कविता
आउन साथी, एकछिन एकअर्कालाई गाली गरौँ
तिमी त्यो कुना बसी मलाई गाली गर,
म यो कुना बसी गाली गरौँला।
माया प्रेम त फेरि मौका मिले गरौँला,
गाली गरेर समय रह्यो भने देश विकासले भरौँला।
त्यसैले, आउन साथी
तिमी उताबाट मलाई गाली गर,
म यताबाट तिमीलाई गाली गरौँला।
प्रेममा परी मेरो मन्द मुस्कानलाई मोनालीसासँग दाजेका थियौ
अहिले त नन्दी भ्रिंगी भनेर सम्बोधन गर्छौ रे।
तिमी पनि त प्रेमालापमा बिलिन भइ मेरो जुठो खाएका थियौ
अहिले त हत्याराको आरोपमा गिरफ्तार गर्छु भन्छौ रे।
भो छोड यस्ता कुराहरू,
तिमी धुम्बराहीको वल्लो कुनाबाट गाली गर,
म धुम्बराहीको पल्लो कुनाबाट गाली गरौँला।
क्रान्तिले गर्मी भयो भन्यौ भोट गयौ,
तर, तिमी निष्ठुरी उतै माया लायौ रे।
बल्ल बल्ल यो मन सम्झाएँ
तिमीलाई फकाएँ,
फेरि तराई झरी माया बाड्दै हिड्यौ रे।
यति त ठिकै थियो
तर त्यताका मेरा आफन्तलाई पो भाड्यौ रे
भन त म कसरी सहूँ?
जता गयो उतै माया लगाउछौ,
मलाई कति सताउछौ,
भो अब छुट्टिऔँ होला।
त्यसैले आउ एकअर्कालाई भुटौँ,
तिमी पटटट उताबट गालीका गोली बर्साउ,
म यताबाट भटटट गालीका भाला बर्साउँला।
म पनि त १७ हजार लासले तर्सिन्थेँ
तै पनि कुर्ची पाउछु कि भनी भैसी पूजी फर्किन्थेँ।
तिमी पनि म बिना,
पानी बिनाको माछा सरी तड्पिन्थ्यौ
कतै तिम्रो कुर्सी मैले चोर्छु कि भनी
राती नसुती नसुती कल्पिन्थ्यौ।
भैगो अहिले त्यसलाई पनि छाडीदेऊ,
तिमी पेरिसडाँडाबाट भुक, म बालुवाटारबाट भुकौँला।
म त सुखी नेपाली समृद्ध नेपाल,
तिमी त खिया लागेर खसेको नट
पद चाहिए यता आउ मैले आह्वान गरेकै छु,
किन धेरै गर्छौ नटखट।
म त धुरन्धर भ्रष्टाचार विरोधी,
त्यसैले त ओम्नी, गोकुल सबैले पाए क्लिन चिट
हेर्दै जाउ मेरा उच्चजातका निच शब्दहरूले,
तिमीहरूलाई ठाउँका ठाउँ पार्छु फिटफिट।
आउ साथी एकछिन एकआर्काको उछितो काडौँ
तिमी पल्लो कुनाबाट गोमन साप बनि टोक,
म हरियो घाँसमा बस्ने हरियो साप बनि डस्ने छु।
हामी बुढो भएर के भो र!
आउन छेउ एकछिन बसौँ,
युवा भनाउदा भुसतिघ्रेहरूलाई ठोकौँ।
सुन मेरो हिजो तिमीलाई गरेको गाली,
हेर त भातमारा युवाहरू कसरी ठोक्छन् ताली।
हो, यिनीहरूलाई यसैगरी दलाउनु पर्छ
मैले जस्तै आठ दश वर्ष जंगल डुलाई खाडी चलाउनु पर्छ।
रेमिटयान्स आउछ उताबाट, सँगै लास आए पनि के भो र!
मोज गर्नु पर्छ हामी बुढाहरूले पालै पालो,
यी युवा भनाउदा त जिउदो लास नै हो र।
भो छोड यी कुरा पनि
अझै उल्लु बनाउ पालैपालो यी युवाहरूलाई
जाऊ तिमी उपल्लो गाउँ गएर गाली गर,
म तल बेसी झरी गाली गरौँला।
(लेखक क्यानडामा जलस्रोत विज्ञको रुपमा कार्यरत छन)