उहिले घर-घरमा मालिक हुन्थे, दास हुन्थे!
मुखिया हुन्थे, रैती हुन्थे!
आजभोलि मालिकहरू प्रमोसन भएर सिंहदरबार पुगेका छन्!
दासहरू रैती भएका छन्,
र, रैतीहरू जनता भएका छन्!
आजभोलि मालिकहरू
मन्त्री कहलिन्छन्, सांसद कहलिन्छन्!
स्ट्रक्चर उही छ ,
शासन र शोषणको प्रक्रिया फेरिएको छ!
मालिकहरूको प्रभुत्ववाद उस्तै छ
जनजीवन सत्ताको गोडामुनि थिचेर
दास बनाइएको छ!
सबै फेरिएको छ तर सबै उस्तै छ!
तर, आजभोलि
आधुनिक मालिकहरू इतिहास बिर्सिएका छन्!
उनीहरूलाई थाहा छैन
अत्यचारको चरम रेखाले पुकारिरहन्छ विद्रोह!
दासहरूको फेहरिस्तबाट
जन्मन्छन् स्पार्टाकस
जन्मन्छन् ग्लौडिएटर
लड्छन् मालिकहरूको विरुद्ध उन्मुक्तिको युद्ध
र, हुन सक्छ फेरि ‘दास विद्रोह’
मालिकहरू इतिहास बिर्सिएका छन्!!