प्रिय छोरी,
आज तिमी भौतिक रुपमा यहाँ भएकी भए अठार वर्ष लाग्थ्यौ, कानुनी रुपमा वयस्क हुन्थ्यौ। तिमीलाई जन्मोत्सवको धेरै धेरै शुभकामना मेरी प्यारी! जहाँ छ्यौ, मलाई विश्वास छ यहाँभन्दा निकै खुसी छ्यौ। यस जन्ममा भोगेका पीडा बिर्सिएकी छौ होला।
छोरी, तिमीलाई गुमाउनु मेरो जीवनको सबैभन्दा ठूलो पीडा हो। सन्तान वियोगमा नरुने को नै छ र? तर मलाई अझ बढी पीडा तिम्रो अन्तिम समयको अवस्थाले दियो।
तिमीले आफ्नो मगजमा मेरो अन्तिम रुप के देख्यौ वा के सम्झियौ मलाई थाहा छैन, तर अस्पतालको बिस्तरामा रगतपच्छे भएर लडेकी छोरीको दृश्य र आर्यघाटमा बाबा र मेरो चित्कार सुन्न नसक्ने तिम्रो शरीर नै अफसोस! दैवले मलाई नमिठो उपहार दिए। मेरो कुन जन्मको पापको भागिदार तिमी भयौ छोरी?
मलाई त्यो कालो दिन अझै याद छ, दैवले मेरो संसार पल्टाइदिएको दिन। सधैं बाबा र मसित हाँस्ने जिस्किने तिमी, त्यस दिन पनि हर्षित मुद्रामा थियौ। 'साथीसँग दिउँसो घुम्न जान्छु है मामु, आज पिज्जा खान जाने' भनेको बेला बरु नजाऊ छोरी भनेको भए हुने रहेछ। दुई दिन रिसाउथ्यौ, बरु त्यो सहने थिएँ। बिछोडको अवस्था सिर्जना नै हुने थिएन होला नि है।
साँझसम्म धर आइनौ तिमी, आमाको मन न हो, अनौठो विचलन पैदा भयो। फोन गर्दा नउठेपछि झन् डर लाग्यो। तिम्रो साथीलाई फोन गरेँ, उसले आफू दुई घण्टा अगाडि नै घर आएको भनेपछि मेरो हंसले ठाउँ छोड्यो। हत्त न पत्त तिम्रो बाबालाई फोन गरें। उहाँले 'चिन्ता नलिऊ, म पत्ता लगाउँछु' भन्नुभयो।
मन कहाँ मान्थ्यो र, तिम्रा चिनेका जति सबै साथीलाई सम्पर्क गर्न थालेँ तर जताबाट पनि एउटै जवाफ- 'यहाँ आएकी छैन आन्टी'।
म पुनः सम्झनामा डुब्न चाहन्नँ, तिम्रो समाचार कसरी आयो भनेर। जे होस्, हामी खबर पाउनासाथ अस्पताल गयौँ। तिमी अचेत थियौ, पुलिसले घेरेको तिम्रो बिस्तरामा पुगेर हेर्ने हिम्मतसम्म पनि आएन मलाई। बाबाले पुलिससँग कुराकानी गर्नुभयो, म सिसाबाट अञ्जान रुपमा तिमीलाई नहेर्ने प्रयत्न गर्दै बसिरहें।
एकक्षणपछि तिम्रो बाबा मेरो समीप आउनु भयो, आँखाभरि आँसु थियो उहाँको। उहाँलाई त्यस्तो देखेपछि म टुटें छोरी, नराम्रो गरी टुटें!
'डाक्टरले बचाउन मुस्किल भनेको छ' केवल यति शब्द बोल्नु भयो र भक्कानो फुटाएर रुनु भयो। बाबा-छोरीको सम्बन्ध हुन्छ नै त्यस्तै, मैले अब आफू साहसी हुनुपर्ने बुझेँ। प्रहरीले सोधपुछ गरे अनुसार मैले जवाफ दिएँ, डाक्टरलाई के कसो सबै सोधें।
म ढाँट्दिनँ छोरी तिमीलाई, ती हरेक वार्तालाप मेरा निम्ति निक्कै कष्टदायी थिए, कसैले बारम्बार छातीमा भाला रोपेको भान हुन्थ्यो। तिमीले त झन् कति सह्यौ हगि? त्यस समयमा तिमीलाई पीडा मिश्रित सोच के के आयो होला, म कल्पना पनि गर्न सक्दिनँ।
एक बलात्कारी पुरुषले तिमीलाई चोट पुर्याएको थियो। त्यत्तिले मात्र नपुगेर पापीले फलामे रड तिम्रो गुप्ताङ्गमा छिराएर तिमीलाई अझ घात पुर्यायो। हाम्री प्यारीलाई त्यस्तो पीडा दिन तिमीले के नै बिराम गरिदिएकी थियौ र त्यो पापीलाई? जसोतसो तिमीलाई हेर्ने आँट गर्दा देखेँ, घाउ नभएको कहीँ थिएन, जताततै ब्याण्डेज, स्लाइन, काम्रो, सुई अनि अरु के के जाति। तिम्रो हात समाएर म धेरै रोएँ।
आखिरमा त्यो दिन आयो, करिब एक हप्तापछि तिमीले एक्कासी श्वास लिन छाड्यौ। केही कुराको प्रतिक्रिया दिन छाड्यौ। जब मलाई सत्यको बोध भयो, म स्वयं अचेत भएछु। तिम्रो बाबा र दादाले के गरे, मलाई केही थाहा छैन। केही समय पश्चात् जब मलाई होस आयो, हामी शव बाहनमा थियौं।
तिमीलाई एकपटक घर पुर्याएर अनि आर्यघाट लग्यौँ। ब्रह्मनालमा तिम्रो पार्थिव शरीर राखुन्जेलमा म शून्य भैसकेकी थिएँ, आँखा सुख्खा थिए मेरा। उता बाबा बेहोश हुँदै, ब्युझदै, रुदै गर्नु हुँदै थियो। तिमीसँग सधैँ चल्ने, रिसाउने, जिस्कने तिम्रो दादा पनि वयस्क भैकन पहिलो पटक रोएको देखें मैले।
मेरा त आँसु सक्किएका थिए, म केवल एक मुकदर्शक भै बसेँ। तिमीलाई चितामा राखियो, हामी सबैले तिमीलाई बिदा गर्न अन्तिम पटक हेर्यौं। तिम्रो फिँजारिएको कपाल सुम्सुम्याउँदा मनले कति थोक भन्यो तर मुखबाट वाक्य फुटेन मेरो।
तर तिम्रो दादाले 'राम्ररी जा है बुनू' भनेपछि मैले आँसुका ढोका फेरि खोलेँ। तिम्रो मुहार कति पटक चुमेँ मैले, बाबा तिम्रो हात सुम्सुम्याउन थाल्नु भयो। मैले ऐया! भन्दा 'के भयो मामु?' भन्दै कुदेर आउने छोरी, आज मेरो यत्रो चित्कार सुन्दा मौन भइ चिर निद्रामा गएको कुरा मेरो मन मगजले प्रशोधन गर्न सकिरहेको थिएन।
अन्ततः तिमी उडेर गयौ, धुवाँसँगै, हामीलाई सत्र वर्षसम्म मिठो हर्षका पलहरु दिएर, सदाका लागि हाम्रो संसार अन्धकार बनाएर गयौ। भगवानलाई सायद तिम्रोझैँ राम्रो आत्माको खाँचो थियो होला।
अफसोस छोरी! मैले तिमीलाई आजसम्म न्याय दिलाउन सकेकी छैन। घटना ताजाताजै हुँदा सञ्चारका माध्यमहरुले केही समय कभरेज दियो, प्रहरीले केही दिन प्रयत्न गर्यो तर घटना सेलाउँदै जाँदा विस्तारै सबै निकायले तिमीमाथि भएको निर्मम व्यवहार बिर्सिए, एउटी आमाको आँसुको भार बिर्सिए।
आज पनि तिम्रो दोषी, तिम्रो हत्यारा खुला भइ घुमेको छ भन्ने आभाष हुँदा मुटु फुटेर आउँछ। म कहाँ कहाँ धाइनँ छोरी? बाबाले के के गर्नु भएन? दादाले कुन प्रहरी चौकी छुटायो होला धाउन?
तिम्रा निम्ति एक दिन मैनबत्ती बोकेर मानिस सडकमा निस्किए, तर न त त्यो मैनवत्तिझैँ सरकारको मन पग्लियो, न त अरु कसैले आवाज नै उठायो। केही दिन तिम्रा लागि सामाजिक सञ्जालमा ह्यास्ट्यागको लहड चल्यो।
के दिन आयो छोरी, केही आइपर्दा खुकुरी लिएर निस्कने, विद्रोह गर्न पछि नपर्ने वीरका सन्तान अहिले मैनबत्ती बाल्न र सामाजिक सञ्जालमा शेयर गर्नमा सीमित भयो। रामायण, महाभारतजस्ता ग्रन्थ पढेर अनि तिनका कथा सुनेर महिलाको इज्जतको महत्व बुझ्दै हुर्किएका कतिपय मानिसहरु अहिले दुर्योधन हुन थाले।
सन्ताप नमान छोरी! बाबा, म, दादा- हामी सबै तिम्रा निम्ति लड्ने छौं, लडी रहने छौं। न्याय मिल्ला भन्ने आशा त धुमिल भैसक्यो, तर तिम्रो आत्मसम्मानका लागि बाचुञ्जेल रोकिने छैनौं। अहिले अवस्था झन् बिग्रिएको छ, दैनिक ७-८ वटा बलात्कारका घटना सुनिंदै छन्।
हामीलाई थकान महशुस नहोस् कहिल्यै भगवानसँग प्रार्थना। सतीले सरापेको र निर्मला पन्तजस्ता कैँयनले न्याय नपाएको यो मुलुकमा तिमीलाई न्याय दिलाइ मानिसमा एउटा आशाको किरण उत्पन्न गर्ने सपना छिटै पूरा होओस्। धेरै धेरै माया छ मेरी मुटु!
तिम्री 'आमै।'