राजनीतिको गन्ध साह्रै गनायो
यही राजनीतिले यहाँ जुलुस बनायो
कति भए हर्ताल, जुलुस कति छरिए फहरा
कतिको टाउकै फुट्यो कति थर्किए पहरा
कतिको त अकालमै ज्यान पनि लाग्यो
कतिलाई टुहुरा अनि बिधुवा बनायो
राजनीतिको गन्ध साह्रै गनायो।।
पटक पटक चुनाव आउने नेता रमाउने
जनता सधै दुख पाउने सरकार कमाउने
पाँच वर्षामा आउने चुनाव तीन वर्षमै आयो
कोरोना छदा छदै पनि आन्दोलन छायो
नेताहरू सडकमा जनता दुखमा
कोही भन्छन् सूर्यमा भोट कोही रूखमा
सरकारले चुनावको जुलुस जनायो
राजनीतिको गन्ध साह्रै गनायो।
राजनीतिको गन्धले कसैलाई पुर्यायो खाडी
जनता सबै खाडी तिर नेतालाई करोडौंको गाडी
चुनावमा घुडा टोकी टोकी भोट माग्ने
चुनाव जित्यो कुर्सी पायो विदेश तिर भाग्ने
जनताका बच्चा अझै पनि पढ्न नपाउने
चुनाव जितेपछि नेता बोल्न नभ्याउने
कुर्सीले नेतालाई व्यस्त बनायो
राजनीतिको गन्ध साह्रै गनायो।
टाउको फुट्यो, सत्ता फुट्यो कुर्सी उफ्रियो
गणतन्त्र रहुन्जेल राजनीतिको फोहोर थुप्रियो
कहिले सकिन्छ राजनीतिको फोहोर, हेराइमा छौ
जति गन्धित राजनीति भए पनि हामी, स्वाभिमानी नेपाली हौँ।