कविता
शिला होइन, ढुंगालाई
फूल चढाएँ
आफ्नै मनका पीडालाई
कोटी कोटी प्रणाम गराएँ
थाहा छ
पत्थरले मलाई सुन्दैन
तर पनि, धुप, माला
अविरहरू जुराएँ
मैले आरती गरें
चट्टान चुपचाप थियो
उत्तर नपाउने निश्चित छ
प्रश्न गर्दै गएँ
आराधना चलि नै रह्यो
तर, बाध्यता
ऊ सुन्न सक्दैनथ्यो
मलाई भन्नु थियो
अक्सरले मूर्ति पुज्छन्
मैले ढुंगा ढोगें
धड्कनले घण्टी बजाएँ
आँसुलाई जल बनाएँ
आशीर्वादको हात उठेन
तर, म खुसी भएँ
हलुका भएँ
गुम्सिएका वेदनालाई
तपतपी बगाएँ
शिला होइन, ढुंगालाई
फूल चढाएँ
आफ्नै मनका पीडालाई
कोटी कोटी प्रणाम गराएँ