हरेक बिहान
प्रचण्ड गर्मीको राप छल्दै
मैले आफ्नो कार्यस्थल जाँदा
देखिन्छ बाटोमा त्यही चिर परिचित मुहार।
कहिले कोट्याउदै हुन्छ बलौटे माटो
मानौँ त्यही कतै पुरिएका
आफ्ना सपनाहरु खोज्दै छ
कहिले पुर्दै हुन्छ खाडल
लाग्छ आफ्ना दुखका पहाडहरु भत्काइ
सदाका निमित्त त्यही गाड्दै छ।
प्रत्येक पटकको देखाइमा
आत्मिय मुस्कान अनि केवल नजर सम्वाद
तैपनि लाग्छ उ र म बीच
कति बिघ्न निकटता छ, प्रेम छ!
हो, ती हाम्रै पूर्वेली दाइ हुन सक्छन्
जसले ५० डिग्रीको घाम मुनि
श्रमको खेती गर्दै गर्दा
कोसौँ टाढा उनको घर मा चुल्हो बल्छ
ती हाम्रै पश्चिमेली काका हुन सक्छन्
जसले हत्केलामा ज्यान राखेर
पराइ भूमिमा पौरख गर्दा
घरमा छोराले उच्च शिक्षाको सपना देख्छ
त्यो हाम्रै मगर कान्छा भाइ हुन सक्छ
जसले मरुभूमिको जर्जरतालाई
आफ्नो पसिनाले सिंचाइ गर्दा
यहाँ फुल्ने हरेक फूलमा आफ्नी आमाको मुस्कान देख्छ
ऊ मेरो आफ्नै..., आत्मिय मान्छे
जो अनविज्ञ छ शून्य लागतको लडाइ बारे
जान्दैन संबिधान मस्यौदा माथिको खिचातानी उसले
बुझ्दैन उसले एकोहोरो आलाप संघीयताको
थाहा छ त केवल उसलाई आफ्नो लक्ष्य, सपना
आफ्नाहरुको सहज जीवनयापन
थाहा छैन मलाई,
ऊ पहाडे हो या मधेशी
म जान्दिनँ,
ऊ अल्पसंख्यक या बहुसंख्यक मध्येको हो
मलाई जान्नु छैन,
उसले कुन दल माथि आस्था राख्छ
यति मात्र पर्याप्त छ,
ऊ मेरो आफ्नै हो
आत्मिय हो, नातेदार हो
हो ऊ मेरो आफ्नै आत्मिय नातेदार हो
हामी बीच एउटा नाता छ
श्रमसँग सपना साट्ने नाता।