डा. सा’प!
कि केही पत्ता लागेन ब्लड रिपोर्टमा?
तपाई प्रत्येक दिन आउनुहुन्छ
र सोध्नुहुन्छ टाउकै दुख्नेगरी
घोच्नुहुन्छ- काँडामा पनि
जतन गरेर जोगाएका कोमल नाडीमा
भैँसीलाई घोप्ने ठूलो भ्याक्सिन
तान्नुहुन्छ मरिन्जेल अभावको रगत
र सोध्नुहुन्छ दुख्यो?
कि सबै अन्दाजका भरमा
परीक्षण गर्दै हुनुहुन्छ मेरा शरीरमा
जथाभावी सिरिन्ज रोपेर
डा. सा’प!
मेरो शरीर तपाईको परीक्षण ल्याब होइन,
तपाई कुन वर्गको डक्टर हो डा. सा’ब?
पैसाको
कागतको
नातेदारको
मिहेनतको...
तपाई मलाई औषधी गर्दै हुनुहुन्छ कि
शरीरमा पोइजन घोलेर
गर्दै हुनुहुन्छ परीक्षण?
कदाचित् यी तपाईले भनेका औषधी
मेरा शरीरमा पोइजन भएर
मैले बिर्सेँ भने सास फेर्न?
तपाई अपराधी कहलिनु हुन्छ कि हुन्न सा’ब?
हुन्न, कदापि हुन्न!
तपाई यो देशका पावरको डाक्टर हो
कमिला र बिरामी मार्नु
लाग्ला उस्तै उस्तै
तपाईको अन्दाज मिहेनत
मैले पचाएँ भने तपाईले
गरिरहनु हुनेछ फेरि अरुलाई परीक्षण
पचाइन भने मैले
बिर्सनेछु सास फेर्न।
भन्नुस् डा. सा’ब
के देख्नु भो?
मेरो रगत, पिसाब
अल्ट्रासाउण्ड र सिटी स्क्यानमा?
कोरोना नेगेटिभ\पोजेटिभ?
आज ठ्याक्कै एक बीस भो
मैले सोधिरहेछु यही प्रश्न
क्याबिन नं. ४०३ को इमर्जेन्सी वार्डबाट!