भर्खरै उदाउदै गरेको
सूर्यको किरणबाट
एक चिम्टी लाली सापटी लिदै
आफ्नो मुहार सजाउछिन् मेरी मायालु।
साँझ ढल्कदो घामले
लम्बिदै गएका छायाले
आँखाभरि प्रतिक्षाका तरंगहरु
अनि हत्केला भरि
रमिते डाँडामा फुलेका
गुँरास दिएर जान्छन् उनलाई
बेलुकीका मन्द बतासहरुले
उनका केश राशी सुम्सुम्याउदै
कान नजिकै पुगेर
मायाका बोल फुस्फुसाउछन्।
तर,
तर जब रात पर्छ
छटपटिन्छिन् मेरी मायालु
गोली र बमका कर्ण कटु आवाजहरुले
यत्रतत्र छरपष्ट भएका
बेवारिस लासहरुको दुर्गन्धले
एकनास कोकोहोलो मच्चाइरहेका
विधवा र टुहुराहरुको रुवाइले
बग्छिन् मेरी मायालु
जवान छोरो गुमाएकी
बेसहारा आमाको आँसुमा।
निदाउन सक्दिनन् मेरी मायालु
आँखामा नाच्न होलेरी र बाँदरमुढेहरु
त्यहाँका कारुणिक चित्कार
अनि त्रस्त नयनहरु...
त्यति नै बेला,
गुड्छ मेरी मायालुको छातीमाथि
सर्वहारा नेताले चढेको पजेरो
थिचिन्छिन् उनी स्विस बैंकमा जम्मा
करोडौं रकमको रासले
ऐठन हुन्छ उनलाई
हल्लिन सक्दिनन् उनी
चिच्याउन मन लाग्छ त्यसै बेला
३४ हजार हातहरु उनको
घाँटी अठ्याउन आइपुग्छन्।
हो,
मेरी तिनै मायालु
जसले मसँगै
सर्वहारा वर्गको नाममा लडिन्
सुन्दर र सबल राष्ट्रनिर्माणको
स्वर्णीम सपना बोक्दै...
आज नियतीले मलाई
कतारको मरुभूमिमा सेक्दै गर्दा
मेरो खुट्टामा लागेको
गोलीको खत त हराउदै छ
तर,
काठमाडौँको महा-भूकम्प होस्
या सुदूरपश्चिमको बाढी
केहीले मेट्न सकेन
मेरी मायालुको मानसपटलमा रहेको
युद्धको खत।