कल्पनाको काँचो कागजमा
लेखेका ती कलिला सपना
हुर्कियो कि हरायो? भन।
भावनाको त्यो भुमरीमा
फसेको तिम्रो हृदय
निस्कियो कि डरायो? भन।
रहरहरूको त्यो राँको
जलाइ तापको त्यो आगो
न्यानो छ कि पोल्छ? भन।
समयको चपेटामा
च्यापिएको तिम्रो धुन
निसासियो कि बोल्छ? भन।
यादहरूको थोत्रो झोला फालिसक्यौ कि
कहिलेकाहीँ एकान्तमा खोल्छौ? भन।
साँझपख आकाश हेर्दा
जुन-ताराबाहेक के देख्छौ? भन।
यथार्थको कालो कागज,
कालै मसीले के लेख्छौ? भन।
कल्पनाको काँचो कागज …
यथार्थको कालो कागज हुँदासम्म के-के गर्यौ?
कति हाँस्यौ, कति बाँच्यौ?
कति हाँस्नका लागि मर्यौ?
कति बाँच्नका लागि मर्यौ?
के-के गर्यौ? सबै भन न।