कलेज सक्काएर घर आउँदै गर्दा उपभोक्ता नामको केटोलाई बेलुका मासु खान मन लागेर आफ्नो घरको आपूर्ति मन्त्रालयलाई फोन गरी सोध्छ,
‘दाजु, अस्ति भर्खर तपाईंले चिकन ल्याउनु भाको हैन? अझै बाँकी छ?’
आपूर्ति मन्त्रालयले खुरूरू कुदेर भान्सामा हेर्दै जवाफ दिन्छ, ‘सकिसक्या रैछ। अर्थ मन्त्रालयसँग समन्वय गरेर पैसा मागे किनेर ल्याइदिन्छु।’
उपभोक्ताले तुरून्तै अर्थ मन्त्रालयमा फोन गरेर सोध्छ, ‘बुवा, आज बेलुकी मासु खानुपर्यो, दाइलाई पैसा दिनुस् न, लेर आउनु हुन्छ रे।’
अर्थ मन्त्रालयबाट जवाफ आउँछ,‘आन्तरिक स्रोत त छ, तर मेरो एकल निर्णयले हुँदैन। गृह मन्त्रालयसँग समन्वय गर्नुपर्छ।’
उपभोक्ताले हतार-हतार गृह मन्त्रालयमा फोन गर्छ, ‘आमा, आज बेलुकी मासु खानुपर्ने, तपाईंले हुन्छ भने बुवाले पैसा दिने अनि दाइले किनेर ल्याउने रे।’
गृह मन्त्रालयबाट उत्तर आउँछ, ‘तिथिले आज एकादशी छुटिसकेको छैन। खास यससम्बन्धी स्पष्ट कानुन थाहा नभएकाले महान्यायाधीवक्तासँग समन्वय गरेरमात्रै सकारात्मक प्रतिक्रिया जनाउन सकिन्छ।’
उपभोक्ताले महान्यायाधीवक्तालाई फोन गर्छ, ‘हजुरामा, आज तिथिले एकादशी छोडिसकेको छैन अरे, तर अब हिजै मानिसकेको हो आखिर, आज मासु खाँदा हुँदैन?’
महान्यायाधीवक्ताबाट राय आउँछ,‘यस्तो किसिमको नजिर अहिलेसम्म नभएकोले थप व्याख्याको लागि कानुन मन्त्रालयसँग समन्वय गर्नु आवश्यक छ।’
उपभोक्ताले कानुन मन्त्रालयमा सम्पर्क गर्छ,‘हजुरबुवा, एकादशीले आज छोएकोमात्रै छ अरे, आज मासु खाँदा हुन्छ?’
कानुन मन्त्रालयबाट उत्तर आउँछ, ‘ब्रतसम्बन्धी व्यवस्था गर्न बनेको ऐन हेर्दा अस्पष्ट रहेछ, संसदबाट अनुमोदन गरेर खान सकिन्छ।’
उपभोक्ताले फेरि संसदको सचिवालयमा फोन गर्छ, ‘पुरेत बा, लौ न आज मासु खान मिल्छ मिल्दैन? कसैलाई थाहा भएन, तपाईंले नै निकास दिनुपर्यो।’
संसदले अधिवेशन डाक्छ र घनिभूत छलफल र वादविवाद पश्चात्, ‘लाग्दो तिथि छोड्दो व्रत भएको हुँदा आज मासु खान मिल्छ,’ भनेर अनुमोदन गरिदिन्छ।
बल्ल मासु खान पाइने भइयो भनेर मख्ख परेको उपभोक्ताले पुनः अर्थ मन्त्रालयलाई समन्वय गरेर सोध्छ,‘ल बुवा, पुरेतहरूले मिल्छ भन्नुभयो, अब त दाइलाई पैसा दिनुस्।’
अर्थ मन्त्रालयबाट जवाफ आउँछ,‘अघिसम्म स्रोत थियो, अहिले त खर्च भैसक्यो। यस प्रयोजनको लागि स्रोत जुटाउन परराष्ट्र मन्त्रालयमार्फत् विकास साझेदारहरूसँग समन्वय गर्नुपर्छ।’
आफ्नो घरको आर्थिक विपन्नतालाई धिक्कार्दै उपभोक्ताले परराष्ट्र मन्त्रालयलाई सम्पर्क गर्छ, ‘भाउजु, तपाईंको महिला समूह छ नि? त्याँ कसैले एक-दुई दिनको लागि थोरै उधारो दिन्छन् कि सोधिदिनुस् न? आज त कस्तो मासु खान मन लाग्यो, तर बा को पैसै सकियो रे।’
परराष्ट्र मन्त्रालयले आफ्ना विभिन्न नियोगहरूमा सम्पर्क गरी स्रोत छ कि छैन भनेर बुझी जवाफ फर्काउँछ,‘एउटा विकास साझेदार छ, तर ब्राह्मण परिवार भएकोले उनीहरूले दिएको सहयोगले चिकन नकिनी मटनमात्र किन्न मिल्ने अरे। त्यसबाहेक मटन किने-नकिनेको हेर्न उनीहरूको टोली हाम्रोमा अनुगमन गर्न आउने र कालान्तरमा हामीहरू मटनमा कसरी आत्मनिर्भर बन्नसक्छौं भनेर ५-१० वर्ष हाम्रै घरमा बसेर बाख्रापालनसम्बन्धी अध्ययन गरिदिन्छन अरे।’
यति सुनेपछि अन्तत: उपभोक्ताले मासु खाने सबै किसिमको आशा त्यागेर घिरौंला पनि कम्ता मीठो हुँदैन! भनेर आफूलाई मनमनै फकाउँदै घरतिर फर्किन्छ।