आइसोलेसन वार्डमा राउण्ड लिन आफ्नो सिनियरसँग एक जना डाक्टर दाइ आउनुभएको छ। नीलो रंगको पिपिई लगाउनु भएको दाइ मलाई पनि वार्डमै देखेर नजिक आएर सोध्नुहुन्छ, ‘भाइ, तिमी पनि यहाँ? कहिले र कसरी?’
दाइको प्रश्नमा उत्तर दिन मेरा ओठले आफ्नो गति समात्छन्। दाइलाई म किन, कसरी र कहिले यो वार्डमा आइपुगें भनेर छोटकरीमा उत्तर दिन्छु।
दाइ मलाई केही समस्या छ कि छैन सोध्नुहुन्छ र ‘टेक केयर’ भनेर अरु बिरामीको राउण्डका लागि अघि बढ्नुहुन्छ। मैले छोटकरी भनेको उत्तरको कथा लामो छ। त्यो मलाई थाहा छ। वार्डको बेडमा पल्टिन्छु र आँखा चिम्लिन्छु। मैले भोगेका दृश्यहरू मानसपटलमा सिनेमाको रिल जसरी घुम्न थाल्छन्।
बिहानीको मिर्मिरेसँगै चलेको चिसो हावाको बहावले बिउँझेका ती मेरा आँखा आफ्नो कोठाको झ्याल खोल्नेवित्तिकै प्रकृतिसँग मिल्न पुगे। चराहरूको चिरबिर.. चिरबिर आवाज गुञ्जियो। सधैंजसो मीठो र गुञ्जयमान सुनिने ती आवाजहरू आज छुट्टै किसिमको थियो र मेरो कोमल चङ्गारुपी मनलाई त्यतिधेरै खुसी पार्न सकेको थिएन।
छेउको टेबलमा रहेको टिकटिके घडीले त बिहानको ६ बजाइसकेको रहेछ। हिजो रातिको ड्युटी परेकोले करिब २ बजेतिर निदरीको खोजीमा हिँडेका ती मेरा आँखा रातिको ३ बज्दासम्म पनि अँध्यारो कोठामा ट्वाल्ल परेर हेरिरहेका छन्। शरीर गह्रौं भएको छ। मुटुको ढुकढुकी देब्रे कानले स्पष्टसँग सुनिरहेको छ। मनमा नानाथरीका कुरा खेलिरहेका छन्, सधैंजसो खुसी मन आज एक्लो महसुस गरेको छ। कहिले दिनभर आफूले हेरेका बिरामी कोरोना पोजेटिभ आएको कुराले त कहिले बिरामी कुरुवाको चर्को आवाजले मेरो निदरी हराएको छ। म मेरो निदरी हराएको सूचना टाँस्न जाँदै गर्दा निदरीले त्यो मीठो कथा लेख्न सुरु गरिसकेको हुन्छ।
धेरैपछि मेरो बाबालाई सपनामा देख्छु। आजकल बाबा सपनीमा पनि त्यति देखिनुहुन्न। सायद मेरो सपनाले मलाई नै सुत्न नदिएर होला। आहा! म कति भाग्यमानी, सपनीमा मेरो बाबा मलाई हेर्दै मुस्कुराउँदै हुनुहुन्थ्यो अनि म भने छाती चौडा गरेर हो ‘म’ मेरो बाबाको कान्छो छोरा भनिरहन्छु। बाबा नजिक आउनुहुन्छ र मेरो शिरमा हात राखेर केही बोल्नुहुन्न। म भने शिरको हातलाई आशीर्वाद सम्झन्छु। त्यतिकैमा मधुरो आवाजमा केही बोलेजस्तो गर्नुहुन्छ, ‘आमाको ख्याल राख्नु है छोरा।’ म भने स्तब्ध एक मूर्ति भई उभिरहन्छु। मेरा खुसीका आँशु बाँध फुटाएर झर्दै जान्छन्। बाबाको सम्झनामा वर्षौंदेखि नरोएर अग्लो बनाएको आँशुका डिल एकाएक भत्किन पुग्छन्। धेरै महसुस त गर्न सकिनँ तर मेरा आँशुले केही संकेत गरिरहेका हुन्छन्।
एक्कासि बङ्गालको खाडीबाट आएका हावाका झोक्काहरू मेरो नयनमा ठोक्किन पुग्छन् र म झल्यास्स बिउँझिन पुग्छु।
मलाई मेरा ओठले मधुर मुस्कान गर्न खोजेजस्तो आभाष हुन्छ। मनदेखि नै मुस्कुराउने प्रयास गर्छु। त्यतिकैमा मेरा आँखा सिरानीमाथिको भित्तामा पुग्छन्। कालो कपाल, घुमरीएका जुँगा, आर्मी कम्ब्याटको छिरबिरे सट भित्तामा अड्किएको हुन्छ। त्यसमाथि गोलो फुलमाला चढाइएको हुन्छ। सपनीमा मुस्कुराइरहेको बाबाको अनुहार त केवल तस्बिरमा सीमित भएको पनि करिब दस वर्ष पूरा भइसकेको रहेछ। मेरा आँखा चिम्से हुन्छन्। छेउमा टिलपिल आँसु अडिन्छ। हर्षित् मन केहीबेरमै निराशामा परिणत हुन्छ। याद मात्र मनको तरेलीमा सम्झना भई गडिरहेका छन्।
मेरा आँखाले पर्याप्त आराम नपाएर स्पष्ट देख्न सकिरहेका छैनन्। आँखा खोल्न बाध्य भएको छु र चिम्से देखिएका छन्, केहि बिझे झैं गरी पोलिरहेका छन्। यो देख्दा एकमनले भन्छ- सुन्न ती नपाइने कस्तो जिन्दगी। जे जस्तो भए पनि आँखाले आफ्नो काम, कर्तव्य उच्च भन्दै अस्पतालको बाटो नै खोज्छन्। हातमुख धोई, आकाशे रङ्गका कपडा पहिरनतिर ध्यान केन्द्रित हुन्छ। भित्ताको किलामा झुण्डाएको मास्क लगाउँछु। भाइजरको दुइवटा डण्डी समाई दुइटा कानमा अड्काएपछि बल्ल आफू पूर्णरुपले तयार भएको आभाष हुन्छ।
केही छिनपछि बिहानको नास्ता गर्नतर्फ अस्पतालको क्यान्टिनतिर लम्किनछु। म सुरुमा गएर चिया अर्डर गरिहाल्छु, केही समयमा स्टाफ दिदीले कालो चिया दिनुहुन्छ। चिया एक चुस्की सुरुप्प लगाउँछु, चियाको स्वाद भने अरु दिनको भन्दा फिक्का फिक्का, चियापत्तीको रङ नपुगेको झैं हुन्छ। अगाडि रहेको चिनीको डिब्बाबाट दुई चम्चा चिनी हाल्दा पनि मलाई चिया मीठो लागेन। त्यसपछि म अस्पतालको इमरजेन्सीतिर जान्छु। बाटोमा जाँदै गर्दा दुई दिनअघि ज्वरो क्लिनिकअघिको मैदानमा मेरी आमाले र बहिनीले नाक र मुखबाट स्वाब दिएको झल्यास्स याद आउँछ।
हिजो बेलुकी आमाले ‘छोरा मलाई त थुक निल्न नि गाह्रो भएको छ। शरीर दुखेको दुख्यै छ। पातलो दिसा ४, ५ पटक भइसक्यो, पेट दुखेको छ’ भन्नुभएको कुराले मेरो मानसपटलमा एकाएक द्वन्द्व सिर्जना गर्न थाल्छन्। एक्कासि मुटुको चाल बढ्न थाल्छ र मुटुको चालसँगै पाइला पनि अगाडि बढ्छन्।
इमरजेन्सी पुग्दा मेरो मुटुको धड्कन बढेको हुन्छ। त्यहाँको स्टाफ दाइ कम्प्युटर अगाडि बसेर न्युज पढिरहेको हुन्छन्। मेरा आँखा सोझै मुख्य समाचारतिर ठोकिन्छन्। अब कोरोनाको उपचार आफैंले गर्ने, सरकराले नबेहोर्ने भन्ने निर्णय भयो रे भन्दै उताबाट आवासीय चिकित्सक दाइ भित्र आउनुहुन्छ। मेरो मन चिसो हुन्छ। यो निर्णय त बिलासी जीवनशैली उपभोग गर्ने पुँजीपतिहरूको लागि मात्र होला है, अब त सरकारले कसरी महामारी नियन्त्रण गर्ला भन्ने छुट्टै कौतुहलता मनमा जाग्छ।
केही समयपछि मेरो दाहिने खल्तीमा रहेको मोबाइलमा फोनको घण्टी बज्छ। डाक्टर साब हजुरको आमाको रिर्पोट पोजेटिभ आयो। म केही नसुने झैं गरी हेलो, हेलो भन्छु, पुन: उताबाट ल्याबको सरले आमाको पोजेटिभ अनि बहिनीको नेगेटिभ भनेर फोन काट्नुहुन्छ। मलाई मेरो आमाको साह्रै याद आउँछ, बुढेसकालमा चाउरी परेका ती छालाको याद आउँछ, पहिलेदेखि दमको रोगले च्यापेको अनि एक्सरेको विम्ब याद आउँछ, फोक्सोको याद आउँछ। म आफैं प्रश्नबाचक हुन्छु। के मेरी आमाले कोरोनालाई जित्न सक्नुहुन्छ त?
गाह्रो भयो भने के गर्ने? म मेरो बाबाले आमाको ख्याल गर्नु है भनेको बाचा पूरा गर्न सकुँला त? गाह्रो भइहाल्यो भने अस्पतालमा आइसियू पाउला? बेड पाए पनि उपचार खर्च मैले धान्न सक्छु र? जस्ता प्रश्नहरू आँखाअघि आउँछन्। लामो श्वास लिँदै म आफैंले आफैंलाई आत्मविश्वास दिलाउने प्रयास गर्छु। आफू कोरोना अस्पतालमा काम गर्ने हुनाले परिवारबाट टाढा भई चार महिनादेखि छुट्टै डेरा लिएर सबैको उपचार गरिरहेको सम्झिन्छु। त्यसपछि म मेरी आमालाई हेर्न डेरातिर दौडिन्छु।
म दौडेको देखेर मेरा वरपर रहेका पशुपंक्षी अत्तालिएका छन्। रुखको हावा चकमन्न सुस्ताएको छ। घाम क्रमश: सेलाएको छ। रक्तिम क्षितिजमा डुबेको छ। स्तब्ध चुपचाप सबै चराचुरी मानौं मलाई हेरेर एकोहोरो टोलाएको छ र खलखली नुहाए झैं म पसिनाले म भिजेको छु। केही कतै विचार नगरेर निरन्तर दौडिरहेको छु। वारिपारि दुबैतिरका निर्जन पहाड म सँग अत्तालिएका छन्। स्वाँ… स्वाँ.. श्वास बढेर निसास्सिउँला झैं मुखबाट निस्केको पहिलो शब्द हुन्छ- आमा।
आमा मैले अत्यासमा अनायसै चिच्याएको शब्द सायद सुन्ने सबैलाई अनौठो लाग्यो होला। यसरी निसास्सिएको सायद म जीवनमा पहिलोपटक होला। मेरो स्वरमा स्वर मिलाएर वरपरका डाँडाकाडाँ चित्कारी भई आफ्नै गति र मतिले आमाको नजिक पुग्छु। त्यो हडबडाएको आवाजले आमा निकै डराउनु भएजस्तो लाग्यो।
चार महिनापछि डेरामा आएको छोरा देख्दा हर्ष र उल्लासले भरिएकी मेरी आमालाई भन्छु - आमा तपाईंलाई कोरोना पोजेटिभ भयो, हामीदेखि टाढा बस्नुस्। आमा एकहोरो मलाई हेर्छिन् र गहभरि आँशु बनाउँछिन। आमाको आँखाबाट दुई थोपा खसेका आँशुले मलाई निकै कमजोर र दु:खी बनायो। मन थियो - आमासँग अङ्कमाल गरी रुन। त्यो रुवाई पीडाको प्रतिशोधको र जीवन प्रतिरोदनको भन्दा पनि मायाको ममत्वबोधको अर्थात् मर्म सन्तोषको रुवाई थियो।
त्यसपछि आमालाई एउटा छुट्टै कोठामा राख्ने सोच आउँछ। कहिले बहिनीसँग छुट्टै नसुतेको आमाको निदरी त पक्कै रुष्ट नै थियो। आमा निकै आत्तिएकी थिइन्। मनमा छुट्टै किसिमको डरले राज गरेको थियो। सबै व्यवस्था गरेर म पुन: अस्पतालको बाटोतिर अगाडि बढ्छु। आमालाई लक्षण देखिएकोले अक्सिजन दिएर राखेको थियो। रगतमा अक्सिजनको मात्रा ८५ प्रतिशत मात्र थियो।
एक्कासि राति १२ बजे फोनको घण्टी बज्छ। ‘दाइ हिजोदेखि पेटमा अन्न परेको छैन, जे खायो त्यही बाहिर आउँछ, अक्सिजन लगाउँदा पनि टाउको दुखेको छ रे। स्वास फेर्ने गाह्रो भयो रे भनी आत्तिएर बहिनीले भन्दा मलाई निद्रा पर्नु त परकै कुरा थियो।
यो सुन्दा एक्कासि मेरो मुटुमा अर्कै किसिमको डर उत्पन्न हुन्छ। मुटुको धड्कन बढेको जस्तो, मन आत्तिएको जस्तो कताकता मेरो मुटुमा काँडा बिझे जस्तै भयो। डर पनि अचम्म प्रकारको अवस्था हो। वास्तवमा कैयो ठूला-ठूला दुःखका यात्रा पार गरेको म, आमाको यस्तो खबरले यति मन डराएको छ। एक अनौठो प्रकारको रोदन, जो निकै पीडादायक तरिकाले दुखेको छ। एकछिन गलासमेत रोकियो। आफूलाई सम्हाल्दै भनें- केही हुँदैन। हौसला राख, भोलि अस्पताल कुदाउँला।
अर्को दिन म बिहानै अस्पताल जान्छु र मेरो गुरुसँग सबै कुरा सुनाउँछु। गुरुले भर्ना नै गर्नु राम्रो हुन्छ किनकि बिरामीको राम्रो हेरचाह गर्नको लागि कोही साथ गए राम्रो भन्नुहुन्छ।
अस्पतालका शैया लगभग बिरामीले भरिसकेका थिए। आइसियू चाहिने बिरामी नपाएर जीवन र मरणको दोसाँधमा थिए।
अस्पताल धाउँदा आदी पाइला चिसो पानीमा र आदी पाइला तातो बालुवामा टेकेर दौडँदा दौडँदै थ्याच्य बस्न मन लागेको छ, तर आदी मनससँगै बस्न डर लागेको छ। आधी घाँटी सुकेको छ। आधी आँखा रसाएको छ। जसोतसो एउटा अक्सिजन भएको बेडको व्यवस्था गुरुले गरिदिनु हुन्छ। केहीछिनमा एम्बुलेन्सको व्यवस्था गरी आमालाई अस्पताल ल्याउँछु। आमाको हेरचाहको लागि एक जना बाहिरबाट जानुपर्ने हुन्छ भन्दा मेरी बहिनी म रिर्पोट नेगेटिभ आए पनि म जान्छु आमाको हेरचाह गर्ने भनेर कोभिड वार्ड जाने कुरा गर्छे। आमा, मेरो र सबै प्राणीको पहिलो र सर्वप्रिय बोली हो। म आउने दिनहरूमा लाखौं बोली मेरी आमासँग बोल्न चाहान्छु भन्दै बहिनी कोभिड वार्डतिर लाग्छे।
जसोतसो आमा र बहिनी कोभिड वार्डमा भर्ना हुन्छन्। पिपिई लगाएर सधैं बिरामी उपचार गर्ने सर, रेजिडेन्ट दाइ, दिदी, नर्सिङ दिदीसँग धेरैपटक आफू पनि कोभिड वार्डमा गइसकेको थिएँ। कैयौंपटक बिरामीलाई उपचार गर्ने क्रममा बिरामीको रिपोर्ट पोजेटिभ आउँथ्यो। करिब तीन दिनपछि एक्कासि शरीर दुखेजस्तो, टाउको दुख्ने, सुक्खा खोकी लाग्ने,पेट दुख्ने लक्षण देखिएर सिकिस्त बनाउला झैं भयो। नजिकै रहेको फिवर किल्निकमा गई नाक र मुखबाट स्वाब दिन्छु। त्यसको एक दिनपछि रिपोर्ट पोजेटिभ आउँछ। पोजेटिभ आएको पहिलो दिन म कोभिड वार्डमा छिर्छु। यसपालि म डाक्टर नभई आफैं बिरामी भएर कोभिड वार्डमा हुन्छु। मेरी आमा लगायत सबै जात, धर्म, भाषा, हिमाल, पहाड्, तराईजस्ता विभिन्न ठाउँका बिरामीले कोभिड वार्ड भरिभराउ थियो। सबैको रोग एउटै तर कथा फरक। कोही जीवन र मरणको दोसाँधमा भने कोही रोगलाई जित्ने आत्मविश्वास बढाउने सिलसिलामा।
छेउको बेडमा रहेको एक गरीब किसान दाइको कथा फरक थियो। कुराकै सिलसिलामा सोध्छु- दाइ कस्तो छ तपाईंलाई? उनी आफ्नोभन्दा पनि आफ्नो श्रीमती, छ वर्षको छोरा आइसियूमा रहेको, दस वर्षको छोरीलाई घरमा ज्वोरोले च्यापेको कुरा बताउँछन्।
त्यसपछि बेड नं. ४१ मा मेरी आमा हाम्रो संवाद सुनेर एकोहोरो टोलाउँछिन्। छेउमा रहेको अक्सिजन सिलिण्डर अनि नाकमा आएको लामो प्लास्टिक तार नै उन्को सहारा बनेको कुरा महसुस गर्छु।
यो महामारीमा कति आमाको काख लुटियो, कति दिदीबहिनीहरूको सिन्दुर पुछियो, कति दाजुभाइको साथ छुट्यो सम्बन्ध टुट्यो, कति बच्चाहरू अनाथ भए, भर्खर जन्मेका बच्चाहरू संसार देख्न नपाउँदै अलविदा भएका छन्। ज्यान जोगाउनका लागि भेन्टिलेटरमा पुगेका बिरामी कहिले नफर्किने गरी बिदा भएका छन्। कैयौं परिवारको मन फाट्दै छ, आमाहरू बालबच्चा खोज्दैछन्। बालबच्चाहरू आमाबाबु खोज्दैछन्। त्यो पनि असफल प्रयासमा सीमित छ। गरिबहरू लक्ष्यविहीन एकल यात्री भएका छन्, जिन्दगीको गोरेटो अब कहाँ पुग्छ उनीहरूलाई थाहै छैन।
दीर्घजिवी बन्न पाइयोस् भनेर मठ मन्दिरभित्र गएका कैयौं मानिसहरूमा संक्रमण भई ज्यान गुमाएका छन्। अब आखिर कोरोनाको अगाडि कहाँ थिए त भगवान? किन पुछिदिए सिउँदो? यदि भगवानमाथि नै विश्वास छैन भने को माथि विश्वास गर्ने? कसलाई मन्दिर-मस्जिद गएर पूजा गर्ने?
यति हुँदाहुँदै पनि नेपाली कोरोना हाउगुजी हो भन्दै भिडभाडमा जान थालेका छन्। सामान्य लिन थालेका छन्।