कविता
वर्षौंपछि आज मंगल सिंहलाई भेटेँ
दशकौं भएछ हाम्रो भेट न भएको
यो भेट ले फेरि एक पटक
अतितलाई झकझकाइ दिएको छ
हो, त्यही मंगल सिंह
जो मेरो बालापनको सहारा थियो
मेरो अनन्य मित्र
मेरो हरेक बालक्रिडाको सहयात्री
पल्टिए हरेक पानाहरु
जहाँ गुरु सरको बारीमा
हामी काँक्रा चोरेर भाग्दै थियौं
जहाँ सुब्बा बाजेको खोरबाट
कुखुराका अन्डा निकालेर बेच्दै थियौं
भुल्न उसले पनि सकेको रहेनछ
स्कुल छोडेर खोलामा पौडिन जाँदा
घर र स्कुलमा दोहोरो पिटाइ खाएको
नवमीका दिन लाग्ने बजारमा
चकलेटका खोल जम्मा गर्दै
पैसा पैसा खेलेको
मंगल सिंह मेरो त्यही साथी
जसले मेरो गल्ति लुकाउन
आफूले हेडसरको पिटाइ खाएथ्यो
मेरो अँध्यारो अनुहार देख्दा
पिटाइको पीडा लुकाएर मुस्कुराएथ्यो
आज उसलाई यहाँ भेट्दा
चकित भएँ म
त्यो मंगल सिंह
जो जून छिप्पिदै गरेको रात
मुक्तिको सपना देखेर
क्रान्तिको बिगुल बजाउंदै
समतामुखी साम्यवादी समाज बनाउने
कथित जनयुद्धमा होमिएथ्यो
थवाङ्ग, खलंगा, होलेरी
गोपेटार, सल्लेरी
सबै तिर लड्न भ्याएछ उसले
विद्रोहको ज्वालामा आफू सल्किदै
अरुलाई उज्वल बिहानी दिने कल्पनामा
अफसोस,
उसको क्रान्तिले सफलता पाउँदै गर्दा
ऊसँग केवल २ चिज बाँकी रहे
एक, अरबको मरुभूमि
अनि अर्को खुट्टामा लागेको गोलीको खत
कथित क्रान्तिको परिणाम
आज नाइकेहरु
विलाशीतामा रम्दै गर्दा
प्राडो र पजेरोमा हुइकिदै गर्दा
सत्ता र शक्तिको बार्गेनिङ चल्दै गर्दा
संघीयताको नाममा देश र भावना टुक्र्याउदै गर्दा
मंगल सिंहहरु यतै कतै
अरबका मजराहरुमा
सडकको पेटीहरुमा
गाडीको स्टेयरिङहरुमा
समुद्रको गहिराइहरुमा
आफ्नो जिजीविषा खोज्दै छन्
आफ्नो खेर गएको अमूल्य समय सम्झदै।