही स्कुल आउदाँ मलाई कलम, डायरी, कहिले चकलेट ल्याइदिनु हुन्थ्यो। छुट्टै माया गर्नुहुन्थ्यो अरुलाई भन्दा। शनिबारको दिन बिदा पारेर म्यामलाई भेट्न गएँ।
स्कुल मात्रै होइन, प्रिन्सिपलको घर पनि धरासायीमा पर्दै गएछ। म्यामले सरमाथि शंका गर्नु भएको रहेछ। मलाई सोध्नु हुन्छ, सरको कोसँग चक्कर चलेको छ भनेर। अब मलाई थाहा छ भन्दैमा आफ्नै प्रिन्सिपलको पोल खोलौँ त बल्ल बल्ल पाएको जागिर सिद्धिन्छ। मैले आफूलाई यसबारैमा केही थाहा नभएको बताएँ। तर म्यामले मलाई इमोस्नल ब्याकमेल गर्न थाल्नुभयो।
'म तिम्रो दिदी जस्तो मान्छे। तिम्रो दिदीमाथि यस्तो भएको भए तिमी चुप लाग्थ्यौ? मेरो दश वर्षकी छोरी छ, अब यो उमेरमा मेरो घर बिग्रेर ध्वस्त भएको छ। कहाँबाट सुरु गरौँ, म के गरौँ? म कसलाई भनौँ आफ्नो लोग्ने बिग्रिएको र सिद्धिएको कुरा।'
म म्यामको कुराले पग्लिएँ। छोरीको कसम खुवाउदै रिसेप्सनिस्ट र सरबीचको कुरा सुनाइदिएँ। म्यामले पनि यही शंका गर्नु भएको रहेछ।
कुनैपनि कुराको अन्त्य गर्न सुरु गर्नु त पर्यो। म्यामले सरसँग 'रिसेप्सनिस्टसँगको सम्बन्ध के हो?' भनेर सोध्नु भएछ। तर सरसँग कुनै डर भय ग्लानी थिएन रे। 'एकदिन थाहा हुने कुरा थियो। आजै भयो, राम्रो भयो' भन्नु भएछ।
'हामी दुईजना एक–अर्काबिना बाच्न नसक्ने' कुरा गर्नु भएछ। दुई जनालाई मिलाएर माया गरेर राख्ने कुरा गर्नु भएछ। आफ्नै बुढोलाई सम्झाएर नसकेपछि म्यामले केटीसँग कुरा गर्नु भएछ। केटीको तर्फबाट पनि 'सरबिना बाच्न नसक्ने' कुरा आएछ।
आफूले नसकेपछि म्यामले घरपरिवार, माइती बटुलिछन्। झन् सबैको अगाडि त 'त्यो केटीलाई बिहे गर्न नपाए, आत्महत्या गर्छु' भनेर सरले धम्क्याउन थालेछन्।
'सिन्दुर पोते लगाए नि सौता आएसी म राडी हुन्छु। बरु तिमी आत्महत्या नै गर, तिमी मरेसी म पक्काको राडी हुन्छु। कमसेकम यो समाजले लोग्ने सम्हाल्न नसकेकी भन्नुभन्दा भाग्य नभकी रैछ भन्छ नि। मलाई सानत्वना दिन्छ नि।'
घरमा रातदिन झगडा, कलह सुरु भयो। 'टन्न पैसा कमाएर दिँदा टाउकोमा टेक्ने लौ खा अब ठूलो भाग' भन्दै सरले बोर्डिङ स्कुल बेचिदिनु भएछ। खासमा उहाँ ऋणमा चुर्लुम्म डुबेर बेच्नु भएको थियो।
स्कुल बेचेर पनि ऋण तिर्न नसकेपछि घर बेचेर भाडाको घरमा सिफ्ट हुनु भएछ। म्यामले फोन गरेर आफूहरु सिद्धिएको, लोग्नेको लबले सडकमा ल्याएको कुरा गरेर रुनु हुन्थ्यो।
सरले स्कुल बेचेपछि हामी सबैको जागिर गयो। खासमा स्कुल बेच्ने र किन्नेबीच राजनीतिक दल नमिलेको कारणले सबैको जागिर गएको रहेछ। सरकार परिवर्तन भएपछि मन्त्रिपरिषदमा नयाँ नै आउने भए।
प्रिन्सिपलको लबले क्षणभरमै बेरोजगार भैयो। अब यो मार्कसिट बोकेर जागिरको लागि कहाँ–कहाँ भौतारिनु पर्ने हो। फेरि, मलाई झल्यास्स ती आ-आफ्नो लोग्ने स्वास्नीको कुरा काटेर जोडीमा बाधिएका सर र मेडमहरुको याद आयो। अब तिनीहरुले पो एउटै बोर्डिङ स्कुलमा जागिर पाउलान् कि नाइ।
लामो समयपछि, म्यामले मलाई फोन गर्नुभयो। केटीले अमेरिकाको पिआर भएको केटोसँग बिहे गरेर गैछ। केही समय सर निकै रन्थनिएछन्। त्यो केटीलाई जहाँ भेट्यो, त्यही काट्छु भन्थे रे। पछि म्यामसँग माफी मागेछन्। म्यामलाई माफी नदिइ सुखै थिएन।
'तर पनि बैनी, एउटै ओछ्यानमा एक-अर्काको अंगालोमा बाधिए पनि पहिले जस्तो आत्मियता छैन, सर्मपण छैन मेरो। मन खिन्न हुन्छ। यति माया गर्दा पनि यो लोग्नेले मलाई कम्ता रुवाएन। एकचोटि बिग्रेको सम्बन्ध पहिले जस्तो नहुने रहेछ। हामी काठमाडौं बस्न नसकेर, गाँउ फर्कियौँ। अहिले यतै खेतीपाती गरेर बसेका छौँ। यही एउटा छोरी र माइतीको इज्जतले बाधिएकी छु।' म्यामले यस्तै सुनाउनु भयो।
एकदिन म फेसबुक चलाउदै थिएँ। मेरो आँखा ‘आर यु क्रेभिङ फर क्वालिटी एप्पल? इफ एस देन प्लिज रिमेम्बर अस!' भन्ने मान्छेतिर गयो। यो स्याउ बेच्ने मान्छे को हो? कहाँ-कहाँ देखेजस्तो, चिनेजस्तो। हाम्रै नाता पर्ने जस्तो लाग्यो।
यो होला भनेर धेरैलाई सम्झेँ तर ठ्याक्कै चिन्न मलाई लामो समय लाग्यो। ओहो! मेरो प्रिन्सिपल सर फेसबुकमा स्याउ बेच्दै! बोर्डिङ स्कुलको प्रिन्सिपल पो हो त, प्रिन्सिपलले जे बेचेपनि अंग्रेजीमै बेच्छ नि।