हेपिएका, लखेटिएका र दबाइएका यादहरूलाई मनबत्तीको साहाराले हेर्दैछु,
संघर्ष, शंखनाद र सम्झौतामा गन्जागोल धागाहरूलाई लट्टेमा बेर्दैछु,
जीवनका अन्तिम सास स्थिर शैयामा फेर्दैछ,
बस् यो जीवनको युद्धलाई समाप्त पार्न एक युद्ध छेड्दै छु।
पग्लिने मैनबत्तीभन्दा मनबत्तीले युद्धका झिल्को फालिरहेछ,
झिल्काले झोसेर, चितामा पुगेर एक लास सास टालिरहेछ,
चितामा लास होइन, एउटा उज्जवल भविष्यको आस बलिरहेछ,
युद्धलाई समाप्त पार्न एक युद्ध काफी छः तर सिपाही होइन, मलामी रहेछ।
उठेर बसेका अनि फुटेर जुटेका पंक्ति पच्छे पहाड झै यो जीवन,
उकाली पार गर्न नपाउदै उक्लिनु पर्ने हजारै पहाड छन्,
आऊ एकपल्ट झन्डा फहरऊः कालो, निलो, पहेलो, हरियो र रातो समात
कुन कित्तामा छ तिम्रो मन,
युद्धलाई समाप्त पार्न एउटा युद्ध लड्दैछु रणभूमिमै त्याग्नु छ यो जीवन।
शान्ति, तप, जप र बुद्ध खोज्दै सकिएको मैनबत्ती,
बालेर हेरे पाइन्छ कि कतै भनेर मनबत्ती,
न राप छ न ताप छ, सोच्दा जलिरहन्छ मन कति
आज एउटा युद्ध लड्दैछु, युद्ध समाप्त पार्न फिरेर मति।