कविता
सानामा उसलाई लुतो आयो
रगत आउन्जेल कनाइरह्यो-
कैले खोयाले, कैले चोयाले,
एकदिन मैले भनें-
‘लुतो धेरै नकनाऊ
लुतोलाई आराम गर्न देऊ
आफैं घर छोडेर जान्छ’
उस्ले जिद्दी गर्यो, मानेन
लुतोले पनि जिद्दी गर्यो- सजिलै छोड्न मानेन
लामो समय पछिमात्र लुतो गयो
तर,
कहिले गएन- ‘लुते’ भन्ने उस्को नाम
र चिलाए पनि नचिलाए पनि कनाइरहने उस्को बानी
उस्को विशेष क्षमता नै यही हो।
खै,
लुतो, कन्याइ र राजनीतिमा के सम्बन्ध छ
अहिले,
मेरो साथी ठूलो नेता भएको छ
सायद,
लुतो कन्याउन जान्नेलाई
राजनीति पनि फाप्दो हो!!!
अमुक भित्तो भएर मैले निहालेको छु-
उस्ले मातातीर्थे औंसीमा आमा कुटेको
तिहारको भैलीमा बैनी लुटेको
नगरबधु सुम्सुमाउँदै श्रीमती चुटेको
बाउलाई निलडाम बस्नेगरी पिटेको
भट्टीमा लठ्ठिएर लडेको
ब्यभिचारमा रत्तिएर रमेको
जुवाको खालमा जीवन र जुवा हारेको
सबै सबै...
हुने सम्मको नराम्रो जति सबै,
तर,
सडकमा उच्च स्वरले नैतिकताको भाषण चुटिरह्यो
अविचलित ढोङ मन्चन गरिरह्यो।
अचेल,
लुतेको गलाभरि माला
आसन र भाषणमा सधैं अग्रपंक्ति
खै,
अपराध, अनैतिकता र राजनीतिमा के सम्बन्ध छ
लुते अहिले ठूलो नेता भएको छ
साथी कम र नेता बढी भएको छ।
लुते अहिले ठूलो नेता भएको छ ।।