सानैबाट हामीलाई मानिस सामाजिक प्राणी हो भनेर पढाइयो। सामाजिक भन्नेबित्तिकै त्यसका आफ्नै दायरा र दृष्ठिकोणहरू छन्। सायद सामाजिक भन्ने शब्द सुन्नेवित्तिकै हामी आफू कम र आफूले देखेको समाजको बारेमा बढी सोच्ने गर्छौं।
साहित्यमा पनि त्यसको प्रभाव हुनुपर्छ। हामीले केटाकेटीमा पढेका कथामा म भन्दा पनि ‘ऊ’ सर्वनाम प्रयोग गरेका पात्रहरू बढी भेट्थ्यौं। र, किन-किन ती पात्रहरू आफूजस्तो लाग्दैनथ्यो। अरु नै दुनियाँका मानिसहरूजस्तो लाग्थ्यो। उनीहरूको भोगाइ आफ्नोजस्तो लाग्दैनथ्यो। त्यसैले, आज साहित्यमा निजत्वको प्रयोग र त्यसको प्रभावको बारेमा केही भन्न मन लाग्यो।
निजत्व भन्नेवित्तिकै हामी आफूलाई सम्झन्छौं। चाहेर-नचाहेर कुनै पनि लेख्य चिज लेखकको निजत्वको परिणाम हो। सिग्मण्ड फ्रायड भन्छन्, ‘लेखन भनेको लेखकको अबचेतन चाहनाहरूको परिणाम हो।’
त्यसैले, मेरो लेखाइ मैले देखेको सोचेको दुनियाँ हुँदै होइन भन्न कुनै पनि लेखकलाई गाह्रो छ। सायद, मानिस त्यस्तो प्राणी हो, जसले आफूबिनाको संसार कल्पना गर्नै सक्दैन। त्यसैले, लेखकको निजी अनुभव उसको लेखनमा आउनु कुनै नौलो कुरा होइन भन्ने मलाई लाग्छ।
नेपाली साहित्यमा निजत्व लेखनबारे बहस नभएको त होइन। तर, बहसको घेरा चाहिँ सधैं साँघुरिएको जस्तो लाग्छ। कतिपयलाई लाग्छ- निजत्व लेखन भनेको कुण्ठा लेखन मात्र हो। र, यही कुराले निजत्व लेखनको बृहत्तर बहसलाई रोकिदिन्छ र सधैं झैं हामी मानिदिन्छौं निजत्व लेखन भनेको कुण्ठा लेखन मात्र हो।
नेपालीमा एउटा भनाइ छ, ‘आफू भलो त जगत भलो।’
यो भनाइले खुलेर नै निजत्वलाई ‘सेलेब्रेट’ गर्छ। र, एकमानेमा निजत्वलाई ‘सेलेब्रेट’ गर्नु भनेको आफ्नो अस्तित्वलाई ‘सेलेब्रेट’ गर्नु पनि हो। मलाई लाग्छ- हामी जति नै समाजको बारेमा लेखे पनि हाम्रो जीवनको वृत्त ‘म’ बाट सुरू हुन्छ र ‘म’मा नै अन्त्य हुन्छ। म गलत पनि हुन सक्छु तर कहिलेकाहीँ लाग्छ- जीवन भनेको एकदमै व्यक्तिगत भोगाइ अथवा निजी भोगाइ हो।
हामीलाई सामाजिक प्राणी भनिए तापनि सायद यी निजी वृत्तहरूको सामूहिक प्रतिक्रिया नै समाज हो। निजत्वबाट भिन्न बृहत्तर समाजको कल्पना म गर्न सक्दिनँ। लाग्छ- साहित्यमा पनि त्यही लागू हुन्छ। हामीले आफूलाई लेखेनौं भने साहित्यको वृत्त अलि ढोंगी पो हुन्छ कि?
निजत्वको चर्चा नेपाली समाज र साहित्यमा नभएको त होइन। तर, साहित्यको नाममा हामी बढी नै आफ्ना कुण्ठा र कहरहरू लेखिरहेका त छैनौं भन्ने प्रश्न चाहिँ अलि बढी नै गरिने गर्छ। र, कतिपयले निजत्व लेखनलाई साहित्य होइन कुण्ठा हो भन्ने पनि गर्नुहुन्छ। तर, कहिलेकाहीँ लाग्छ- मात्र कल्पना गरेर अथवा देखेर लेखेको संसारभन्दा आफूले भोगेको संसार लेख्नुमा गलत नै के छ र? आफ्ना कथाहरू लेख्नु मात्र कुण्ठा लेख्नु, वा समाजबाट विल्कुल अलग्गिनु पनि त होइन।
अहिलेका नेपाली लेखकहरूले निजत्वलाई यसरी ‘सेलेब्रेट’ गर्नुभएको छ कि, निजत्व लेखनलाई साहित्यबाट अलग्गै राखेर वा साहित्यनै होइन भन्ने अवस्था भने पक्कै छैन।
निजत्व लेखनलाई नेपाली साहित्य मात्र नभएर विश्व साहित्यमार्फत पनि हेर्यौं भने यसको फराकिलोपन हामीलाई पक्कै महसुस हुन्छ। विश्व चर्चित लेखक हेलेन केलरको पहिलो पुस्तक, ‘द स्टोरी अफ माई लाइफ’ मा उनको आफ्नै कथा थियो। जसमा उनले सेरेबल पल्सीजस्तो रोगसँग कसरी जुधेर लेखक बनिन् भनेर आफ्नै निजी कथा लेखेकी थिइन्। जसले कालन्तरमा उनलाई साहित्यकार मात्र बनाएन, विश्व साहित्य समाजमा अर्को नयाँ विषयवस्तुका साथसाथै साहित्यमा अपाङ्गतालाई बुझ्ने अर्को वैकल्पिक दृष्टिकोण पनि दियो।
त्यसैगरी, सिल्भिया पाथ यस्ती कवि हुन्, जसले कवितामा पनि आफ्नै निजी कथाहरू लेखिन्। त्यसले तत्कालिन पितृसतात्मक समाजलाई अर्को झड्का दियो। यसरी हेर्दा निजत्व लेखन पनि साहित्यको एउटा महत्वपूर्ण कडी हो भन्ने कुरा हामीलाई महसुस हुन्छ।
यसैगरी, भारतीय मूलकी हलिउड फिल्म निर्देशक मीरा नायर भन्छिन्, ‘यदि, हामीले आफ्ना कथाहरू भनेनौं भने अरु कसैले भन्दैनन्।’ सायद, यो भनिरहँदा उनले निजत्व भन्ने शब्द प्रयोग नगरे पनि निजत्वको पक्षमा भने दह्रै उभिएकी छन्। मलाई लाग्छ- हाम्रा आफ्ना भोगाइहरू र दृष्टिकोणहरू अरु कसैले लेखिदिनु भन्दा आफैंले लेख्नु बढी उचित हो कि? र, अर्को कुरा आफ्नो कथा आफूले लेख्दा जति तथ्यपरक हुन्छ अरूले लेखिदिँदा अलि कम हुन्छ।
यसको अर्को पाटो भनेको समाजको मूलधारबाट अलि परको समाजको कथालाई यसले भन्न मद्दत गर्छ। साहित्य यस्तो चिज हो, जसको गुणस्तर लेख्न र पढन इतिहासले निर्धारण गर्छ। तर, समाजको त्यस्तो तप्का जसको लागि लेखन र पढन संस्कृति अझै नयाँ नै छ। त्यसको लागि निजत्व लेखन यस्तो अवसर हो, जसले गुणस्तरीयताले भन्दा पनि कथाको नवीनता र समावेशीताको हिसाबले अर्को अवसर खुलाउँछ।
निजत्वको कुरा गरिरहँदा मलाई किन-किन महिलाको निजत्वको बारेमा पनि चर्चा गर्न मन लाग्यो। हामी हुर्केको समाज यस्तो थियो कि एउटा महिलाले आफ्नो एकदमै निजी कुरा लेख्नु बोल्नुलाई अचम्मको रुपमा लिइन्थ्यो। खैर, अहिले परिस्थिति अलि भिन्न भइसकेको छ। तथापि, हामी एकदमै निजी कुरा लेख्न अहिले पनि डराउँछौं।
सर्वनाम ‘ऊ’ प्रयोग गरेर त लेखौंला। तर, ‘म’ प्रयोग गरेर लेख्न अझै डगमगाउँछौं। पुरुषलाई प्रेम सम्बन्धको बारेमा लेख्न जति सजिलो देखिन्छ, महिलाई त्यति गाह्रो। अझै पनि हाम्रा निजी भोगाइहरू, आमा, छोरी, प्रेमिका, श्रीमती हुनुको अनुभूति साहित्यमा अलि कम नै पाउँछौं। पुरुषले बनाएको प्रेमिका पात्र र एउटा महिला आफैंले अनुभूत गरेको प्रेम शब्दमा उर्तानु तथ्यको हिसाबले अलि फरक हुन्छ। त्यसैले, यदाकदा लाग्छ- ‘म’ भएर लेख्न जति सजिलो देखिन्छ त्यति सजिलो पनि छैन। र, निजत्व लेखन कुण्ठा लेखन मात्र पनि होइन।
हुन त नेपाली साहित्यमा अटोबायोग्राफीको ट्रेण्ड एकदमै बलियो छ। नाम चलेका प्राय: सबैको अटोबायोग्राफीको आयो। कतिको आयो, कतिको आउने क्रममा छ। अटोबायोग्राफी पनि निजत्व लेखनको एउटा अर्को वृत्त हो। तर, अहिले प्रकाशित भएका निजत्वका कथाहरू यस्ता कथा हुन्, जसको सम्बन्ध मार्केटसँग छ। निजत्वको कुरा गर्दा हामीले महिला, दलित, आदिवासी वा आम निजत्वको कथाहरू बिर्सियौं। र, उनीहरूको निजत्व लेखनलाई साहित्य समाजले पनि कुण्ठा मात्र मानिराख्यो।
के अब थिङ्स फल अपार्ट भने झैं आम निजत्वलाई पनि सेलेब्रेट गर्ने बेला भएन र?
निजत्व लेखन आफैंमा एउटा वैकल्पिक शिल्प हो, जसले साहित्यका अरु विधा झैं बिम्ब पात्र कथावस्तुको नाममा आफूलाई बाँध्दैन। अथवा यसले साहित्यलाई लेखकको व्यक्तिगत अनुभवभन्दा परको तत्व हो भन्ने धृष्टता गर्दैन। यसमा हामी अरु हुनु पर्दैन, आफू हुने स्वतन्त्रता छ।
त्यसैले, त यसको अस्तित्वलाई मूलधारको साहित्य समाजले साहित्य नै होइन भन्ला। तर, यसको उपस्थितिलाई नकार्न सक्दैन। र, अन्त्यमा निजत्वलाई सेलेब्रेट गरेर लेख्ने केही लेखक र कविहरूप्रति म साह्रै कृतज्ञ छु। यस लेखको अन्त्य पनि प्रशन्न घिमिरेको यो कविताबाट गर्न चाहन्छु।
कति भत्किएको छु, भो नसोध
हरेक वर्ष
घर भत्काउँछ सरकार
बाटो फराक बनाउँछ सरकार
म उही सरकारको सहर हुँ, सम्झ।