कविता
उनीहरू
अर्थात् कमरेडहरू
उबेला
बुवाआमा भन्दै आउँथे।
मुठ्ठी उठाउथे।
लाल सलाम भन्थे।
केटाकेटीदेखि युवायुवती
अनि बा-आमासम्मलाई हात मिलाउथे।
प्रायः
बन्दुक, गोला बारूद बोकेर आउथे।
क्रान्तिका कुरा गर्थे।
'सामन्तलाई मास्न,
सामन्ती व्यवस्था ढाल्न
गरिबको सत्ता ल्याउन
नयाँ जनवादी व्यवस्था
स्थापना गर्न
उठेका बन्दुक हुन यी।
दुर्गम बस्तीमा बन्दुकेहरूका
कमाण्डर र नेता
यसैगरी,
गलो बस्ने गरी,
भाषण सुनाउँथे।
झोलामा सातु खर्च बोकी,
६/७ दिन हिँडेर आएका
गाउँलेहरूका बीचमा।
भाषण सुनाउन ल्याइएका जतिले
कमाण्डरका भाषण बुझे
वा बुझेनन्
तर उबेला
बन्दुकका पछि
झोला बोक्नेहरूको
कमि थिएन।
गाउँका, सम्मेलन अनि बैठकमा
कमाण्डर नेताका पनि नेता
अर्थात्
सर्वोच्च कमाण्डर नेताका विज्ञप्ति
पर्चा पम्प्लेट बाँडिन्थे,
'दश वर्षमा क्रान्ति सम्पन्न हुन्छ।
अर्थात् नेपालमा गरिबको सत्ता आउँछ।
जनवादी व्यवस्था आउँछ।
नेपाल स्वर्ग बन्छ।'
उबेला
त्यै आशमा
हजारौंले
नर्क या स्वर्ग
के हो कुन्निको बाटो रोजे।
महान शहिदका नाममा।
नभन्दै सर्वोच्च कमाण्डर सहित
धेरै कमाण्डर नेताहरू
१० वर्षमा सहर पसे।
२/४ वर्षमा सहर पसेका कमाण्डर नेताहरूले
गाउँ भुले,
झोला बोकाइएका झोलेहरू भुले।
आफैले दिएका आश्वासन भुले।
गरिब किसान बा-आमा भुले।
बन्दुकेहरूले खोसेका बन्दुक बुझाएर
स्वर्गको बाटोमा बली चढाएका
ती सबैलाई भुले।
सहरका ढाडे बिरालोसँग लागेर
कुर्ची तानातान ढुंगा हानाहानमा
आफैलाई भुले
धनदौलतका महलमा
खोइ के हो गरीबको सत्ता?
सर्वहारा कमरेडहरू
सबैसारा भुलेर सहरमा
कहिले यता ठिक्क
कहिले उता ठिक्क गर्दै गरे।
यता,
उबेलाका बन्दुके र झोलेहरूले साथ छोड्दै गरे।
आज
कमरेड
यता न उती
म्याउँ!
के जाते त्यो
जनवादी व्यवस्था
साइढाडे लिलामा
उछिट्याउँ!
म्याउँ कमरेड! म्याउँ
हामी यहाँ छौं!