चार महिनासम्म तलब नआएपछि पैदलै डेरातिर फर्किएका बेला
तिम्रो गाडीले छ्यापेको हिलोले मेरो फाट्नै लागेको कपडा भिज्यो
मैले तिम्रो भर्खरै शोरूमबाट निकालेको गाडी चिनें, तिमीले मलाई देख्ने कुरै भएन
किनकि, तिमी मालिक हौ
पाँच तारे होटलमा तिम्रा सन्तानको बिहे भोज चलिरहँदा
म मेरा सन्तानको लागि त्यही टोलमा सस्तो तरकारीको जोहोमा थिएँ
महँगा रक्सीको स्वादमा तिमी मात्तिइरहँदा
म मेरा सन्तानलाई पानी राखेको दूध खुवाउँदै थिएँ
भिआइपी पाहुनासँग रक्सीको नसामा आएको उन्मत्त हाँसो र मेरो आँसु सँगसँगै भयो होला
दूधको दोब्बर पानी हालेको दूध खुवाउने अभिभावकको पीडा तिमीलाई के थाहा ?
किनकि तिमी मालिक हौ
तिमी यही वर्ष दुइटा घरमा बढोत्तरी भयौ
फ्ल्याटमा बस्दै गरेको म कोठामा घटुवा भएँ
तिमीले पो महँगो छ भनेर ग्राहकसँग मूल्य लियौ
मेरो तलब त वर्षौदेखि उही उमेरको छ
पाउने पारिश्रमिक पनि समयमा आउँदैन
किस्ता, किस्ता आउँछ
भाडा तिर्न नसक्दा घरबेटीले लगाउने तिखो वाण तिमीलाई थाहा हुने कुरै भएन
किनकि तिमी मालिक हौ
आधा दर्जन स्कुलमा तिम्रो लगानी हुनुपर्छ
तर मैले मेरा सन्तानलाई सरकारी स्कुलसमेत पढाउन नसकी मामाघरको जिम्मा लगाइदिएँ
आफ्ना सन्तानलाई शिक्षादीक्षा दिन नसक्दाको पीडा गरिबलाई मात्र थाहा हुन्छ
किनकि तिमी मालिक हौ
श्रीमती र सन्तानलाई जसोतसो घरमा पठाएँ
तर म चाडबाडमा पनि घर जान सकिनँ
यसपटक मात्र होइन, धेरै वर्ष भयो घर नगएको
अब त बाटाले पनि भुल्ने बेला भइसक्यो
आफ्नै देशमा परदेशिनु परेको छ
पर्वका बेला पनि एक्लै कोठामा बसेको नमीठो अनुभव तिमीलाई कसरी थाहा हुन्छ?
किनकि तिमी मालिक हौ
न त गाउँ फर्किन सकें, न त सहरमै रमाउन सकेको छु,
भोलिको कुनै योजना छैन
किनकि, वर्तमान भए पो भविष्य हुन्छ !
घर न घाट हुनुको विवशता तिमीलाई के थाहा?
किनकि तिमी मालिक हौ
मसँग तिम्रो जस्तो ठूलो सपना छैन
तिमीलाई जस्तो व्यापारको साम्राज्य खडा गर्नु पनि छैन
मालिक, मैले तिमीसँग धेरै मागेको पनि होइन
मेरो परिश्रमको मूल्यमात्रै खोजेको
मेरा छोराछोरीलाई सरकारी स्कुलमा पढाउन पुग्ने
परेका बेलामा सरकारी अस्पताल लैजान सक्ने खर्च मागेको हो
तिमीलाई जस्तो महँगो गाडी मलाई किमार्थ चाहिँदैन
मलाई टेम्पो चढ्ने र कोठा भाडा तिर्न पुग्ने मेरो श्रमको मूल्य मागेको हो
मेरो यत्ति माग तिमीले चाहेमा असम्भव छैन
किनकि तिमी मालिक हौ